Friday, May 9, 2008

महेश श्रेष्ठको दायित्व

सुरेश परिवर्तन


महेश श्रेष्ठले यसपाली एनआरएनको चुनावमा भाग लिनु भएको सुन्दा मलाई अलिक खुशी पनि लागेको थियो भने अलिक विस्मात। खुशी यस अर्थमा कि लोकतन्त्रको नेतृत्व जापानमा उहाँले नै गर्नु भएको हो। मन्डले राजदूतको समर्थनमा जमजमाएका मन्डलेहरु टेलिफोनबाट धम्काँउदै थिए, चरित्र हत्या गर्दै थिए र भन्दै थिए "महाराज ज्ञानेन्द्रले एक-एकलाई ठीक पार्छ।" जापानमा आरामका साथ बसेका कुनै नेपालीले राष्ट्रिय राजनीतिमा आफ्नो धारणा, अभिव्यक्ती राख्दा र लोकतन्त्रलाई समर्थन गर्दा धेरै मन्डलेहरुका टाउको दुखेको थियो। यस पछाडी दुई कारण थियो-पहिलो मन्डलेहरु आफ्नो राजनैतिक आस्था पराजित भएका देख्न चाहँदैनथे र दोस्रो जापानबाट लोकतन्त्रको लागी समर्थन उम्लिएमा मन्डले राजदूत डा. रमेशानन्द बैध्यको कुर्शी जोगाउन मुश्कील हुन्थ्यो। मन्डले राजदूत बैध्य हटेका अवस्थामा मन्डलेहरुले राजदूतावासका आडमा गरेको धन्दा कायम गर्न गार्हो हुन्थ्यो र त्यसैले हो यिनीहरु मन्डले राजदूत वैध्यकै निरन्तरताको प्रयासमा लोकतन्त्रवादीहरुको आवाज दबाउन पट्टी लागेका। आफ्नो राजनैतिक र आर्थिक स्वार्थ पूर्तिका लागी मन्डलेहरुले धम्काउने, थर्काउने, तर्साउने र दबाउने बेलामा अगाडी सर्ने व्यक्ति अरु थिएन। महेश श्रेष्ठलाई हामीले मान्ने र सम्मान गर्नु पर्ने मुख्य कारण यही हो। किनभने धेरै विद्वानहरु चुपचाप लागेर बसेका थिए, अन्यायलाई अन्याय हो भन्न सकेका थिएनन र लोकतन्त्र जीवन पद्धती बन्नु पर्छ भनेर भन्न गार्हो मान्थे। आफु पूर्ण मानवाधिकार भएको देशमा बस्दै स्वतन्त्र जीवनयापन गरिरहेकाहरुले पनि डर वा भयका कारण मातृभूमिमा पनि मानवाधिकार हुनुपर्छ भन्ने हिम्मत देखाउन नसकेका बेलामा सफल व्यवसाय गरिरहेका महेश श्रेष्ठले लोकतान्तृक आन्दोलनको नेतृत्व गर्नु खुसीको कुरा थियो। विगतमा यिनले देखाएको साहस र प्रतिबद्धताले गर्दा नै हो एनआरएनमा यिनी प्रत्यासी हुँदा म खुशी हुन पुगेको। यिनी एनआरएनमा विजयी हुँदा एनआरएनमा लोकतान्तृक मुल्य कायम हुने र परिवर्तीत अवस्थामा एनआरएन आन्दोलन झन सबल हुने मेरो विश्वास थियो।

तर, मेरो विस्मात भने यिनले किन बुझेनन षडयन्त्रकारी ढँगले यीनलाई हराउँदै छ भन्ने कुरामै थियो। म स्वयमले उहाँलाई पटक-पटक सम्पर्क गरेको थिएँ र हुनसक्ने षडयन्त्रको जनाउ दिने कोशीस गरेको थिएँ। उहाँले चुनावको अघिल्लो रातीसम्म पनि मलाई आश्वस्त पार्नु भएको थियो र भन्दै हुनुहुन्थ्यो "राम्रोसँग चुनाव भएमा म अवश्य जित्छु।" हुनसक्छ, लोकतान्तृक व्यवहार र आस्थाकै कारण उहाँले चुनाव प्रकृया र चुनाव गराउनेहरु माथि विश्वास गर्नु भएको । तर, अहिले चुनावी परिणाम पश्चात, म देख्दछु कि मेरो अनुमान ठीक रहेछ र महेश श्रेष्ठजीको विश्वासमाथि ठूलो अन्तर्घात भएको छ। मन्डलेहरुले लोकतान्तृक आन्दोलनमा उहाँले निभाउनु भएको नेतृत्वको बदलामा उहाँलाई जबर्जस्ती र सुनियोजित रुपमा ठूलो धाँधली गर्दै हराउने तयारी गरेका रहेछन। 

मत विश्लेषण
यस चुनाव परिणाममा एकछापे मत किन पर्यो भनेर अहिले सर्वत्र खुलदुली छ। सुनिए अनुसार चुनावी स्थलमा तथा सो अगावै अप्राकृतिक र अनैतिक गठबन्धन मजाले हुन पुगेको थियो। अध्यक्ष र राष्ट्रिय सँयोजकका पदमा वर्तमान चुनाव एक हिसाबले दुई समूहमा विभाजित भएर लडिएको थियो। सह-राष्ट्रिय सँयोजकमा लोकप्रिय लोकतान्त्रिक युवानेता जिज्ञान कुमार थापाले फ्राड मन्डलेको षडयन्त्रका कारण आफ्नो उम्मेदवारीता फिर्ता लिनु भएको थियो। उपाध्यक्ष पदमा धेरै लोकप्रिय व्यक्तित्वहरु चुनावी मैदानमा थिए। कोषाध्यक्ष पदमा अर्का लोकतान्तृक व्यक्तित्व तथा हामी धेरैका सेन्सेई सुवर्ण बज्राचार्य मैदानमा हुनुहुन्थ्यो। प्रतिस्पर्धात्मक रुपमा हेर्ने हो भने यस चुनावमा लोकतान्तृक व्यक्तित्वहरुले मूल पदहरुमा आफ्नो जीतका लागी प्रयास गरेका थिए। त्यसैले हो यीनै पदमा फर्जी मत धेरै देखिन्छन र लोकतान्तृकहरुलाई हराउने जबर्जस्त षडयन्त्र गरिएको देखिन्छ। कोषाध्यक्ष पदका उम्मेदवार सुवर्ण बज्राचार्यले त मजाले धाँधलीका नमूना प्रस्तुत गर्नु भएको छ र जापानमा रहेका नेवार समूदायका लोकप्रिय यिनका भनाईलाई मनन गर्ने हो भने निर्वाचन आयोगमा रहेका मन्डलेहरुले, चुनावअघि पनि, चुनावका दौरान पनि र चुनाव पछि पनि आफ्नो मन्डलेरुपको नाँगो प्रदर्शन गरेका छन। 

तर, टडकारो रुपमा देखिने धाँधलीको नमूना भने अध्यक्ष पदका प्रत्यासीहरुले पाएको मतसँख्याले देखाउँछ। एउटै समूहबाट लडेका अध्यक्ष र राष्ट्रिय सँयोजककै विचमा करीब ११२ मतको फरक छ भने तथाकथित विजेता घोषित उम्मेदवार र महेश श्रेष्ठजीले प्राप्त गर्नु भएको मतमा १८६ मतको फरक छ। यसले के स्पष्ट पार्छ भने चुनावका दिन गरिएको धाँधली कुनै समूहलाई जिताउनु भन्दा पनि कुनै व्यक्तीलाई सर्वाधिक मत दिनुमा केन्द्रित छ। "नेपालीका लागी नेपाली" नारा बोकेको एनआरएनको चुनावमा कुनै व्यक्तिले सर्वाधिक मत पाउनुले चुनावी गठनबन्धनको पवित्रतामाथि मात्र शँका उत्पन्न गरेको छैन, यसले को हुन यस चुनावमा करोडौँ खर्च गर्ने, गुन्डा परिचालन गर्ने, धम्काउने र आफ्नो हैकम कायम गर्नेे चाहने प्रगतिवादी भनेर पनि ईँगित गरेको छ। 

महेश श्रेष्ठले अब के गर्ने?
जापानको सानो नेपाली समूदायमा बसेका हामी एकआपसबाट अपरिचित छैनौँ। प्रतिस्पर्धका कुरा वाहेक अन्य सामाजिक र अार्थिक पक्षमा पनि हाम्रो सहकार्य भएको हुन सक्छ। यस हिसावले महेश श्रेष्ठले आफ्नो सामाजिक पक्ष विर्सनु हुँदैन। तर, यसको मतलव धाँधली, गुन्डागर्दी, गुन्डा-मन्डले-असामाजिक तत्वको आडमा गरिएको फर्जी चुनाव परिणामलाई स्विकार्नु उहाँले कदापि हुँदैन। त्यसमा पनि सुवर्ण बज्राचार्यज्यूले भन्नु भएजस्तै अप्रत्यासित रुपमा र विधी नपुर्याई गरिएको अवैधानिक शपथ ग्रहणमा छातीमा हात राखेर शपथ खानेहरुका कुरा त उहाँले कहिले सुन्नु हुँदैन। महत्वपूर्ण कुरा के हो भने, आज महेश श्रेष्ठलाई स्विकृतिका लागी दवाव दिनेहरुले किन बुझ्न सकेनन की लोकप्रिय मतको हिसाबले हेर्ने हो भने उनीहरुले पाएको मतसँख्या भन्दा महेश श्रेष्ठले पाएको मतसँख्या धेरै छ। विजयी भएँ, पदको लोभ लाग्यो भन्दैमा के आफु भन्दा बढी मत ल्याउनेलाई कसैले दवाव दिन मिल्छ? कुन लोकतान्तृक नैतिकतामा पर्छ यो? 

एनआरएन जापानको यो चुनाव हरेक दृष्टीकोणले अन्तर्राष्ट्रिय मुद्दा भइसकेको छ। विश्वभरका एनआरएनहरु अहिले जापानमा के विधी विध्वँश मच्चाएछन त मन्डलेहरुले भन्दै हेर्देछन। महेश श्रेष्ठले अब के गर्छ र यीनमा कतिको लोकतान्तृक प्रतिबद्धता छ भन्ने पनि सबैले हेरिरहेका छन। लोकतान्तृक भन्ने तर गुन्डा-मन्डले-असामाजिक तत्वहरुले जथाभावीपूर्ण तवरले थोपरेको चुनावी परिणामलाई महेश श्रेष्ठले मान्ने हो र गुन्डा-मन्डले-असामाजिक तत्वहरुसँग त्वँ शरणम गर्ने हो भने भविष्यले उहाँको कस्तो मूल्याँकन गर्छ मैले भनिरहनु नपर्ला। तसर्थ, महेश श्रेष्ठजीले अब के गर्ने भन्ने कुरा बढो सोच-विचार गरेर मात्र चाल्नु अत्यावश्यक छ।

No comments: