Tuesday, March 31, 2009

दरवार हत्याकाण्ड' - कारण हतियार बिबाद

सात वर्षअघि (२०५८ साल जेठ १९ गते) भएको दरवार हत्याकाण्ड जर्मनी र अमेरिकी राईफल किन्ने सम्वन्धि तत्कालिन राजा बिरेन्द्र र युवराज दिपेन्द्रबीचको बिबादका कारण भएको पूर्व युवराज पारशले बताएका छन् । 
सिंगापुरमा निस्किने 'द न्यू पेपर' पत्रिकालाई भर्खरै अन्तर्वाता दिदै उनले दिपेन्द्रको जर्मनी 'जी ३६' राईफल ल्याउने चाहना बिरेन्द्रले अस्विकार गरेका कारण सम्पूर्ण परिवारको कत्लेआम गरेको दावी गरे । 'क्लेमेन्ट मेसेनस' नामका पत्रकारसँगको अन्तर्वार्तामा पारसले भनेका छन्, 'नेपाली सेनाका लागि करिव ५० हजार राईफल ल्याउँदा पाइने कमिशन लिने योजनामा रहेका दिपेन्द्र बिरेन्द्रले जर्मनी राईफल किन्न नमानेपछि रिसाए र आफू रिसाएको कुरा हामीलाई समेत भनेका थिए ।' पारशका अनुसार, बिरेन्द्र अमेरिकी 'एम १६' राईफल किन्ने सेनाको योजनाको पक्षमा थिए ।
नेपाल सरकारले दरवार हत्याकाण्डबारे अनुसन्धान सुरु गर्ने भनेकाले त्यसबेलाका तथ्य सार्वजनिक गरेको उल्लेख गर्दै पारशले अन्तर्वार्तामा दिपेन्द्र बिरेन्द्रसँग २०४६ सालको जनआन्दोलनमार्फत भएको परिवर्तनपछि नै आक्रोशित भएको दावी गरेका छन् । राजनीतिक दलहरुलाई शक्ति दिनु तथा दिव्यानी राणासँग बिबाह गर्न अनुमति नपाउनु दिपेन्द्र बिरेन्द्रसँग रिसाउनुका थप कारण भएको पारशको अन्तर्वार्तामा उल्लेख छ ।
'हत्याकाण्डभन्दा अघिल्लो वर्षको आफनो जन्मदिनमा दिपेन्द्रले हामीलाई राजाको हत्या गर्ने बताएका थिए, तर हामीले पत्याएनौं' पारशले अन्तर्वार्तामा भनेका छन् ।

Sunday, March 29, 2009

प्रचण्ड थैवको शवयात्रामा एमाले अध्यक्ष सहभागि

अज्ञात समूहबाट बुटवलमा गोली हानी मारिएका एमाले युथफोर्सका कार्यकर्ता प्रचण्ड थैवको शवयात्रामा एमाले अध्यक्ष झलनाथ खनालसहित वरिष्ठ नेताहरु सहभागि छन् ।  चैत १५ गते दिउँसो सुरु भएको शवयात्रा सहज पार्न चैत १४ गते बिहानदेखि स्थानीय प्रशासनले लगाएको कर्फयू आज दिउँसो साढे १२ देखि बेलुका पाँच बजेसम्मका लागि हटाइएको छ । थैवको हत्या माओवादी वाईसीएलले गरेको एमालेले बताएकाले एमाले र माओवादीबीच भिडन्त हुनसक्ने सम्भावनाका कारण प्रशासनले हिजैदेखि कर्फयू लगाएको हो । थैवको शवयात्रामा एमाले अध्यक्ष झलनाथ खनाल, महासचिव इश्वर पोखरेललगायत वरिष्ठ नेताहरु सहभागि छन् । शवयात्रामा ठूलो संख्यामा स्थानीय वासिन्दा जुटेका छन् । लुम्बिनी अंचल अस्पतालबाट सुरु भएको शवयात्रा शहरका बिभिन्न भाग हुँदै तिनाउ नदि किनारमा पुग्ने बताइएको छ । थैवलाई चैत १३ राती मोटरसाईकलमा आएका अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेका थिए । एमालेले उनको हत्या माओवादी वाईसीएलका रुपन्देही संयोजक सुरजितको प्रत्यक्ष संलग्नतामा भएको बताएको छ ।
थैवको हत्यामा संलग्न सुरजितलगायतलाई कारवाही गर्नुपर्ने माग गर्दै एमालेले आज देशव्यापी विरोध प्रदर्शन आयोजना गर्दैछ । काठमाडौंमा दिउँसो तीन बजे रत्नपार्कबाट बिरोध प्रदर्शन सुरु गरिने एमालेले बताएको छ ।

Thursday, March 26, 2009

दाहालले मन्त्री मण्डलमा विस्तार

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री मण्डल विस्तार गरेका छन् भने ६ सचिवको जिम्मेवारी हेरफेर गरिएको छ । 
चैत १२ गते महेन्द्र पासवानलाई भूमि सुधार र रामचरण चौधरीलाई महिला वालवालिका तथा समाजकल्याण मन्त्रीमा थप गरेपछि मन्त्री मण्डल २४ सदस्यीय बनेको छ । सिराहा निवासी पासवान र बर्दिया निवासी चौधरी दुबै माओवादी सभासद हुन् । मात्रृका यादवले राजिनामा दिएपछि रिक्त रहेको भूमि सुधार र नेकपा मालेले लिन नमानेको महिला, वालवालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी यसअघि प्रधानमन्त्री स्वयमले सम्हाल्दै आएका थिए ।
६ सचिवको जिम्मेवारी हेरफेर मन्त्री परिषदको वैठकले राष्ट्रिय सूचना आयोगका सचिव गणेशराज जोशीलाई रक्षामा ल्याएको छ भने यसअघि रक्षामा रहेका वामनप्रसाद न्यौपानेलाई सामान्य प्रशासनमा लगेको छ । यसैगरी प्रताप पाठकलाई प्रधानमन्त्री कार्यालयबाट उद्योग मन्त्रालयमा, उद्योगमा रहेका ताना शर्मालाई राष्ट्रिय सर्तकता केन्द्रमा, सर्तकता केन्द्रबाट सुशिल घिमिरेलाई सूचना तथा संचार मन्त्रालयमा र संचारबाट लिलामणी पौडेललाई प्रधानमन्त्री कार्यालयमा लगिएको छ ।

Sunday, March 1, 2009

सरकारको विकल्प छैन-प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा रहेको सरकारको विकल्प नरहेको र वर्तमान अवस्थामा अहिलेको भन्दा राम्रो सरकार बन्न नसक्ने ठोकुवा गरे । राजधानीमा फागुन १७ गते आयोजित पूर्व माओवादी र एकता केन्द्र मसालसम्बद्ध पत्रकार संघको एकता कार्यक्रममा बोल्दै उनले सरकारलाई सहयोग गर्न काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई आग्रह समेत गरेका छन् । आफ्नो नेतृत्वको सरकारलाई कमजोर बनाए राष्ट्र नै कमजोर हुने प्रधानमन्त्रीको भनाई थियो ।
प्रधानमन्त्री दाहालले केही दिन अघि आफ्ना स्वकीय सचिव शक्तिबहादुर बस्नेतमाथि गोली प्रहार भएको घट्नाको उदाहरण दिँदै सरकारमाथि भौतिक र प्रचारात्मक आक्रमण भईरहेको बताए । उनले संचार माध्यमले नकारात्मक समाचार लेखेर माओवादी नेतृत्वको सरकारलाई घेराबन्दीमा पारिरहेको उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले मुलुक संक्रमणकालमा रहेकाले साचारकर्मीलाई नकारात्मक समाचार प्रकाशन प्रसारण नगर्न आग्रह गरे । 'अहिलेसम्मका प्रधानमन्त्रीहरुमध्ये संभवत सबै भन्दा बढी सकि्रय भएर काम गर्ने म नै होला । तर यस्तो कुरामा कहिल्यै पनि समाचार बनेन ।' कार्यक्रममा दाहालले भने । आलोचना सुन्दा-सुन्दा आफूले सुत्ने गरेको पलङ्ग नै फ्याक्न मन लागेको उनको भनाई थियो । यसअघि ७० हजारको पलङ्ग प्रयोग गरेको विषयमा प्रधानमन्त्रीको आलोचना भएको थियो ।
संघीयता गणतन्त्र जस्ता विषयमा आलोचना गर्ने बेला भई नसकेको भन्दै प्रधानमन्त्री दाहालले भने 'तँपाईहरु(संचारकर्मी)ले भर्खरै जन्मेको संघीयता र गणतन्त्रमाथि घन प्रहार गर्दै हुनुहुन्छ ।'