Wednesday, December 23, 2009

दाहालको भनाइ विदेशी हस्तक्षेप निम्त्याउने प्रयास : दलहरु

काठमाडौं - माओवादी अध्यक्ष पुष्पकमल दाहालको दलहरुसँग नभई सिधै दिल्लीसँग वार्ता गर्ने भन्ने अभिव्यक्तिले विदेशी हस्तक्षप निम्त्याउन खोजेको भन्दै दलका नेताहरुले चर्को टिप्पणी गरेका छन्। कांग्रेस उपसभापति तथा संसदीय दलका नेता रामचन्द्र पौडेलले दाहालको दिल्लीसँग सिधै वार्ता गर्ने भन्ने अभिव्यक्तिले माओवादीको हताश मनस्थीति प्रतिविम्वित भएको टीप्पणी गरे।
'आफ्नै राष्ट्रभित्र रहेका दलहरुसँग छलफल गरी सहमतिमा जानुपर्ने विषयमा सिधै दिल्लीलाई 'पुकार गर्नु' हताश मनस्थीतिको उपज हो, यसले विदेशी हस्तक्षप थप बढाउछ' पौडेलले नागरिकसँग भने।

पौडेलले माओवादीले विश्वास गुमाउदै गएकोले भारतीसँग गुहार गरेको बताए। 'नेपाली जनता, दलहरु र नागरिक समाजसँगको विश्वास गुमाएकोले माओवादी नेतृत्वले दिल्लीसँग वार्ता गर्ने उद्घोष गरेको हो' उनले भने।
तीन दिने आम हड्तालको समापन भाषणका क्रममा मंगलबार दाहालले आफ्नो पार्टीले दलहरुसँग नभई सिधै दिल्लीसँग वार्ता गर्ने घोषणा गरेका थिए। दाहालको यस्तो अभिव्यक्ति सार्वजनिक भए लगत्तै नेताहरुले चर्को आलोचना गरेका छन्।उनीहरुले दाहालले अनावस्यक विदेशी हस्तक्षप गराउने उदेश्यबाट पे्ररित भएर यस्तो भनाई सार्वजनिक गरेको बताएका छन्।
कांग्रेस, एमाले लगायतका प्रमुख राजनीतिक दल र सरकारसँग वार्ताको कुनै औचित्य नभएको भन्दै दाहालले आफ्ना कार्यकर्ताहरुलाई अव सिधै दिल्लीसँग वार्ता गर्ने उद्घोष उक्त समापन भाषणमा गरेका थिए।
राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सर्यबहादुर थापाले भारतले हस्तक्षप गर्‍यो भन्ने माओवादीकै नेतृत्वले दिल्लीसँग वार्ता गर्छु भनेर उनीहरुको वास्तविकता उदाङगीएको टिप्पणी गरे।'ठूला पार्टीका नेताले दिल्लीमा वार्ता गर्छु भन्नु अराष्ट्रिय कुरा हो यसले सारा नेपालीको बेइज्जत गरेको छ' उनले टिप्पणी छ।
थापाले राष्ट्रयताको त्यत्रो नारा दिने माओवादी नेतृत्वले हस्तक्षप गरेको लाग्थ्यो भने दिल्लीमा हात जोड्न जान नपर्ने बताउदै यस्तो अभिव्यत्तिले उनीहरु कहाँ बसेर के गरेका थिए भन्ने उदाङगो भएको बताए।
दाहालले धेरैपटक दलहरुसँग वार्ता गरियो तर कुरा दिल्लीमा गएर अड्किने भएकोले अव सिधै दिल्लीसँग वार्ता गर्ने बताएका थिए। माओवादी अध्यक्ष दाहालले पार्टी भुमिगत हुदा नोकरहरुसँग (दलसँग) नभई सिधै मालिक (राजा) सँग वार्ता गर्ने बताएका थिए। झण्डै त्यस्तै भाषामा उनले दिल्लीसँग वार्ता गर्ने घोषणा मंगलबारको आमसभामा माफर्त गरेका हुन।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रघुजी पन्तले सर्वभौम देशमा सबै निर्णय गर्ने अधिकार जनताका प्रतिनिधिसँग हुने बताउदै माओवादीको भनाइले खासै अर्थ नराख्ने टिप्पणी गरे। 'माओवादी नेताहरुको अनावस्यक टिप्पणीले कुनै असर गर्दैन, कसैले विदेशीलाई आफ्नो देशको मालिक देख्छ भने त्यो उसको दृष्टिभ्रम मात्र हो' पन्तले भने।
माओवादीसँगको १२ वुदेदेखि शान्ति प्रक्रियामा प्रमुख भुमिका निर्वाह गर्दै आएका कांग्रेस नेता कृष्ण सिटौलाले पनि माओवादी अध्यक्ष दाहालको अभिव्यक्ति निराशाजनक र उत्तेजितपूर्ण भएको टिप्पणी गरे। 'माओवादी नेतृत्वले आफ्ना गल्ती ढाकछोप गर्न अरुमाथि दोशारोपण गरेका छन्' सिटौलाले भने।

राजनीतिक दल र मित्रराष्ट्रमाथि तिक्त्तता पोखेर समस्याको समाधान नहुनै जिकिर गर्दै सिटौलाले माओवादी शान्ति र संविधानको कुरा गर्ने तर इमान्दार नरहने लक्षण देखिन थालेको बताए। 'स्थायी शान्ति र राजनीतिक स्थायित्व चाहने आम नेपाली जनताका लागि दाहालको सिधै दिल्लीसँग वार्ता गर्छु भन्ने अभिव्यत्ति दुर्भाग्पूण छ' सिटौलाले टिप्पणी गरे।मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले नेपालको समस्यालाई नेपालीभित्रै बसेर समाधान गनुपर्ने टिप्पणी गर्दै भने, 'अनावस्यक रुपमा आफ्नो देशको समस्याका लागि विदेशीलाई गुहार गर्न राष्ट्रिय हित विपरित हो।'

Saturday, December 19, 2009

कोइरालाले दाहाललाई भने- आन्दोलन छाड्नोस्

पुस ३- माओवादीले आह्वान गरेको आम हड्ताल मिति नजिकिँदै गर्दा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आन्दोलन छाड्न आग्रह गरेका छन्। मुलुक शान्ति प्रक्रिया बिथोलिने र संविधान नबन्ने दिशातर्फ गइरहेकोमा गम्भीर चिन्ता जनाउँदै कोइरालाले दाहाललाई भने 'अहिलेको समय आन्दोलनको हैन, आन्दोलन छोड्नोस्।'
माओवादीले चौथो चरणको आन्दोलनमा शिविरभित्रका लडाकू बाहिर निकाल्ने बताइरहेकै बेला कोइरालाले मुलुक शान्ति प्रक्रिया बिथोलिने र संविधान नबन्ने दिशातर्फ लागेकोमा चिन्ता जनाएका हुन्।
मुलुकको समसामयिक राजनीतिक अवस्था बारे छलफल गर्न कोइराला निवास पुगेका माओवादी अध्यक्ष दाहाल कोइरालाको भनाइप्रति गम्भीर बनेका थिए। आधा घण्टाभन्दा बढी चलेको छलफलमा अध्यक्ष दाहालले आफ्नो पार्टीले उठाएका सामान्य मुद्दाहरुलाई सम्बोधन गरिदिन कोइरालासमक्ष आग्रह गरेका थिए।
'राष्ट्रपतिको कदम बारे हामीले उठाएका सामान्य मुद्दालाई कुनै न कुनै ढंगबाट सम्बोधन गरिदिनु पर्यो' दाहालको भनाइ उदृत गर्दै दुई नेताको बैठकमा सहभागी कांग्रेस केन्द्रीय सदस्य कृष्ण सिटौलाले भने- 'उहाँले पार्टीका साथीहरुसँग बसेर कुरा गर्छु भन्नु भएको छ।'
कोइरालाको चिन्ताप्रति गम्भीर देखिएका दाहाल पार्टीका साथीसँग छलफल गरेर भेट्न आउँछु भन्दै कोइराला निवासबाट बाहिरिएका थिए। 'एक दुई दिनमै फेरि भेटेर निर्णायक निकास निकाल्ने सहमति भएको छ'- सिटौलाले भने।

Tuesday, December 8, 2009

कोप १५ सम्मेलन सुरु

मंसिर २२- संयुक्त राष्ट्र सङ्घको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप १५) दश दिनका लागि स्थानीय समयअनुसार साढे एघार बजे सुरु भएको छ। विश्वका शक्तिशाली राष्ट्र र तिनका प्रमुखहरु आउने भनिएको यस सम्मेलनको सुरक्षा व्यवस्था निकै कडा गरिएको छ।
आइतबार सम्मेलन केन्द्र असुरक्षित भएको भन्दै सुरक्षाकर्मीले तीन घण्टा सबै गतिविधि रोकेका थिए। बम भएको शङ्कामा सुरक्षाकर्मीले तीन घण्टा सम्मेलन केन्द्र आवतआवतमा पूर्ण प्रतिबन्ध लगाएका थिए। सोमबारको अवस्था सामान्य छ। अमेरिकी राष्ट्रपति बाराक ओबामा समेत आउने भनेपछि सुरक्षा क्षेत्र कडा बनाइएको हो।सम्मेलनमा १ सय ९३ देशका प्रतिनिधिको सहभागिता छ। त्यसमा पत्रकार, राष्ट्रिय तथा अन्तराष्ट्रिय सङ्घ-संस्थाका प्रतिनिधि, नागरिक समाज, वातावरण बचाउ अभियानकर्ता, वैज्ञानिक, सरकारी प्रतिनिधि पत्रकारलगायतको सहभागिता छ।
करिब एघार हजार सहभागीको अनुमान गरिए पनि ३० हजारसम्म पुग्ने अनुमान छ।सम्मेलनका प्रारम्भिक छलफलमा भाग लिन सचिवस्तर टोली दश दिनअघि नै यहाँ आइसकेको छ। हामीले हाम्रा एजेण्डा तयार बनाइसकेका छौं। कम विकसित मुलुक र जी ७७ राष्ट्रका प्रतिनिधिको अडान एउटै हुनेछ, वातावरण सचिव डा। उदयराज शर्माले भने। उनका अनुसार सन् १९९० सम्म वायुमण्डलमा थुप्रिएको कार्बनको मात्राको कति प्रतिशत भाग सन् २०२० र २०५० सम्म घटाउने भन्ने विषय सम्मेलनको प्रमुख एजेण्डा हुनेछ। 'यो त्यति सजिलो मुद्दा भने होइन, यसमा विकसित राष्ट्र विभिन्न बहाना बनाएर तर्किन खोज्नेछन्- उनले भने। वायुमण्डलमा बढ्दै गएको कार्बन डाइअक्साइडको मात्रा र त्यसले गर्दा भएको पृथ्वीको बढ्दो तापक्रम अहिलेको सबैको चासोको विषय हो। सम्मेलनमा कार्बनको उर्त्सजन नियन्त्रण योजनाबारे छलफल हुनेछ। सम्मेलनले एउटा निश्चित अवधिमा कति मात्रा कार्बन डाइअक्साइड घटाउने भन्ने निर्क्यौल गर्नेछ।
तर विकसित, अल्पविकसित र विकासशील राष्ट्रका आ-आफ्ना र आफ्नो अनुकूलका योजना तथा अडानले गर्दा यो सम्मेलन पनि विगतमा जस्तै असफल हुनसक्ने सम्भावना त्यत्तिकै छ। अमेरिका, चीन, भारत, रसियालगायतका मुलुक सबैभन्दा बढी कार्बन डाइअक्साइड उत्सर्जन गर्नेमा पर्छन्। यी मुलुकका प्रमुखले लिखित प्रतिबद्धता नजनाएसम्म समस्या समाधान असम्भव हुन्छ।

Tuesday, December 1, 2009

दुबइ ‘क्राइसिस'को असर दक्षिण एशियामा

दुबई, - छोटो अवधिको सम्झौतामा काम गरिरहेका आप्रवासी कामदारको रोजगार भविष्य दुबईमा यतिखेर ठूलो बहसको विषय बनेको छ।
नेपाल भारत बंगलादेशजस्ता मुलुकमा आधारित यहाँको श्रम बजार आर्थिक मन्दीको चपेटामा छ। एक वर्षको अन्तरालमा यहाँको वेरोजगार दर ३०% पुगेको तथ्यांक सार्वजनिक भएपछि रोजगारको विषय बहसमा आएको हो।
उद्योगहरुले जनाएअनुसार सरकारी तथ्यांकभन्दा पनि वेरोजगारको संख्या बढी हुनसक्छ। गत आर्थिक वर्षमा भारतमा साढे ४३ अर्ब डलर रेमिटेन्स दुबईबाटमात्र भित्रिएको थियो। नेपालमा भने १५ अर्ब रुपैयाँ रेमिटेन्स त्यहीँबाट भित्रिएको थियो। यो वर्ष अघिल्लो वर्षभन्दा ज्यादै न्युन परिमाणमा मात्र रेमिटेन्स भित्रने अनुमान छ।
भारतीयहरुको ठूलो संख्या यहाँको ह्वाइट कलर र ब्लुकरल रोजगार बजारमा काम गर्दै आएका छन्। सन् २००८ मा संयुक्त अरब इमिरेट्समा ३ लाख भारतीयहरु कामका लागि पुगेका थिए। नेपालबाट गत आर्थिक वर्षसम्म नेपालबाट १ लाख ८१ हजार नेपाली रोजगाका लागि त्यहाँ पुगेका थिए। यो आर्थिक वर्षको साउनदेखि कात्तिकभित्र ५ हजार ५ सय २१ कामदार त्यहाँ पुगेका छन्। नेपाल भारत लगायतका मुलुकका कामदारले त्यहाँ कामको सम्झौतापत्र कन्ट्र्याक्ट थप्न र नयाँ पाउन सजिलो छैन।
भारतको केरला राज्य दुबई क्राइसिसबाट सबैभन्दा बढी प्रभावित छ। केरलाको कूल ग्राहस्थ उत्पादनको २०% हिस्सा रेमिटेन्समा आधारित छ। दुबईको मन्दीले रियलस्टेटमा प्रभाव पार्ने हो भने अर्ध दक्ष कामदारको भविष्यमा सबैभन्दा बढी असर पर्ने देखिएकोछ। नेपाल र भारतबाट यहाँको रियलस्टेलमा काम गर्नेको संख्या धेरै छ। भारतको रोजगारसँग सम्वन्धित अधिकाहरु रियलस्टेट धराशायी भएमा कामदार फर्किने दर उच्च रहने डरमा छन्। किन कि सन् २००८ को सेप्टेम्बर यता पाँच लाख भारतीय कामदारहरु दुबईबाट आफ्नो घर फर्किसकेका छन्। यीमध्ये ६०% कामदार प्राविधिक र गैर प्रावधिक अर्धदक्षित समूहका छन्।
भारतले फर्केका कामदारलाई लक्ष गर्दै ‘रिटर्न एन्ड रिसेटलमेन्ट फन्ड' खडा गरेको छ । तर दुबइका कम्पनीमा राम्रो पदमा काम गरिरहेका भारतीयहरु पछिल्लो १० महिनायता इमिरेट अफ अबुधावीतिर काम खोज्दै जानेक्रम सुरु भएको थियो । विश्वव्यापी आर्थिक मन्दीले संसारका धेरै मुलुक प्रभावित भइसकेपनि यसको असर दुबइमा भने २००८ को नोभेम्बरबाटमात्रै देखिएको थियो । अहिले यसको सबैभन्दा नराम्रो स्वरुप देखा परेको हो ।