Saturday, November 21, 2009

राष्ट्रपतिको कदम संवैधानिक: कोइराला


नेपाली कांग्रेसका कार्यवाहक सभापति शुशिल कोइरालाले राष्ट्रपतिले प्रधानसेनापतिको विषयमा चालेको कदम संवैधानिक भएको दाबी गरेका छन्।
चितवनको नारायणगढमा शनिबार नेपाली कांग्रेस भरतपुर नगरसमितिको नगरस्तरीय कार्यकर्ता भेला तथा वृद्धवृद्धा सम्मान कार्यक्रममा वोल्दै उनले माओवादीले नै संविधान टेकेर काम गरेको आरोप लगाए।
सोही कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति प्रकासमान सिंहले माओवादीको आन्दोलनवाट वर्तमान सरकार नढल्ने बताए। उनले माओवादीको आन्दोलनले सरकार हत्याउने दाउ मात्र भएको बताउदै उनले भने डरधम्कीले सरकार ढल्दैन।
उनले माओवादीले नैतिकहीन कार्य अंगाल्दै आएकाको बताए। सहमतीमा आउन माओवादीका लागि सदैव ढोका खुल्ला रहेका उनले बताए।

Wednesday, November 18, 2009

'संयन्त्र गठनपछि गतिरोध अन्त्य गर्ने'

उपचारका लागि सिंगापुरमा रहेका कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच उच्च राजनीतिक संयन्त्र गठन गरी गतिरोध अन्त्य गर्ने सहमति भएको छ।

कोइराला भर्ना भएको सिंगापुरको टि्रपलवन समरसेटस्थित ग्लेनिगल्स अस्पतालमा मंगलबार मध्यान्ह भएको दाहालसँगको भेटमा त्यस्तो सहमति भएको हो। कोइराला आइतबार स्वदेश फर्किएपछि सबै राजनीतिक गतिरोध अन्त्य हुने दाहालले दाबी गरे।

नेपालविज्ञ भारतीय प्राध्यापक एसडी मुनीको पहलमा कोइराला-दाहाल भेट भएको हो। 'म कोइरालालाई भेट गरेर निस्कँदा एकछिन प्रचण्ड (दाहाल) सँग भेट भयो,' मुनीले टेलिफोनमा भने।

उनले भेटघाटको मध्यस्थता गरेको घुमाउरो रूपमा स्विकार्दै भने, 'कोइराला र प्रचण्ड सिंगापुरमा छन् भन्ने मलाई थाहा छ।' 'पार्टीको आन्तरिक भेटघाट'का लागि भन्दै दाहाल सोमबार दिउँसो १ बजे पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख कृष्णबहादुर महारासँग सिंगापुर प्रस्थान गरेका हुन्।

'उच्च राजनीतिक संयन्त्र बनाएर राजनीतिक गतिरोध अन्त्य गर्ने भन्नुभएको छ। अब गतिरोध तत्काल अन्त्य हुन्छ,' कोइरालासँग भेटेपछि दाहालले नेपाल टेलिभिजनसँग भने, 'राष्ट्रपतिको असंवैधानिक कदम (नागरिक सर्वोच्चता)लाई पनि सम्बोधन गर्छु भन्नुभएको छ।'

नेपालमा कांग्रेस र एमालेबीच जसरी भए पनि बजेट पारित गर्नेबारे छलफल भएको भन्ने जिज्ञासामा दाहालले सबै विषय प्याकेजमा सहमति हुने बताए। कोइरालासँगको भेट 'अत्यन्तै सकारात्मक' भएको उनले बताए।

'म भोलि (बुधबार)आउँछु। गिरिजाबाबु आएपछि उच्च संयन्त्र गठन हुन्छ। त्यसपछि सहमतिको राजनीति अघि बढ्छ,' दाहालले भने। भेटघाटमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइराला, शेखर कोइराला र महरा थिए। गतिरोध तत्काल अन्त्य गर्न कोइरालाले दाहाललाई भनेका थिए। कोइरालाको भनाइ उद्धृत गर्दै शेखरले भने, गतिरोध छिटो अन्त्य गर्नुहोला। बजेट पारित हुन दिनुस्।' दाहालले जवाफमा आफूहरूले उठाएको माग सम्बोधन गर्न आग्रह गरेका थिए।

'सबै विषयलाई प्याकेजमा गरौं। सहमतिका लागि हामीलाई ...स्पेस' चाहियो। राष्ट्रपतिको कदम लगायत विषयमा सहमति गरौं,' दाहालले भने। कोइरालाले राष्ट्रपतिलाई अपजस नआउने गरी मध्यमार्ग खोज्न सुझाव दिएका थिए।कोइलाको भनाइ समर्थन गर्दै दाहालले भने, 'म पनि राष्ट्रपतिलाई अपजस लगाउने पक्षमा छैन। मध्यमार्ग खोज्न तयार छु।' बजेटबारे बुधबार फर्केलगत्तै पार्टी बैठक गरी केही निकास दिने आश्वासन कोइरालालाई दाहालले दिएको शेखरले बताए।

दाहालले नेपालमा जसरी भए पनि बजेट पारित गर्ने भन्नेबारे दलहरूबीच निर्णय हुन नसक्ने बताए। 'सहमति हुन्छ, नेपालमा त्यस्तो कुनै निर्णय भइहाल्छ जस्तो मलाई लाग्दैन,' उनले भने।

माओवादीले मंसिर ५ गतेको अल्टिमेटम दिए पनि कोइराला ७ गतेमात्रै नेपाल आउनेछन्। छलफल भएको धेरै कुरा नभन्ने दाहालले बताए। 'गिरिजाबाबु फर्किएपछि धेरै कुरा हुन्छ,' उनले भने। दाहाल फर्किएपछि सम्भवतः माओवादीले सहमतिका लागि अल्टिमेटम लम्ब्याउन सक्छ।

दाहाललाई कोइरालाले सिंगापुरसम्म किन आएको भनी प्रश्न गरेका थिए। दाहालले भने सिंगापुर आउने कार्यक्रम पहिल्यै तय भएको जवाफ दिए। पार्टीको आन्तरिक कार्यक्रममा गएको जिकिर गरे पनि मंगलबार राति ११ बजेसम्म कसैसँग भेट भएको छैन।

'कोइरालासँग भेट भएको भन्ने सबै नेपालीलाई थाहा छ। पार्टीको भेटघाट कतै छैन,' त्यहाँ अध्ययनरत पूर्व पत्रकार इन्द्र गुरूङले भने। उनीहरू त्यहाँस्थित हायत रेजेन्सी होटलमा बसेका छन्।

Monday, November 16, 2009

माओवादीका कारण विदेशी हस्तक्षेप : दमननाथ

पूर्व सभामुख दमननाथ ढुङ्गानाले एकिकृत नेकपा माओवादीको गतिविधिका कारण नेपालमा विदेशी हस्तक्षेप बढेको बताएका छन्। उनले भने- ‘सबै समस्याको समाधान निस्कने संसद थुनेर माओवादीले विदेशीलाई चलखेल गर्ने अवसर दिएका छन्।'
उनले सिंहदरबार घेराउ गर्नुभन्दा संसदबाट समस्याको निकास निकाल्न पनि आग्रह गरेका छन्। ‘संसद थुनेर सिंहदरबार त के पूरै देश नै घेराउ गरे पनि माओवादीले भनेको नागरिक सर्वोच्चता कायम हुँदैन'- मानव अधिकार संरक्षण मञ्च मोरङले आइतबार विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले भने- ‘सिंहदरबार घेरेर जनताले दु:खमात्र पाउने हो।' ढुङ्गानाले माओवादीलाई संविधानसभा विघटन हुने डर नपालेर त्यसको सट्टा संसदलाई गतिशील बनाउनुपर्ने सुझाव दिए। माओवादी एकातिर र त्यसबाहेकका राजनीतिक दल अर्कोतिर भएकै कारण देशको राजनीतिक अवस्था डाँवाडोल अवस्थामा पुगेको उनको भनाइ थियो। ‘माओवादी र त्यसबाहेकका दल दुई धारमा बाँडिएकाले समस्या झाँगिएको हो', उनले भने- ‘जुन शान्ति सम्झौताको विपरित हो।' कार्यक्रममा अर्का अधिकारवादी पदमरत्न तुलाधारले राजनीतिक दलका आपसी लडाईका कारण मुलुक जटिल अवस्थामा पुगेको तर्क गर्दै सहमतिबेगर कसैको भलाई नहुने बताए। उनले भने- दलहरु प्रतिबद्ध नभएसम्म मुलुकको समस्या समस्या हुँदैन् ।

Tuesday, November 10, 2009

प्रधानमन्त्रीको रोम भ्रमण रद्द

प्रधानमन्त्री माधवकुमार नेपालले शनिबारदेखि गर्ने भनेको रोम भ्रमण रद्द गरेका छन्। प्रधानमन्त्री नेपालले नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला अस्पताल भर्ना भएपछि रोम नजाने निर्णय गरेका बालुवाटार स्रोतले जनाएको छ।
प्रधानमन्त्री नेपाल खाद्य सुरक्षासम्बन्धी विश्व सम्मेलनमा सहभागी हुन कात्तिक २८ मा इटालीको रोम जाने कार्यक्रम थियो।
प्रधानमन्त्रीको स्वास्थ्य स्थिति भने सुधार भएको र बुधबार आरामपछि बिहीबारदेखि नियमित कार्यमा फर्कने भएका छन्। प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डल नेतृत्व गरी जाने र मंसिर ४ मा स्वदेश फर्कने कार्यक्रम थियो। भ्रमण टोलीको नेतृत्व कृषि तथा सहकारीमन्त्री मृगेन्द्रकुमार सिंह यादवले गर्ने भएका छन्।
विश्वव्यापी आर्थिक संकट, जलवायु परिवर्तन, तापमान बृद्धि, अति तथा न्यून बृष्टिलगायत कारण कृषि उब्जनी घटेका बेला संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) ले सम्मेलन गर्न लागेको हो।
एफएओद्वारा गत महिना सार्वजनिक प्रतिवेदनअनुसार विश्वव्यापी आर्थिक संकटका कारण कृषि उत्पादन क्षेत्रमा पर्याप्त लगानी नहुँदा यस वर्ष विश्वभर १ अर्ब २० लाख मानिस भोकमरीको चपेटामा छन्।
यसअगाडि प्रधानमन्त्री नेपालले 'जटिल राजनीतिक अवस्था देखाउँदै' अन्तिम समयमा माल्दिभ्स भ्रमण रद्द गरेका थिए। प्रधानमन्त्री मौसम परिवर्तनबाट जोखिममा रहेका १५ एसियाली राष्ट्रका नेताहरूको गत आइतबार मालेमा हुने सम्मेलनमा भाग लिन जाने तयारीमा थिए।
प्रधानमन्त्रीको निर्देशनमा वातावरण राज्यमन्त्री ठाकुर शर्मा सम्मेलनमा सहभागी भए। नेपाल, माल्दिम्स्, इन्डोनेसिया, भियतनाम, श्रीलंकालगायत जलवायु परिवर्तनका कारण जोखिममा रहेका १५ एसियाली मुलुक सम्मेलन सहभागी थिए।
प्रधानमन्त्रीलाई सम्मेलनमा उपस्थित हुन माल्दिभ्सका राष्ट्रपति मोहमद नासिदले आमन्त्रणका साथै गत कात्तिक १२ गते टेलिफोन समेत गरेका थिए।

कोइराला स्वास्थ्य स्थिति गम्भिर, गंगालाल हृदय केन्द्रमा भर्ना

कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य स्थिति गम्भीर भएपछि मंगलबार बिहान उनलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको छ । सवा १० मा उनलाई अस्पताल पुर्‍याइएको हो । कोइराला आउने भएपछि केन्द्रलाई उच्च सतर्कतामा राखिएको थियो । अस्पताल स्रोतका कोइरालाको स्वास्थ्य स्थिति गम्भीर रहेको छ । अस्पतालका वरिष्ठ चिकित्सकहरुको टोली उनको उपचारमा संलग्न छन् । चिकित्सकहरुले आवश्यक उपचारको थालनी गरिसकेका छन् । यसअघि आगामी बुधबार कोइरालालाई सिंगापुर लाने तयारी गरिएको थियो । कोइरालाको उपचारमा संलग्न डा।अर्जुन कार्कीले सम्पूर्ण शरीरको परीक्षणका लागि सिंगापुर जाने बताएका थिए । कोइरालामा छाति सम्बन्धी 'सीओपीडी' को समस्या देखिएको छ ।

Sunday, November 8, 2009

राजधानी सार्न सकिन्छ: भट्टराई

काठमाडौं, एकीकृत नेकपा माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले उपत्यकामा बढ्दो जनसंख्या चापका कारण राजधानी बाहिर सार्न सकिने बताएका छन्। मुलुक संघीयतामा गएपछि केन्द्रीय र संघीय राज्यको राजधानी एकै ठाउँ हुँदा अव्यवस्थित हुने र ब्राजिलजस्ता थुप्रै मुलुकमा राजधानी सारिएको उदाहरण दिँदै उनले यस्तो धारणा राखेका हुन्।
राजधानी सार्न काठमाडौंका नेवार समुदाय, नागरिक समाज र राजनीतिक दल सबैको सहमति आवश्यक हुने उनले बताए।
'देश पुनर्संरचनाका क्रममा छ, जनसंख्या चापका कारण अहिल्यै पानीको अभाव छ,' उनले राजधानीमा शनिबार 'नेवाः स्वायत्त गणराज्यको विशेषता र स्वरूप' विषयक कार्यक्रमपछि गरिकसंग भने, 'संघीय राज्यको राजधानी पनि यहीँ भएपछि केन्द्रीय राजधानीको विकल्पमा छलफल गर्न सकिन्छ।' उनले केन्द्रीय राजधानीका विषयमा बहस चलाउन आवश्यक भएको बताए।
आवश्यकताअनुसार 'सबैको सहमतिमा निश्चित ठाउँमा राजधानी सार्न सकिने' उनले बताए। 'अहिले नै राजधानी सार्नुपर्छ भनेको होइन। तर, दुई राजधानी भएपछि आवश्यकताअनुसार सार्न सकिन्छ,' उनले भने।
माओवादीले उपत्यकालाई नेवाः स्वायत्त राज्यका रूपमा प्रस्ताव गरी त्यसैअनुसार पार्टीको सांगठनिक संरचना बनाएको छ। नेवाः राज्यको राजधानी काठमाडौं भएपछि केन्द्रीय राजधानी सार्न सकिने उनको भनाइ थियो।
संविधानसभा चुनावी नारामा नेपाल मजदुर किसान पार्टीले राजधानी दाङमा सार्ने प्रस्ताव राखेको थियो। अघिल्लो साता पाल्पा रामपुरमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनालले राजधानी सार्न सकिने बताएका थिए।
भट्टराईले सार्ने विषयमा बहस चलाउन सकिने भए पनि कहाँ सार्न उपयुक्त हुन्छ भन्ने बताएनन्। कुन ठाउँमा राजधानी उपयुक्त होला भन्ने जिज्ञासामा उनले भने, 'राजनीतिशास्त्र, अर्थशास्त्र र भूगोलको विद्यार्थी भएकाले मैले सम्भावना भएका थुप्रै ठाउँ देखेको छु।'
नेवाः गणराज्यको सीमांकनबारे पनि बहस चलाउन सकिने उनले बताए। काठमाडौं आसपासका नेवार बाहुल्य क्षेत्र र तत्कालीन नेपाल मण्डलमा रहेका ठाउँ कसरी राख्ने भनेर बहस गर्नु जरुरी रहेको उनले बताए। गणराज्यको सीमांकन सम्बन्धित क्षेत्रका जनताको आपसी सहमतिबाट तय गर्न सकिने उनको भनाइ थियो।
उनले सैद्धान्तिकरूपमा जातीय, क्षेत्रीय, भाषिक स्वायत्तताबिना संघीय राज्य बन्न नसक्नेसमेत बताए। भौगोलिकरूपमा स्वतन्त्र राज्यभन्दा पनि स्वायत्त राज्य बनाउन उनको जोड थियो।
स्वायत्त गणराज्यमा 'जातीय अग्राधिकारको व्यवस्था हुनुपर्ने' उनले बताए। पिछडिएका जातिलाई निश्चित समय (४०/५० वर्षसम्म) यस्तो अधिकार दिनुपर्ने उनको भनाइ छ। उनले भने, 'अग्राधिकारपछि अन्य जातिसँग प्रतिष्पर्धामा जानसक्ने हुन्छ। त्यसो भएपछि त्यो जातिको अग्राधिकार स्वतः खारेज हुन्छ। त्यसबेला समानरूपमा सबै जाति प्रतिष्पर्धा गर्नसक्ने अवस्थामा पुग्छन्।'
कार्यक्रममा नेपाली कांग्रेसका नेता नरहरि आचार्यले प्रमुख राजनीतिक दलहरूको असमझदारीले संघीय राज्यव्यवस्थाबारे स्पष्ट नभएको गुनासो गरे। उनले राज्य पुनर्संरचनाबारे राष्ट्रिय बहसपछि निर्णय गर्नुपर्ने बताए।
संविधानसभाअन्तर्गत राज्य पुनर्संरचना समिति सभापति लोकेन्द्र बिष्टमगरले नेपाली कांग्रेस र एमालेले राज्य पुनर्संरचनाको खाका अझै नदिएकाले समितिले मस्यौदा तयार गर्न नसकेको बताए।
नेवाः देय दवुका संरक्षक मल्ल के सुन्दरले स्वायत्त राज्यको घोषणा गर्दा इतिहास, जातीय जनसंख्या, आदिवासीको भूमि र अवस्थितिलाई केन्द्रमा राख्नुपर्ने बताए।

Thursday, November 5, 2009

५ हजार थप सुरक्षाकर्मी परिचालनको तयारी

काठमाडौं -गृहमन्त्रालयले एकीकृत नेकपा माओवादीको विरोध कार्यक्रमलाई लक्षित गरेर राजधानीमा थप पाँच हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ। कात्तिक २४ गतेको उपत्यका नाकावन्दी गर्ने तथा २६ र २७ गतेको सिंहदरबार घेर्ने कार्यक्रमका लागि जनपद प्रहरी र सशस्त्र बलले राजधानी बाहिरबाट थप फौज ल्याउन लागेको हो।

हाल नेपाल प्रहरीको ५६ हजार दरबन्दीमध्ये काठमाडौं, ललितपुर र भक्तपुरमा ८ हजार जनशक्ति छ। सशस्त्रको २७ हजार जनशक्तिमध्ये चार हजार उपत्यकाको दरबन्दी हो। जनपद र सशस्त्र गरी उपत्यकामा कुल १२ हजार सुरक्षाकर्मी छन्, जसमध्ये जनपदबाट ५ हजार र सशस्त्रबाट २ हजार मात्र माओवादीको आन्दोलनमा आवश्यकता अनुसार परिचालन भइरहेका छन्।

जनपद तथा सशस्त्रको हेडक्वार्टर र अन्य कार्यालयमा कार्यरत अत्वाश्यक प्रहरीबाहेक दुई हजार र बाकीँ तीन हजार जनशक्ति उपत्यका बाहिरबाट भिœयाउन लागिएको छ। 'सेना शान्ति-सम्झौंताका कारण ब्यारेक बाहिर आउनसक्ने स्थिति छैन,' गृह मन्त्रालयसमद्ध उच्च स्रोतले भन्यो, 'उपत्यकाबाहिर आन्दोलनको मूल्यांकन गरी सामान्यस्थिति भएको जिल्लाबाट सुरक्षाकर्मी राजधानी झिकाउने तयारी भइरहेको छ।'

प्रधानमन्त्री माधवकुमार नेपालले मंगलबार सिंहदरबारमा सहायकमन्त्रीभन्दा माथिका सबै मन्त्रीसहित सुरक्षा अंगका चारै जना प्रमुखलाई बोलाइ शान्तिसुरक्षाका मामिलामा कानुन हात लिनेलाई कडारूपमा प्रस्तुत हुन निर्देशन दिएका थिए। आन्दोलनका क्रममा प्रहरी प्रशासनले 'शालीन र सभ्य' भइ कानुनको पालना गराउनुपर्नेमा उनको जोड थियो।

प्रधानमन्त्री नेपालको निर्देशनलगत्तै गृहमन्त्री रावलले पनि मन्त्रालयमा सुरक्षा अंगका तीन वटै प्रमुखसँग छलफल गरी आन्दोलनका गतिविधिलाई सार्वजनिक धनजनको क्षति हुन अगावै नियन्त्रणमा लिन आदेश दिएका थिए। उपत्यकाका सुरक्षाका लागि विद्यमान फौज प्रयाप्त नभएकोले गृह मन्त्रालयले अल्पकालिन समयका लागि बाहिरको फौज उपत्यकामा ल्याउने स्वीकृति दिएको हो।

माओवादीको संयुक्त राष्ट्रिय जनआन्दोलन परिचालन समितिका संयोजक बाबुराम भट्टराईले कम्तिमा अढाई लाख जनताले सिंहदरबार घेर्ने दाबी गरेका छन्। 'बढीसे बढी जनतालाई आन्दोलनमा सहभागी गराइ शान्तिपूर्ण ढंगले जनदबाब सिर्जना गर्नेछौं, त्यो संवैधानिक घेराभित्र रहेर आन्दोलन हुनेछ', भट्टराईले यस्तो प्रतिक्रिया दिदै आएका छन्।

भट्टराईको अभिव्यक्ति शान्तिपूर्ण जनदबाब मात्र झल्किए पनि आन्दोलन चर्किदै जाँदा कार्यकर्ता उत्तेजित भइ सिंहदरबार तोडफोडसमेत गर्न सक्ने प्रहरी-प्रशासनले अनुमान गरेको छ। 'हाम्रो अपेक्षा शान्तिपूर्ण आन्दोलन होस् भन्ने हो, तर विद्रोह हुनसक्ने सूचना आइरहेकोले आवश्यक सुरक्षा तयारीसमेत गरिरहेका छौं,' गृहराज्यमन्त्री रिजवान अन्सारीले भने, 'विरोधको दिनमा सिंहदरबारको कामकाज सूचारू हुने प्रवन्ध मिलाइनेछ।'

सिंहदरबार सुरक्षाका लागि गृह मन्त्रालयले हाल जडान गरिएका १० वटा सीसीटीभी क्यामेराबाट अनुगमन गरिरहेको छ। सिंहदरबारलाई लक्ष्य गरेर राष्ट्रिय अनुसन्धान आयोगले इन्सपेक्टरको नेतृत्वमा बढीमा सात जना खटाएर २१ ठाउँमा सूचना संकलन गर्न कल सेन्टर खटाउने तयारी गरेको छ। सामान्य अवस्थामा हरेक कल सेन्टरमा एउटा कर्डलेस हुने गरेकोमा अहिले थप २१ वटा सेट उपलब्ध गराइएको छ।

सिंहदरबारको सुरक्षाका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिवाकोटीको नेतृत्वमा जिल्ला सुरक्षा समिति बनेको छ, जसमा काठमाडौंका एसपी, सशस्त्र प्रहरीका एसपी र राष्ट्रिय अनुसन्धानका एसपी सदस्य रहने प्रावधान छ। जिल्ला सुरक्षा समितिको बैठकले परिस्थिति हेरेर सुरक्षाकर्मी परिचालन गर्ने, कर्फयु लगाउने निर्णय गर्ने व्यवस्था गरिएको छ।

'शान्तिपूर्ण कार्यक्रम भए अझ स्कर्ट गरेर सजिलो पारिदिने हाम्रो ड्युटी हो', नेपाल प्रहरीका प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीले भने, 'जव धनजनको क्षति हुन्छ, त्यतिखेर हामी अगाडि बढ्ने हो, त्यसवेला आन्दोलनकारी संयमित हुनुहोला भन्ने हाम्रो आग्रह छ।'

सिंहदरबार घेराऊ कार्यक्रममा जनपद प्रहरीको दंगा गण 'फष्टलाइन' मा, त्यसपछि सशस्त्र गण तैनाथ गरिन व्यवस्था मिलाइएको छ। 'जनधनको क्षति, सार्वजनिक सम्पत्ति र सरकारी कार्यालयको तोडफोड भएमा सशस्त्र प्रहरी आवश्यक अनुसार तुरुन्तै परिचालन गर्ने योजना छ', गृह स्रोतले भन्यो।

Tuesday, November 3, 2009

माओवादीले एयरपोर्ट बन्दको कार्यक्रम फिर्ता

बिभिन्न १२ मुलुकका राजदूत तथा उच्च कुटनीतिक अधिकारीहरुको अनुरोधपछि एकिकृत नेकपा माओवादीले त्रिभुवन विमानस्थल बन्दको कार्यक्रम फिर्ता लिएको छ। माओवादीले आगामी कात्तिक २४ गते विमानस्थलसमेत बन्द गर्ने घोषणा गरेका थिए। 'कुटनीतिक नियोगका प्रतिनिधिहरुको अनुरोधमा एयरपोर्ट बन्दको कार्यक्रम फिर्ता लिइएको हो,' माओवादी प्रवक्ता दीनानाथ शर्माले नागरिकसँग भने,'अन्य सबै विरोधका कार्यक्रम भने यथावत छ।'माओवादी नेताहरुले मंगलबार मध्यान्ह होटल अन्नपूर्णमा नेपालस्थति विदेशी कुटनीतिक नियोगका प्रमुखहरुसँग छलफल गरेका थिए। छलफलमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, बिदेश विभाग प्रमुख कृष्णबहादुर महरालगायतका नेताहरु थिए । बैठकमा बेलायत, फार्न्स, डेनमार्क, फिनलेण्डलगायतका मुलुकका राजदूत र अमेरिका, भारतलगायतका देशका उच्च कुटनीतिक अधिकारीहरु सहभागी थिए ।
'वर्तमान राजनीतिक परिस्थिति र शान्ति प्रकृयाप्रतिको हाम्रो प्रतिबद्धता बारेमा आफ्ना कुराहरु राख्यौं' महराले बैठकपछि संवाददाताहरुलाई भनेका थिए। राजदूतहरुले माओवादी आन्दोलनबाट शान्ति प्रक्रियामा पुग्न सक्ने क्षति प्रति सचेत हुन र आन्दोलनले मानवअधिकार उल्लंघन नगर्नेमा प्रतिवद्धता जारी गर्न अनुरोध गरेका थिए।
आइतवारदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेको माओवादी नेताहरुले विदेशी कुटनीतिक अधिकारीहरुलाई आफु शान्ति प्रकृयाप्रति प्रतिबद्ध रहेको विश्वास दिलाउन मंगलबार बैठक गरेका हुन।