Wednesday, November 18, 2009

'संयन्त्र गठनपछि गतिरोध अन्त्य गर्ने'

उपचारका लागि सिंगापुरमा रहेका कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच उच्च राजनीतिक संयन्त्र गठन गरी गतिरोध अन्त्य गर्ने सहमति भएको छ।

कोइराला भर्ना भएको सिंगापुरको टि्रपलवन समरसेटस्थित ग्लेनिगल्स अस्पतालमा मंगलबार मध्यान्ह भएको दाहालसँगको भेटमा त्यस्तो सहमति भएको हो। कोइराला आइतबार स्वदेश फर्किएपछि सबै राजनीतिक गतिरोध अन्त्य हुने दाहालले दाबी गरे।

नेपालविज्ञ भारतीय प्राध्यापक एसडी मुनीको पहलमा कोइराला-दाहाल भेट भएको हो। 'म कोइरालालाई भेट गरेर निस्कँदा एकछिन प्रचण्ड (दाहाल) सँग भेट भयो,' मुनीले टेलिफोनमा भने।

उनले भेटघाटको मध्यस्थता गरेको घुमाउरो रूपमा स्विकार्दै भने, 'कोइराला र प्रचण्ड सिंगापुरमा छन् भन्ने मलाई थाहा छ।' 'पार्टीको आन्तरिक भेटघाट'का लागि भन्दै दाहाल सोमबार दिउँसो १ बजे पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख कृष्णबहादुर महारासँग सिंगापुर प्रस्थान गरेका हुन्।

'उच्च राजनीतिक संयन्त्र बनाएर राजनीतिक गतिरोध अन्त्य गर्ने भन्नुभएको छ। अब गतिरोध तत्काल अन्त्य हुन्छ,' कोइरालासँग भेटेपछि दाहालले नेपाल टेलिभिजनसँग भने, 'राष्ट्रपतिको असंवैधानिक कदम (नागरिक सर्वोच्चता)लाई पनि सम्बोधन गर्छु भन्नुभएको छ।'

नेपालमा कांग्रेस र एमालेबीच जसरी भए पनि बजेट पारित गर्नेबारे छलफल भएको भन्ने जिज्ञासामा दाहालले सबै विषय प्याकेजमा सहमति हुने बताए। कोइरालासँगको भेट 'अत्यन्तै सकारात्मक' भएको उनले बताए।

'म भोलि (बुधबार)आउँछु। गिरिजाबाबु आएपछि उच्च संयन्त्र गठन हुन्छ। त्यसपछि सहमतिको राजनीति अघि बढ्छ,' दाहालले भने। भेटघाटमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइराला, शेखर कोइराला र महरा थिए। गतिरोध तत्काल अन्त्य गर्न कोइरालाले दाहाललाई भनेका थिए। कोइरालाको भनाइ उद्धृत गर्दै शेखरले भने, गतिरोध छिटो अन्त्य गर्नुहोला। बजेट पारित हुन दिनुस्।' दाहालले जवाफमा आफूहरूले उठाएको माग सम्बोधन गर्न आग्रह गरेका थिए।

'सबै विषयलाई प्याकेजमा गरौं। सहमतिका लागि हामीलाई ...स्पेस' चाहियो। राष्ट्रपतिको कदम लगायत विषयमा सहमति गरौं,' दाहालले भने। कोइरालाले राष्ट्रपतिलाई अपजस नआउने गरी मध्यमार्ग खोज्न सुझाव दिएका थिए।कोइलाको भनाइ समर्थन गर्दै दाहालले भने, 'म पनि राष्ट्रपतिलाई अपजस लगाउने पक्षमा छैन। मध्यमार्ग खोज्न तयार छु।' बजेटबारे बुधबार फर्केलगत्तै पार्टी बैठक गरी केही निकास दिने आश्वासन कोइरालालाई दाहालले दिएको शेखरले बताए।

दाहालले नेपालमा जसरी भए पनि बजेट पारित गर्ने भन्नेबारे दलहरूबीच निर्णय हुन नसक्ने बताए। 'सहमति हुन्छ, नेपालमा त्यस्तो कुनै निर्णय भइहाल्छ जस्तो मलाई लाग्दैन,' उनले भने।

माओवादीले मंसिर ५ गतेको अल्टिमेटम दिए पनि कोइराला ७ गतेमात्रै नेपाल आउनेछन्। छलफल भएको धेरै कुरा नभन्ने दाहालले बताए। 'गिरिजाबाबु फर्किएपछि धेरै कुरा हुन्छ,' उनले भने। दाहाल फर्किएपछि सम्भवतः माओवादीले सहमतिका लागि अल्टिमेटम लम्ब्याउन सक्छ।

दाहाललाई कोइरालाले सिंगापुरसम्म किन आएको भनी प्रश्न गरेका थिए। दाहालले भने सिंगापुर आउने कार्यक्रम पहिल्यै तय भएको जवाफ दिए। पार्टीको आन्तरिक कार्यक्रममा गएको जिकिर गरे पनि मंगलबार राति ११ बजेसम्म कसैसँग भेट भएको छैन।

'कोइरालासँग भेट भएको भन्ने सबै नेपालीलाई थाहा छ। पार्टीको भेटघाट कतै छैन,' त्यहाँ अध्ययनरत पूर्व पत्रकार इन्द्र गुरूङले भने। उनीहरू त्यहाँस्थित हायत रेजेन्सी होटलमा बसेका छन्।

No comments: