Thursday, November 5, 2009

५ हजार थप सुरक्षाकर्मी परिचालनको तयारी

काठमाडौं -गृहमन्त्रालयले एकीकृत नेकपा माओवादीको विरोध कार्यक्रमलाई लक्षित गरेर राजधानीमा थप पाँच हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ। कात्तिक २४ गतेको उपत्यका नाकावन्दी गर्ने तथा २६ र २७ गतेको सिंहदरबार घेर्ने कार्यक्रमका लागि जनपद प्रहरी र सशस्त्र बलले राजधानी बाहिरबाट थप फौज ल्याउन लागेको हो।

हाल नेपाल प्रहरीको ५६ हजार दरबन्दीमध्ये काठमाडौं, ललितपुर र भक्तपुरमा ८ हजार जनशक्ति छ। सशस्त्रको २७ हजार जनशक्तिमध्ये चार हजार उपत्यकाको दरबन्दी हो। जनपद र सशस्त्र गरी उपत्यकामा कुल १२ हजार सुरक्षाकर्मी छन्, जसमध्ये जनपदबाट ५ हजार र सशस्त्रबाट २ हजार मात्र माओवादीको आन्दोलनमा आवश्यकता अनुसार परिचालन भइरहेका छन्।

जनपद तथा सशस्त्रको हेडक्वार्टर र अन्य कार्यालयमा कार्यरत अत्वाश्यक प्रहरीबाहेक दुई हजार र बाकीँ तीन हजार जनशक्ति उपत्यका बाहिरबाट भिœयाउन लागिएको छ। 'सेना शान्ति-सम्झौंताका कारण ब्यारेक बाहिर आउनसक्ने स्थिति छैन,' गृह मन्त्रालयसमद्ध उच्च स्रोतले भन्यो, 'उपत्यकाबाहिर आन्दोलनको मूल्यांकन गरी सामान्यस्थिति भएको जिल्लाबाट सुरक्षाकर्मी राजधानी झिकाउने तयारी भइरहेको छ।'

प्रधानमन्त्री माधवकुमार नेपालले मंगलबार सिंहदरबारमा सहायकमन्त्रीभन्दा माथिका सबै मन्त्रीसहित सुरक्षा अंगका चारै जना प्रमुखलाई बोलाइ शान्तिसुरक्षाका मामिलामा कानुन हात लिनेलाई कडारूपमा प्रस्तुत हुन निर्देशन दिएका थिए। आन्दोलनका क्रममा प्रहरी प्रशासनले 'शालीन र सभ्य' भइ कानुनको पालना गराउनुपर्नेमा उनको जोड थियो।

प्रधानमन्त्री नेपालको निर्देशनलगत्तै गृहमन्त्री रावलले पनि मन्त्रालयमा सुरक्षा अंगका तीन वटै प्रमुखसँग छलफल गरी आन्दोलनका गतिविधिलाई सार्वजनिक धनजनको क्षति हुन अगावै नियन्त्रणमा लिन आदेश दिएका थिए। उपत्यकाका सुरक्षाका लागि विद्यमान फौज प्रयाप्त नभएकोले गृह मन्त्रालयले अल्पकालिन समयका लागि बाहिरको फौज उपत्यकामा ल्याउने स्वीकृति दिएको हो।

माओवादीको संयुक्त राष्ट्रिय जनआन्दोलन परिचालन समितिका संयोजक बाबुराम भट्टराईले कम्तिमा अढाई लाख जनताले सिंहदरबार घेर्ने दाबी गरेका छन्। 'बढीसे बढी जनतालाई आन्दोलनमा सहभागी गराइ शान्तिपूर्ण ढंगले जनदबाब सिर्जना गर्नेछौं, त्यो संवैधानिक घेराभित्र रहेर आन्दोलन हुनेछ', भट्टराईले यस्तो प्रतिक्रिया दिदै आएका छन्।

भट्टराईको अभिव्यक्ति शान्तिपूर्ण जनदबाब मात्र झल्किए पनि आन्दोलन चर्किदै जाँदा कार्यकर्ता उत्तेजित भइ सिंहदरबार तोडफोडसमेत गर्न सक्ने प्रहरी-प्रशासनले अनुमान गरेको छ। 'हाम्रो अपेक्षा शान्तिपूर्ण आन्दोलन होस् भन्ने हो, तर विद्रोह हुनसक्ने सूचना आइरहेकोले आवश्यक सुरक्षा तयारीसमेत गरिरहेका छौं,' गृहराज्यमन्त्री रिजवान अन्सारीले भने, 'विरोधको दिनमा सिंहदरबारको कामकाज सूचारू हुने प्रवन्ध मिलाइनेछ।'

सिंहदरबार सुरक्षाका लागि गृह मन्त्रालयले हाल जडान गरिएका १० वटा सीसीटीभी क्यामेराबाट अनुगमन गरिरहेको छ। सिंहदरबारलाई लक्ष्य गरेर राष्ट्रिय अनुसन्धान आयोगले इन्सपेक्टरको नेतृत्वमा बढीमा सात जना खटाएर २१ ठाउँमा सूचना संकलन गर्न कल सेन्टर खटाउने तयारी गरेको छ। सामान्य अवस्थामा हरेक कल सेन्टरमा एउटा कर्डलेस हुने गरेकोमा अहिले थप २१ वटा सेट उपलब्ध गराइएको छ।

सिंहदरबारको सुरक्षाका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिवाकोटीको नेतृत्वमा जिल्ला सुरक्षा समिति बनेको छ, जसमा काठमाडौंका एसपी, सशस्त्र प्रहरीका एसपी र राष्ट्रिय अनुसन्धानका एसपी सदस्य रहने प्रावधान छ। जिल्ला सुरक्षा समितिको बैठकले परिस्थिति हेरेर सुरक्षाकर्मी परिचालन गर्ने, कर्फयु लगाउने निर्णय गर्ने व्यवस्था गरिएको छ।

'शान्तिपूर्ण कार्यक्रम भए अझ स्कर्ट गरेर सजिलो पारिदिने हाम्रो ड्युटी हो', नेपाल प्रहरीका प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीले भने, 'जव धनजनको क्षति हुन्छ, त्यतिखेर हामी अगाडि बढ्ने हो, त्यसवेला आन्दोलनकारी संयमित हुनुहोला भन्ने हाम्रो आग्रह छ।'

सिंहदरबार घेराऊ कार्यक्रममा जनपद प्रहरीको दंगा गण 'फष्टलाइन' मा, त्यसपछि सशस्त्र गण तैनाथ गरिन व्यवस्था मिलाइएको छ। 'जनधनको क्षति, सार्वजनिक सम्पत्ति र सरकारी कार्यालयको तोडफोड भएमा सशस्त्र प्रहरी आवश्यक अनुसार तुरुन्तै परिचालन गर्ने योजना छ', गृह स्रोतले भन्यो।

No comments: