Monday, November 16, 2009

माओवादीका कारण विदेशी हस्तक्षेप : दमननाथ

पूर्व सभामुख दमननाथ ढुङ्गानाले एकिकृत नेकपा माओवादीको गतिविधिका कारण नेपालमा विदेशी हस्तक्षेप बढेको बताएका छन्। उनले भने- ‘सबै समस्याको समाधान निस्कने संसद थुनेर माओवादीले विदेशीलाई चलखेल गर्ने अवसर दिएका छन्।'
उनले सिंहदरबार घेराउ गर्नुभन्दा संसदबाट समस्याको निकास निकाल्न पनि आग्रह गरेका छन्। ‘संसद थुनेर सिंहदरबार त के पूरै देश नै घेराउ गरे पनि माओवादीले भनेको नागरिक सर्वोच्चता कायम हुँदैन'- मानव अधिकार संरक्षण मञ्च मोरङले आइतबार विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले भने- ‘सिंहदरबार घेरेर जनताले दु:खमात्र पाउने हो।' ढुङ्गानाले माओवादीलाई संविधानसभा विघटन हुने डर नपालेर त्यसको सट्टा संसदलाई गतिशील बनाउनुपर्ने सुझाव दिए। माओवादी एकातिर र त्यसबाहेकका राजनीतिक दल अर्कोतिर भएकै कारण देशको राजनीतिक अवस्था डाँवाडोल अवस्थामा पुगेको उनको भनाइ थियो। ‘माओवादी र त्यसबाहेकका दल दुई धारमा बाँडिएकाले समस्या झाँगिएको हो', उनले भने- ‘जुन शान्ति सम्झौताको विपरित हो।' कार्यक्रममा अर्का अधिकारवादी पदमरत्न तुलाधारले राजनीतिक दलका आपसी लडाईका कारण मुलुक जटिल अवस्थामा पुगेको तर्क गर्दै सहमतिबेगर कसैको भलाई नहुने बताए। उनले भने- दलहरु प्रतिबद्ध नभएसम्म मुलुकको समस्या समस्या हुँदैन् ।

No comments: