Tuesday, November 10, 2009

प्रधानमन्त्रीको रोम भ्रमण रद्द

प्रधानमन्त्री माधवकुमार नेपालले शनिबारदेखि गर्ने भनेको रोम भ्रमण रद्द गरेका छन्। प्रधानमन्त्री नेपालले नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला अस्पताल भर्ना भएपछि रोम नजाने निर्णय गरेका बालुवाटार स्रोतले जनाएको छ।
प्रधानमन्त्री नेपाल खाद्य सुरक्षासम्बन्धी विश्व सम्मेलनमा सहभागी हुन कात्तिक २८ मा इटालीको रोम जाने कार्यक्रम थियो।
प्रधानमन्त्रीको स्वास्थ्य स्थिति भने सुधार भएको र बुधबार आरामपछि बिहीबारदेखि नियमित कार्यमा फर्कने भएका छन्। प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डल नेतृत्व गरी जाने र मंसिर ४ मा स्वदेश फर्कने कार्यक्रम थियो। भ्रमण टोलीको नेतृत्व कृषि तथा सहकारीमन्त्री मृगेन्द्रकुमार सिंह यादवले गर्ने भएका छन्।
विश्वव्यापी आर्थिक संकट, जलवायु परिवर्तन, तापमान बृद्धि, अति तथा न्यून बृष्टिलगायत कारण कृषि उब्जनी घटेका बेला संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) ले सम्मेलन गर्न लागेको हो।
एफएओद्वारा गत महिना सार्वजनिक प्रतिवेदनअनुसार विश्वव्यापी आर्थिक संकटका कारण कृषि उत्पादन क्षेत्रमा पर्याप्त लगानी नहुँदा यस वर्ष विश्वभर १ अर्ब २० लाख मानिस भोकमरीको चपेटामा छन्।
यसअगाडि प्रधानमन्त्री नेपालले 'जटिल राजनीतिक अवस्था देखाउँदै' अन्तिम समयमा माल्दिभ्स भ्रमण रद्द गरेका थिए। प्रधानमन्त्री मौसम परिवर्तनबाट जोखिममा रहेका १५ एसियाली राष्ट्रका नेताहरूको गत आइतबार मालेमा हुने सम्मेलनमा भाग लिन जाने तयारीमा थिए।
प्रधानमन्त्रीको निर्देशनमा वातावरण राज्यमन्त्री ठाकुर शर्मा सम्मेलनमा सहभागी भए। नेपाल, माल्दिम्स्, इन्डोनेसिया, भियतनाम, श्रीलंकालगायत जलवायु परिवर्तनका कारण जोखिममा रहेका १५ एसियाली मुलुक सम्मेलन सहभागी थिए।
प्रधानमन्त्रीलाई सम्मेलनमा उपस्थित हुन माल्दिभ्सका राष्ट्रपति मोहमद नासिदले आमन्त्रणका साथै गत कात्तिक १२ गते टेलिफोन समेत गरेका थिए।

No comments: