Tuesday, November 3, 2009

माओवादीले एयरपोर्ट बन्दको कार्यक्रम फिर्ता

बिभिन्न १२ मुलुकका राजदूत तथा उच्च कुटनीतिक अधिकारीहरुको अनुरोधपछि एकिकृत नेकपा माओवादीले त्रिभुवन विमानस्थल बन्दको कार्यक्रम फिर्ता लिएको छ। माओवादीले आगामी कात्तिक २४ गते विमानस्थलसमेत बन्द गर्ने घोषणा गरेका थिए। 'कुटनीतिक नियोगका प्रतिनिधिहरुको अनुरोधमा एयरपोर्ट बन्दको कार्यक्रम फिर्ता लिइएको हो,' माओवादी प्रवक्ता दीनानाथ शर्माले नागरिकसँग भने,'अन्य सबै विरोधका कार्यक्रम भने यथावत छ।'माओवादी नेताहरुले मंगलबार मध्यान्ह होटल अन्नपूर्णमा नेपालस्थति विदेशी कुटनीतिक नियोगका प्रमुखहरुसँग छलफल गरेका थिए। छलफलमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, बिदेश विभाग प्रमुख कृष्णबहादुर महरालगायतका नेताहरु थिए । बैठकमा बेलायत, फार्न्स, डेनमार्क, फिनलेण्डलगायतका मुलुकका राजदूत र अमेरिका, भारतलगायतका देशका उच्च कुटनीतिक अधिकारीहरु सहभागी थिए ।
'वर्तमान राजनीतिक परिस्थिति र शान्ति प्रकृयाप्रतिको हाम्रो प्रतिबद्धता बारेमा आफ्ना कुराहरु राख्यौं' महराले बैठकपछि संवाददाताहरुलाई भनेका थिए। राजदूतहरुले माओवादी आन्दोलनबाट शान्ति प्रक्रियामा पुग्न सक्ने क्षति प्रति सचेत हुन र आन्दोलनले मानवअधिकार उल्लंघन नगर्नेमा प्रतिवद्धता जारी गर्न अनुरोध गरेका थिए।
आइतवारदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेको माओवादी नेताहरुले विदेशी कुटनीतिक अधिकारीहरुलाई आफु शान्ति प्रकृयाप्रति प्रतिबद्ध रहेको विश्वास दिलाउन मंगलबार बैठक गरेका हुन।

No comments: