Wednesday, August 25, 2010

कोइराला र देउवा प्यानल जोडघटाउमा व्यस्त

सभापतिका दाबेदार कार्यवाहक सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा महाविधेशनका लागि प्यानलको जोडघटाउमा व्यस्त हुन थालेका छन्।
महाधिवेशन आउन तीन सातामात्रै बाँकी रहँदा आफ्ना 'किचेन क्याबिनेट'मा दुवै नेता प्यानलमा क-कसलाई समावेश गर्दा, नाफा/घाटा केकति हुन्छ भन्ने जोडघटाउमा जुटेका हुन्।
सभापतिसहित एक महामन्त्री, कोषाध्यक्ष र खुलातर्फ २५ केन्द्रीय सदस्य निर्वाचनमार्फत चयन हुने नयाँ व्यवस्थाले आफ्नो प्यानलमा कसलाई, कुन पदमा निर्वाचनमा प्रतिस्पर्धा गराउने भन्ने कसरतमा दुवै नेता छन्। सभापतिपछिको महत्वपूर्ण र प्रभावशाली पद भएकाले पनि महामन्त्रीमा धेरै आकांक्षी देखिएका छन्।
महामन्त्रीमा धेरै नेताले उम्मेदवारी दिने भएपछि कोइराला प्यालन नबनाउने योजनामा पुगेका थिए। तर उनका केही सहयोगीले सभापति, महामन्त्री र कोषाध्यक्षको मात्रै भए पनि प्यानल बनाउन दबाब दिएपछि कोइराला कसलाई आफ्नो प्यानलमा महामन्त्रीमा उठाउने भन्ने संकटमा छन्। कोइरालाको प्यानलबाट महामन्त्रीमा उपसभापति प्रकाशमान सिह, सहमहामन्त्री अर्जुननरसिह केसी, केन्द्रीय सदस्यहरू रामशरण महत र सुजाता कोइरालाले महामन्त्री दाबी गर्दै आएका छन्। चार आकांक्षीमध्ये एकजनालाई च्यापेर महामन्त्रीमा प्रतिस्पर्धा गराउँदा अन्य नेता चिढिने भएकाले पनि कोइरालालाई प्यालन बनाउन कठिन भएको हो। काठमाडौँ कांग्रेसको निर्वाचनमा आफ्ना उम्मेदवारलाई सहयोग नगरेको भन्दै उपसभापति सिंह यसअघि नै कोइरालासँग रुष्ठ छन्।
सभापतिका अर्को दाबेदार देउवा भने वर्तमान महामन्त्री विमलेन्द्र निधिलाई महामन्त्रीमा लडाउने योजनामा छन्। केन्द्रीय सदस्य खुमबहादुर खड्काले पनि महामन्त्रीमा उम्मेदवारी दिने नजिकका नेतासँग बताएका छन् तर उनले औपचारिक घोषणा भने गरेका छैनन्। पछिल्लो समय देउवानिकट खड्का देउवाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिने वा केन्द्रीय सदस्यमा मात्रै प्रतिस्पर्धा गरी महामन्त्रीमा मनोनीत हुनेभन्ने निर्णयमा पुगिनसकेको बताइएको छ।
देउवाले भने पदाधिकारी र सदस्यहरूमा प्यानलै बनाएर प्रतिस्पर्धा गर्ने तयारी गरेको उनी निकट नेताहरूले बताएका छन्। कोषाध्यक्षमा भने पूर्व उपसभामुख तथा केन्द्रीय सदस्य चित्रलेखा यादवको उम्मेदवारी पर्ने भएको छ। देउवानिकट यादवलाई कोइरालाको समर्थन जुटाउने छलफल सुरु भएको छ। केन्द्रीय पदाधिकारीमा एकजना महिला हुनुपर्ने विधान व्यवस्थाले पनि यादवको नाम सर्वसम्मत हुने संकेत छ।
एक वर्षअघिको संसदीय दलको निर्वाचनदेखि देउवासँग टाढिएका केही केन्द्रीय सदस्य फेरि नजिक भएका छन्। केन्द्रीय सदस्यहरू पूर्णबहादुर खड्का, प्रदीप गिरी, चिरञ्जीवी वाग्ले र बलबहादुर केसी महाधिवेशनको मुखमा देउवासँग नजिक देखिएका हुन्। देउवाले उनीहरूलाई आफ्नो प्यानलमा कसरी समावेश गर्ने भन्ने कसरत सुरु गरेका छन्। नरहरि आचार्यले आफू महामन्त्री र भीमबहादुर तामाङलाई सभापतिमा बिनाछलफल घोषणा गरेपछि खड्का, गिरी र वाग्ले चिढिएका थिए।
बाह्रौँ महाधिवेशनका लागि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नेको संख्या भने एक सय नाघिसकेको छ। वर्तमान केन्द्रीय समितिका सबै सदस्य, सभासद्, जिल्ला र क्षेत्रका धेरै नेताले केन्द्रीय सदस्यको उम्मेदवारी दिने भएपछि संख्या बढ्ने देखिएको हो। कांग्रेसमा पहिलोपटक खुलामा २५ जना, समावेशीतर्फ दलित ५, जनजाति ५, मधेसी ५, मुस्लिम १ र महिला ६ जना केन्द्रीय सदस्य निर्वाचनमार्फत चयन हुनेछन्।केन्द्रीय सदस्यमा एक दर्जन बढी युवाले उम्मेदवारी घोषणा गरेका छन्। गगन थापा, चन्द्र भण्डारी, गुरु घिमिरे, शंकर भण्डारी, गोविन्द भट्टराई, दीपक गिरी, हृदयराम थानी, रामहरि खतिवडालगायतले केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन्।
समावेशी कोटाअन्तर्गतको केन्द्रीय सदस्यमा पनि सबै समूहमा चर्को प्रतिस्पर्धा हुने देखिएको छ। दलित कोटाबाट नेपाल दलित संघका पूर्व महासचिव तथा युवा नेता स्थिरबाबु परियार, मीन विश्वकर्मा र बिजुल विश्वकर्माले उम्मेदवारी घोषणा गरेका छन्।
दलित महिलातर्फ सुजाता परियार र लक्ष्मी परियारले उम्मेदवारी दिने बताएका छन्। जनजाति कोटामा सूर्यमान गुरुङ, इन्द्रबहादुर गुरुङ, गमप्रसाद गुरुङ, धनराज गुरुङ, भीष्म आङदेम्बे, दिलमान पाखि्रनलगायतले उम्मेदवारी दिने बताएका छन्। जनजाति महिलातर्फ भने उषा गुरुङ, सीता गुरुङ, रत्ना शेरचनलगायतले उम्मेदवारी दिँदैछन्।
मधेसीतर्फ महेन्द्र यादव, रामकृष्ण यादव, अजय द्विवेदी, अजय चौरसियालगायत एक दजर्नले उम्मेदवारी दिने बताएका छन्। महिलातर्फ पुष्पा भुषाल, अनिता देवकोटा, अम्बिका बस्नेत, उमा अधिकारी, मीना पाण्डे, महालक्ष्मी (डिना) उपाध्याय, सरिता प्रसार्इं, ईश्वरी न्यौपाने, उर्मिला नेपाललगायतले आकांक्षा राखेका छन्। मुस्लिमतर्फको एक सिटमा भने अब्दुल सतारले उम्मेदवारी दिने भएका छन्।

Wednesday, August 11, 2010

उम्मेदवारी फिर्ता हुँदैन: पौडेल

कांग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्री उम्मेदवार रामचन्द्र पौडेलले बहुमतीय प्रणालीबाटै प्रधानमन्त्री चयन हुनुपर्ने बताएका छन्। जारी प्रक्रियाबाट फर्कंदा संवैधानिक शून्यताले थप संकट उत्पन्न हुने उनले तर्क गरेका छन्।
'राष्ट्रपतिले म्याद थप्दा पनि सहमतीय सरकार गठन हुन नसकेपछि बहुमतीय प्रणालीमा प्रवेश भएको हो,' मंगलबार संसदीय दलको कार्यालयमा पौडेलले सञ्चारकर्मीसामु भने, 'संवैधानिक प्रावधानअनुसार सुरु भएको बहुमतीय प्रणालीबाट फर्कंदा संवैधानिक रिक्तताले अर्को समस्या ल्याउँछ, त्यसैले उम्मेदवारी फिर्ता हुँदैन।'एमाले र माओवादीले समेत प्रधानमन्त्रीका दुवै प्रत्यासीले उम्मेदवारी फिर्ता लिई सहमतिका लागि नयाँ शिराबाट छलफल सुरु गर्नुपर्र्ने प्रस्ताव राखेपछि पौडेलले यस्तो टिप्पणी गरेका हुन्। उम्मेदवारी फिर्ताले असहमति बढाउने उनले बताए। 'चालु प्रक्रियालाई सम्पन्न हुन दिनुपर्छ,' पौडेलले भने। पौडेलले सोमबार बिहान माओवादीसँगको बैठकमा दुवैले उम्मेदवारी फिर्ता लिनेबारे छलफल नभएको दाबी गरे। 'माओवादीसँगको बैठकमा उम्मेदवारी फिर्ता लिनेबारे छलफलै भएको थिएन,' पौडेलले भने, 'छलफलै नभएको कुरालाई माओवादी नेताले मिडिया प्रोपोगान्डा गरे। 'माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सोमबार कांग्रेससँगको बैठकपछि दुवैले उम्मेदवारी फिर्ता लिई सहमतिको पहल गर्न सकिने प्रस्ताव आफूहरूले राखेको बताएका थिए। पौडेलले १२ बुँदेदेखि नै कांग्रेसले शान्तिप्रक्रियाको नेतृत्व गरेकाले यसको तार्किक अन्त्य पनि यसकै नेतृत्वमा मात्रै हुने बताए। 'शान्तिप्रक्रियाको नेतृत्व कांग्रेसले गरेको हो, अहिले पनि माओवादीप्रति अन्य दल विश्वस्त छैनन्, उनले भने, 'त्यसैले सबैले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्छ।' आफू प्रधानमन्त्री चुनिए राष्ट्रिय सहमतिको प्रयास गर्ने उनले बताए। पौडेलले माधवकुमार नेपाल सरकार गठनअघिको लोकतान्त्रिक गठनबन्धनअन्तर्गत कांग्रेस नेतृत्वको सरकार बनाउन समर्थन गर्न सबै दलसँग आग्रह पनि गरे।

Tuesday, August 10, 2010

'नयाँ साझा उम्मेदवार खोजौं' - भट्टराई

एकीकृत माओवादीले प्रधानमन्त्री निर्वाचनका दुबैले उम्मेदवारी फिर्ता लिई राष्ट्रिय सहमतिको सरकारका लागि साझा उम्मेदवार खोज्ने प्रस्ताव गरेको उपाध्यक्ष बाबुराम भट्टराईले बताएका छन्। माओवादी र कांग्रेस शीर्ष नेतृत्वबीच बिहान भएको भेटघाटमा कांग्रेस पक्षले ठोस जवाफ नदिएको उल्लेख गर्दै उनले भने, 'पटक-पटक निर्वाचन दोहोर्‍याइराख्दा राम्रो सन्देश जाँदैन। अध्यक्ष जस्तो मान्छे पटक-पटक हारिराख्नु हुँदैन।' चौथोपटकको निर्वाचन पनि निष्फल भएपछि पार्टी पदाधिकारी बैठकले शनिबार सहमति खोज्ने निर्णय गरेको उल्लेख गर्दै भट्टराईले सोमबार नागरिसकसँग अन्तर्वार्तामा भने, 'हाम्रो तर्फबाट प्रधानमन्त्री उम्मेदवार अध्यक्ष प्रचण्डले अर्का प्रत्यासी रामचन्द्र पौडेलसँग दुबैले उम्मेदवारी फिर्ता लिऊँ र सहमति प्रक्रिया अघि बढाउँ भन्ने प्रस्ताव राख्नुभएको छ।'
भारतीय प्रधानमन्त्रीका विशेष दूत श्यामशरणसँग आफूले एक्लै भेटवार्ता गरेको जानकारी पार्टी पदाधिकारी बैठकलाई दिएको समेत भट्टराईले बताएका छन्। आफ्नो उक्त भेटघाटबारे पार्टीभित्र गरिएको टिप्पणीलाई मानसिक रोगको संज्ञा दिँदै उनले भनेका छन्, 'अध्यक्षले पनि छुट्टै भेट्नुभएको छ।'
शरणले माओवादी अध्यक्ष, उपाध्यक्षत्रय, महामन्त्री र विदेश विभाग प्रमुखलाई संयुक्तरूपमा अध्यक्ष पुष्पकमल दाहाल निवास, नयाँ बजारमा भेटेका थिए। त्यसपछि उनले भट्टराई र दाहालसँग छुट्टाछुट्टै कुराकानी गरेका थिए। स्रोतका अनुसार, शरणले राष्ट्रपति रामवरण यादवलाई पनि दोहोर्‍याएर भेटेका थिए।
सहमतिको साझा उम्मेदवार को हुनसक्छ त भन्ने प्रश्नमा भट्टराईले 'जसले शान्ति र संविधान सुनिश्चित गर्नसक्छ' भन्ने जवाफ दिँदै भनेका छन्, 'त्यस्तो व्यक्ति छानौं। माओवादी पार्टीभित्रैबाट हुनुपर्छ भन्ने हाम्रो भनाइ हो। त्यो भएर सबै विकल्पमा हामी खुला छौं भन्ने पार्टीको धारणा हो।'

Saturday, August 7, 2010

अकस्मात आएर सुटुक्क फर्किए शरण

भारतीय प्रधानमन्त्रीका विशेष दूतका रुपमा नेपाल आएका पूर्वविदेश सचिव श्याम शरण दुई दिनसम्म नेपालका सबै उच्चपदस्थ अधिकारीसँग भेटघाट गरी सुटुक्क फर्किएका छन्। शुक्रबार अपरान्ह साँढे तीन बजे उनी जेट एअरबाट दिल्ली उड्नुअघि विमानस्थलमा प्रतिक्षारत मिडियाकर्मीलाई प्रश्न सोध्ने मौकासमेत नदिई विशिष्ट कक्षबाट अघि बढेका थिए।
'नो कमेन्ट' उनले कतैपट्टि नहेरी उनले दुई शब्द बोले।
राजदूत राकेश सूदसँगै गाडिमा आएका श्याम शरणले विशिष्ट कक्षभन्दा केही वरै गाडि रोकेका थिए। उनीहरू क्यामेरालाई छल्न विशिष्ट कक्षतर्फ नगई अन्यत्रै मोडिएका थिए। त्यो देखेर सुरक्षाकर्मी पनि अलमलिएका थिए। पछि, विमानस्थलका सुरक्षाकर्मीले नै विशिष्ट कक्षतर्फ लाग्न इशारा गरे।
बुधबार अपरान्ह काठमाडौं उत्रिएलगत्तै श्यामशरणले आफू प्रधानमन्त्री मनमोहन सिंहको मेलमिलापको सन्देश लिएर आएको बताएका थिए। तर, उनले भनाईमा भ्रमणलाई औपचारिक रूप दिए पनि व्यवहारमा भने त्यो कतै देखिएन।
राष्ट्रपति रामवरण यादवदेखि प्रधानमन्त्री माधवकुमार नेपालसम्मका भेटमा औपचारिकता कहिँ देखिएन। सबै अति गोप्य राखिए। 'दुवै 'शिष्टाचार' भेटमा शिष्टाचार चाँही कहिँ पूरा गरिएन' परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने, 'भेटमा को-को थिए, के छलफल भए भन्ने स्पष्ट हुनुपर्छ।'
यी भ्रमणमा उच्चस्तरको विदेश भ्रमण हुँदा र विदेशी अतिथि आउँदा संपूर्ण व्यवास्था गर्ने परराष्ट्र मन्त्रालय पूरै अछूतो रह्यो। भारतीय दूतावासले सिधै संपर्क गरी भेटघाटको चाँजो मिलाएको थियो। परराष्ट्र अधिकारीहरू राष्ट्रपति/प्रधानमन्त्री कार्यालयहरूबाटै आफूहरूको भूमिका र अस्तित्वलाई खुम्च्याउने काम भएको गुनासो गर्छन्। 'औपचारिकताका लागि भने भेट भएको कुरा बाहिर ल्याउनुपर्थ्यो' ती अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने।
नेपालमा राजदूत बनेका श्यामशरणले प्रमुख दलका शीर्ष नेता र मधेसी मोर्चाका प्रमुखलाई छुट्टा-छुट्टै र सामूहिक भेटे। स्रोतहरूले प्रधान सेनापतिलाई पनि भेटेको दाबी गरे पनि स्वतन्त्र पुष्टि कसैले गरेका छैनन्। न यस्ता दाबीका खण्डन कतैबाट भएको छ।अन्य भारतीय अधिकारीहरूले जस्तै स्वदेश फर्किन' अघि उनले पनि शुक्रबार विहान पशुपती मन्दिर दर्शन गरे। पुजारीसँग भलाकुसरी गरे। तर, त्यसपछि अरुले जस्तो उनले पत्रकार भ्रमणबारे पत्रकार सम्मेलन गरेनन्। कतिबेला फर्किने भन्ने समेत औपचारिक जानकारी नदिई सुटुक्क स्वदेश फिरे।

Monday, August 2, 2010

आज प्रधान मन्त्री चुनिने सम्भावना अत्यन्त कम : कङ्ग्रेस नेता खड्का

आज ४ बजे हुने भनिएको प्रधान मन्त्रीको चुनाव प्रक्रिया अझै सुरु हुन सकेको छैन। दलहरुबीच बैठक चलिरहेकाले यो प्रक्रिया सुरु हुन नसकेको हो। यही कारण कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बस्न सकेको छैन। जसले प्रधान मन्त्री निर्वाचनको कार्यतालिका तय गर्ने काम गर्छ।
यसैबीच आजको निर्वाचनमा प्रधान मन्त्री चुनिने सम्भावना अत्यन्त कम रहेको दाबी कङ्ग्रेस नेता पूर्णबहादुर खड्काले गरेका छन्। उनले सञ्चारकर्मीसँगको कुराकानीमा एमालेले समर्थन गरेमात्र कङ्ग्रेसका उम्मेद्‍वार रामचन्द्र पौडेल प्रधान मन्त्री चुनिने पनि बताए।दलहरु सहमतिको प्रक्रियामा नआएसम्म अहिलेकै जस्तो चुनाव दोहार्‍याइरहनुको विकल्प नभएको पनि उनले गरे। यसैबीच संसदमा ५ सिट रहेको नेमकिपाले माओवादीलाई समर्थन गर्ने जनाएको छ। आफ्नो दलले अघि सारेका मागबारे माओवादी प्रतिबद्ध भएकाले उसलाई समर्थन गर्ने निर्णय गरिएको उसले जनाएको छ।

Sunday, August 1, 2010

कङ्ग्रेसले आजै संयुक्त मधेशी मोर्चालाई जवाफ दिने

नेपाली काग्रेसले लोकतान्त्रिक संयुक्त मधेशी मोर्चाले अघि सारेको आधारपत्रको लिखित जवाफ दिने भएको छ। मोर्चालाई लिखित जवाफ दिन अहिले पार्टी कार्यवाहक सभापति शुशिल कोइराला निवास, महाराजगंजमा बसिरहेको छ। बैठकले मोर्चालाई आजै पार्टीको लिखित अवधारण दिने एक नेताले बताए।
बैठकमा काठमाडौमा उपलब्ध पदाधिकारी र केन्द्रिय सदस्यहरूको सहभागिता छ। पार्टीको क्षेत्रीय अधिवेशनका क्रममा अधिंकाश नेताहरू आआफ्नो जिल्लामा भएकोले सिमित सदस्यहरूको उपस्थितिमा काग्रेसले बैठक गर्देछ।माओवादीले हिजो मोर्चालाई पार्टीको अवधारणा पेश गरेको थियो। माओवादी अवधारणा माथी छलफल गर्न आज १ बजे मोर्चाको बैठक बस्ने पूर्वनिर्धारित कार्यक्रम छ। मधेशवादी नेताहरू माओवादी र काग्रेस दुबै पार्टीको लिखित अवधारणा प्राप्त गरेपछि छलफल गरेर निचोडमा पुग्ने बताउँछन्। साउन ९ मा भएको वार्तामा मधेशी मोर्चाले काग्रेस र माओवादी दुबै पार्टीलाई आफ्नो अवधारणा अधि सारेर त्यस माथी लिखित धारणा दिन आग्रह गरेको थियो।मोर्चाको अवधारणमा माथि साउन १० मा बसेको काग्रेसको बैठकले पार्टीको संस्थागत निर्णय दिन नसक्ने निचोड निकालेको थियो। मोर्चाले अघि सारेका विषयहरू गंभिर छलफल आवश्यक भएको औल्याउँदै काग्रेसले केन्द्रिय समितिको बैठकबाट निर्णय लिने निर्णय त्यसबेला गरेको थियो।मोर्चाले अघि सारेका आत्म निर्णयको अधिकार र राज्य पुर्नसंरचना आयोग नबनाउने सर्तमा काग्रेस सकारात्मक हुन नसक्ने निचोडमा पुगेर काग्रेस लिखित अवधारणको विपक्षमा उभिदै आएको हो। मधेशी मोर्चाको अवधारणा माओवादीसँग सहमति गर्न सजिलो हुने खालको भएको विश्लेषण गर्द काग्रेस पन्छिएको भए पनि अहिले आएर मोर्चाकै आग्रहमा काग्रेस लिखित अवधारण दिन तयार भएको हो।
माओवादी नेतृत्वमा सरकार बन्नका लागि मधेशी मोर्चा निर्णायक शक्तिको बनेको अवस्था छ भने काग्रेसका निम्ति मोचाका साथ साथै एमालेको समर्थन अत्यावश्यक हुन्छ।
मधेशवादी मोर्चासँग वार्ता गर्न काग्रेसले डा. शेखर कोइराला, महामन्त्री विमलेन्द्र निधी, केन्द्रिय सदस्य खुमबहादुर खडका र पार्टी प्रवक्ता अर्जुन नसिंङ के.सी.लाई जिम्मेवारी तोकेको छ।