Wednesday, August 25, 2010

कोइराला र देउवा प्यानल जोडघटाउमा व्यस्त

सभापतिका दाबेदार कार्यवाहक सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा महाविधेशनका लागि प्यानलको जोडघटाउमा व्यस्त हुन थालेका छन्।
महाधिवेशन आउन तीन सातामात्रै बाँकी रहँदा आफ्ना 'किचेन क्याबिनेट'मा दुवै नेता प्यानलमा क-कसलाई समावेश गर्दा, नाफा/घाटा केकति हुन्छ भन्ने जोडघटाउमा जुटेका हुन्।
सभापतिसहित एक महामन्त्री, कोषाध्यक्ष र खुलातर्फ २५ केन्द्रीय सदस्य निर्वाचनमार्फत चयन हुने नयाँ व्यवस्थाले आफ्नो प्यानलमा कसलाई, कुन पदमा निर्वाचनमा प्रतिस्पर्धा गराउने भन्ने कसरतमा दुवै नेता छन्। सभापतिपछिको महत्वपूर्ण र प्रभावशाली पद भएकाले पनि महामन्त्रीमा धेरै आकांक्षी देखिएका छन्।
महामन्त्रीमा धेरै नेताले उम्मेदवारी दिने भएपछि कोइराला प्यालन नबनाउने योजनामा पुगेका थिए। तर उनका केही सहयोगीले सभापति, महामन्त्री र कोषाध्यक्षको मात्रै भए पनि प्यानल बनाउन दबाब दिएपछि कोइराला कसलाई आफ्नो प्यानलमा महामन्त्रीमा उठाउने भन्ने संकटमा छन्। कोइरालाको प्यानलबाट महामन्त्रीमा उपसभापति प्रकाशमान सिह, सहमहामन्त्री अर्जुननरसिह केसी, केन्द्रीय सदस्यहरू रामशरण महत र सुजाता कोइरालाले महामन्त्री दाबी गर्दै आएका छन्। चार आकांक्षीमध्ये एकजनालाई च्यापेर महामन्त्रीमा प्रतिस्पर्धा गराउँदा अन्य नेता चिढिने भएकाले पनि कोइरालालाई प्यालन बनाउन कठिन भएको हो। काठमाडौँ कांग्रेसको निर्वाचनमा आफ्ना उम्मेदवारलाई सहयोग नगरेको भन्दै उपसभापति सिंह यसअघि नै कोइरालासँग रुष्ठ छन्।
सभापतिका अर्को दाबेदार देउवा भने वर्तमान महामन्त्री विमलेन्द्र निधिलाई महामन्त्रीमा लडाउने योजनामा छन्। केन्द्रीय सदस्य खुमबहादुर खड्काले पनि महामन्त्रीमा उम्मेदवारी दिने नजिकका नेतासँग बताएका छन् तर उनले औपचारिक घोषणा भने गरेका छैनन्। पछिल्लो समय देउवानिकट खड्का देउवाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिने वा केन्द्रीय सदस्यमा मात्रै प्रतिस्पर्धा गरी महामन्त्रीमा मनोनीत हुनेभन्ने निर्णयमा पुगिनसकेको बताइएको छ।
देउवाले भने पदाधिकारी र सदस्यहरूमा प्यानलै बनाएर प्रतिस्पर्धा गर्ने तयारी गरेको उनी निकट नेताहरूले बताएका छन्। कोषाध्यक्षमा भने पूर्व उपसभामुख तथा केन्द्रीय सदस्य चित्रलेखा यादवको उम्मेदवारी पर्ने भएको छ। देउवानिकट यादवलाई कोइरालाको समर्थन जुटाउने छलफल सुरु भएको छ। केन्द्रीय पदाधिकारीमा एकजना महिला हुनुपर्ने विधान व्यवस्थाले पनि यादवको नाम सर्वसम्मत हुने संकेत छ।
एक वर्षअघिको संसदीय दलको निर्वाचनदेखि देउवासँग टाढिएका केही केन्द्रीय सदस्य फेरि नजिक भएका छन्। केन्द्रीय सदस्यहरू पूर्णबहादुर खड्का, प्रदीप गिरी, चिरञ्जीवी वाग्ले र बलबहादुर केसी महाधिवेशनको मुखमा देउवासँग नजिक देखिएका हुन्। देउवाले उनीहरूलाई आफ्नो प्यानलमा कसरी समावेश गर्ने भन्ने कसरत सुरु गरेका छन्। नरहरि आचार्यले आफू महामन्त्री र भीमबहादुर तामाङलाई सभापतिमा बिनाछलफल घोषणा गरेपछि खड्का, गिरी र वाग्ले चिढिएका थिए।
बाह्रौँ महाधिवेशनका लागि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नेको संख्या भने एक सय नाघिसकेको छ। वर्तमान केन्द्रीय समितिका सबै सदस्य, सभासद्, जिल्ला र क्षेत्रका धेरै नेताले केन्द्रीय सदस्यको उम्मेदवारी दिने भएपछि संख्या बढ्ने देखिएको हो। कांग्रेसमा पहिलोपटक खुलामा २५ जना, समावेशीतर्फ दलित ५, जनजाति ५, मधेसी ५, मुस्लिम १ र महिला ६ जना केन्द्रीय सदस्य निर्वाचनमार्फत चयन हुनेछन्।केन्द्रीय सदस्यमा एक दर्जन बढी युवाले उम्मेदवारी घोषणा गरेका छन्। गगन थापा, चन्द्र भण्डारी, गुरु घिमिरे, शंकर भण्डारी, गोविन्द भट्टराई, दीपक गिरी, हृदयराम थानी, रामहरि खतिवडालगायतले केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन्।
समावेशी कोटाअन्तर्गतको केन्द्रीय सदस्यमा पनि सबै समूहमा चर्को प्रतिस्पर्धा हुने देखिएको छ। दलित कोटाबाट नेपाल दलित संघका पूर्व महासचिव तथा युवा नेता स्थिरबाबु परियार, मीन विश्वकर्मा र बिजुल विश्वकर्माले उम्मेदवारी घोषणा गरेका छन्।
दलित महिलातर्फ सुजाता परियार र लक्ष्मी परियारले उम्मेदवारी दिने बताएका छन्। जनजाति कोटामा सूर्यमान गुरुङ, इन्द्रबहादुर गुरुङ, गमप्रसाद गुरुङ, धनराज गुरुङ, भीष्म आङदेम्बे, दिलमान पाखि्रनलगायतले उम्मेदवारी दिने बताएका छन्। जनजाति महिलातर्फ भने उषा गुरुङ, सीता गुरुङ, रत्ना शेरचनलगायतले उम्मेदवारी दिँदैछन्।
मधेसीतर्फ महेन्द्र यादव, रामकृष्ण यादव, अजय द्विवेदी, अजय चौरसियालगायत एक दजर्नले उम्मेदवारी दिने बताएका छन्। महिलातर्फ पुष्पा भुषाल, अनिता देवकोटा, अम्बिका बस्नेत, उमा अधिकारी, मीना पाण्डे, महालक्ष्मी (डिना) उपाध्याय, सरिता प्रसार्इं, ईश्वरी न्यौपाने, उर्मिला नेपाललगायतले आकांक्षा राखेका छन्। मुस्लिमतर्फको एक सिटमा भने अब्दुल सतारले उम्मेदवारी दिने भएका छन्।

No comments: