Wednesday, August 11, 2010

उम्मेदवारी फिर्ता हुँदैन: पौडेल

कांग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्री उम्मेदवार रामचन्द्र पौडेलले बहुमतीय प्रणालीबाटै प्रधानमन्त्री चयन हुनुपर्ने बताएका छन्। जारी प्रक्रियाबाट फर्कंदा संवैधानिक शून्यताले थप संकट उत्पन्न हुने उनले तर्क गरेका छन्।
'राष्ट्रपतिले म्याद थप्दा पनि सहमतीय सरकार गठन हुन नसकेपछि बहुमतीय प्रणालीमा प्रवेश भएको हो,' मंगलबार संसदीय दलको कार्यालयमा पौडेलले सञ्चारकर्मीसामु भने, 'संवैधानिक प्रावधानअनुसार सुरु भएको बहुमतीय प्रणालीबाट फर्कंदा संवैधानिक रिक्तताले अर्को समस्या ल्याउँछ, त्यसैले उम्मेदवारी फिर्ता हुँदैन।'एमाले र माओवादीले समेत प्रधानमन्त्रीका दुवै प्रत्यासीले उम्मेदवारी फिर्ता लिई सहमतिका लागि नयाँ शिराबाट छलफल सुरु गर्नुपर्र्ने प्रस्ताव राखेपछि पौडेलले यस्तो टिप्पणी गरेका हुन्। उम्मेदवारी फिर्ताले असहमति बढाउने उनले बताए। 'चालु प्रक्रियालाई सम्पन्न हुन दिनुपर्छ,' पौडेलले भने। पौडेलले सोमबार बिहान माओवादीसँगको बैठकमा दुवैले उम्मेदवारी फिर्ता लिनेबारे छलफल नभएको दाबी गरे। 'माओवादीसँगको बैठकमा उम्मेदवारी फिर्ता लिनेबारे छलफलै भएको थिएन,' पौडेलले भने, 'छलफलै नभएको कुरालाई माओवादी नेताले मिडिया प्रोपोगान्डा गरे। 'माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सोमबार कांग्रेससँगको बैठकपछि दुवैले उम्मेदवारी फिर्ता लिई सहमतिको पहल गर्न सकिने प्रस्ताव आफूहरूले राखेको बताएका थिए। पौडेलले १२ बुँदेदेखि नै कांग्रेसले शान्तिप्रक्रियाको नेतृत्व गरेकाले यसको तार्किक अन्त्य पनि यसकै नेतृत्वमा मात्रै हुने बताए। 'शान्तिप्रक्रियाको नेतृत्व कांग्रेसले गरेको हो, अहिले पनि माओवादीप्रति अन्य दल विश्वस्त छैनन्, उनले भने, 'त्यसैले सबैले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्छ।' आफू प्रधानमन्त्री चुनिए राष्ट्रिय सहमतिको प्रयास गर्ने उनले बताए। पौडेलले माधवकुमार नेपाल सरकार गठनअघिको लोकतान्त्रिक गठनबन्धनअन्तर्गत कांग्रेस नेतृत्वको सरकार बनाउन समर्थन गर्न सबै दलसँग आग्रह पनि गरे।

No comments: