Saturday, August 7, 2010

अकस्मात आएर सुटुक्क फर्किए शरण

भारतीय प्रधानमन्त्रीका विशेष दूतका रुपमा नेपाल आएका पूर्वविदेश सचिव श्याम शरण दुई दिनसम्म नेपालका सबै उच्चपदस्थ अधिकारीसँग भेटघाट गरी सुटुक्क फर्किएका छन्। शुक्रबार अपरान्ह साँढे तीन बजे उनी जेट एअरबाट दिल्ली उड्नुअघि विमानस्थलमा प्रतिक्षारत मिडियाकर्मीलाई प्रश्न सोध्ने मौकासमेत नदिई विशिष्ट कक्षबाट अघि बढेका थिए।
'नो कमेन्ट' उनले कतैपट्टि नहेरी उनले दुई शब्द बोले।
राजदूत राकेश सूदसँगै गाडिमा आएका श्याम शरणले विशिष्ट कक्षभन्दा केही वरै गाडि रोकेका थिए। उनीहरू क्यामेरालाई छल्न विशिष्ट कक्षतर्फ नगई अन्यत्रै मोडिएका थिए। त्यो देखेर सुरक्षाकर्मी पनि अलमलिएका थिए। पछि, विमानस्थलका सुरक्षाकर्मीले नै विशिष्ट कक्षतर्फ लाग्न इशारा गरे।
बुधबार अपरान्ह काठमाडौं उत्रिएलगत्तै श्यामशरणले आफू प्रधानमन्त्री मनमोहन सिंहको मेलमिलापको सन्देश लिएर आएको बताएका थिए। तर, उनले भनाईमा भ्रमणलाई औपचारिक रूप दिए पनि व्यवहारमा भने त्यो कतै देखिएन।
राष्ट्रपति रामवरण यादवदेखि प्रधानमन्त्री माधवकुमार नेपालसम्मका भेटमा औपचारिकता कहिँ देखिएन। सबै अति गोप्य राखिए। 'दुवै 'शिष्टाचार' भेटमा शिष्टाचार चाँही कहिँ पूरा गरिएन' परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने, 'भेटमा को-को थिए, के छलफल भए भन्ने स्पष्ट हुनुपर्छ।'
यी भ्रमणमा उच्चस्तरको विदेश भ्रमण हुँदा र विदेशी अतिथि आउँदा संपूर्ण व्यवास्था गर्ने परराष्ट्र मन्त्रालय पूरै अछूतो रह्यो। भारतीय दूतावासले सिधै संपर्क गरी भेटघाटको चाँजो मिलाएको थियो। परराष्ट्र अधिकारीहरू राष्ट्रपति/प्रधानमन्त्री कार्यालयहरूबाटै आफूहरूको भूमिका र अस्तित्वलाई खुम्च्याउने काम भएको गुनासो गर्छन्। 'औपचारिकताका लागि भने भेट भएको कुरा बाहिर ल्याउनुपर्थ्यो' ती अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने।
नेपालमा राजदूत बनेका श्यामशरणले प्रमुख दलका शीर्ष नेता र मधेसी मोर्चाका प्रमुखलाई छुट्टा-छुट्टै र सामूहिक भेटे। स्रोतहरूले प्रधान सेनापतिलाई पनि भेटेको दाबी गरे पनि स्वतन्त्र पुष्टि कसैले गरेका छैनन्। न यस्ता दाबीका खण्डन कतैबाट भएको छ।अन्य भारतीय अधिकारीहरूले जस्तै स्वदेश फर्किन' अघि उनले पनि शुक्रबार विहान पशुपती मन्दिर दर्शन गरे। पुजारीसँग भलाकुसरी गरे। तर, त्यसपछि अरुले जस्तो उनले पत्रकार भ्रमणबारे पत्रकार सम्मेलन गरेनन्। कतिबेला फर्किने भन्ने समेत औपचारिक जानकारी नदिई सुटुक्क स्वदेश फिरे।

No comments: