Thursday, September 30, 2010

एसपीलाई घुस दिनखोज्ने जनमोर्चा नेता पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश खरेललाई घुस दिन उनकै कार्यालय पुगेका जनमोर्चा नेपालका केन्द्रीय कोषाध्यक्ष कृष्णबहादुर जर्ती र उनका सहयोगी सुनिलकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। जर्तीले २५ हजार रुपैयाँ खाममा हालेर घुस दिएपछि एसपी खरेलले दुवैलाई थुनुवा कोठामा पठाएका थिए।
प्रहरी जवान बनाइदिने भन्दै तीन व्यक्ति हरिकृष्ण कोइराला, गणेश भण्डारी र सुनिल दनुवारसँग जर्तीले रकम उठाएको जानकारी पाएपछि प्रहरीले उनीहरुलाई खोजि गरेको थियो। मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा प्रहरी जवानको खुला प्रतियोगितामा उनीहरुले आवेदन दिएका थिए।
प्रहरी जवान बनाउन सिफारिश गर्न हनुमानढोका पुगेका पुगेका जर्तीले खाममा हालेर एसपी खरेललाई खाममा हालेर २५ हजार दिएपछि खरेलले दुवैलाई नियन्त्रणमा लिएर थुनुवा कोठामा पठाएका थिए।

Wednesday, September 22, 2010

कोइराला सभापति निर्वाचित

काठमाडौं, - नेपाली काँग्रेसको १२ औँ महाधिवेशनले वर्तमान कार्यवाहक सभापति सुशील कोइरालालाई सभापति पदमा निर्वाचित गरेको छ। कोइरालाले १६५२ मत ल्याएका छन्, जुन पार्टी विधान अनुसार निर्वाचित हुन आवश्यक कूल मतको ५०% भन्दा बढी हो। उनका निकट प्रतिद्वन्द्वी शेरबहादुर देउवाले १३१७ मत मात्रै ल्याए। सभापति पदका अर्का दावेदार पुराना तथा त्यागी नेता भीमबहादुर तामाङले भने मत स‍ं‍ख्यामा दोहोरो अंक पनि कटाउन सकेनन्। उनले ७८ मत मात्रै ल्याए।कूल मतदाता संख्या ३ हजार ८० भएकोमा ३ हजार ६४ मत मात्रै खसेको थियो। १५ मत बदर र २ मत खाली रहेको जानकारी निर्वाचन समितिका मुख्य संयोजक राधेश्याम अधिकारीले बताए।
कोइरालाको पक्षमा कार्यकर्ताहरुले मतगणना स्थल प्रज्ञा भवनमा चर्को नाराबाजी गरे पनि उनी विजयको खुसी साट्न त्यहाँ उपस्थित भएनन्। निमोनियाको कारण उनी निवास मै आराम गरिरहेको र उनको तर्फबाट सन्देश ल्याएको भन्दै संसदीय दलका नेतासमेत रहेका रामचन्द्र पौडलले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिए।
'निष्ठाको राजनीतिको सम्मान भएको छ', पौडेलले भने- 'हार र जीत महत्त्वपूर्ण हैन। शेरबहादुरजीको पनि पार्टीमा उत्तिकै योगदान छ। केही दिनमा नै उहाँहरुले यो परिणाम बिर्सनु हुनेछ र पार्टी एक ढिक्का भएर अघि बढ्नेछ।'पौडेलले शान्ति र एकताको सन्देश १२ औँ महाधिवेशनले दिएको जिकिर गर्दै स्वर्गीय गिरिजाप्रसाद कोइरालाको लोकतन्त्र र शान्तिको अभियानलाई पूरा गर्न काँग्रेस एकजुट भएर अघि बढ्ने बताए।
राति ८ बजे सुरु हुने भनिएको कांग्रेस निर्वाचन अन्तर्गत सभापति पदको मतगणना आचारसंहितामाथिको छलफलमा लम्बिएपछि साढे ११ बजे बल्ल सुरु भएको थियो। मत परिणाम सुन्न प्रतीक्षारत सयौं कार्यकर्ताले मतगणनास्थल प्रज्ञाभवन कमलादी अगाडि नाराबाजी गरेका थिए। देउवा पक्षधर कार्यकर्ताहरुको चर्को नाराबाजी अनौपचारिक मतपरिणाममा कोइरालाको अग्रता कायम हुँदै गरेको खबर सार्वजनिक हुन थालेपछि मत्थर भएको थियो। एक भोटको अन्तरबाट सुरु भएको अनौपचारिक मतपरिणाम सार्वजनिक हुने क्रम अन्त्यसम्म आइपुग्दा तीन सय नाघिसकेको थियो।
महाधिवेशनको पाँचौं दिन सभापतिसहित पार्टीको ६४ केन्द्रीय कार्यकारिणी पदाधिकारी तथा सदस्यका लागि चुनाव सम्पन्न भएको थियो। तर निर्वाचन समितिको निर्णय अनुसार पहिलो चरणमा सभापति पदको मतगणना भएको हो। बाँकी मतपत्र पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ। बुधबारदेखि अरु पदको मतगणना सुरु हुनेछ।

Monday, September 20, 2010

'नेपाली पोसाक' मा नयाँ व्यवस्था

सरकारले लवेदा, सुरुवाल, कोट र चोलो-सारीलाई 'नेपाली पोसाक' को मान्यता दिएको छ। लोकतन्त्र आएपछि पहिलो पटक नेपाली पोसाक तोकिएको हो। लोकतन्त्रअघि पुरुषलाई दौरा, सुरुवाल, कोट र टोपी, महिलालाई चौबन्दी चोलो र फरिया 'राष्ट्रिय पोसाक' थियो। नेपाल राजपत्रमा 'राष्ट्रिय पोसाक' नभनी 'नेपाली पोसाक' नाम दिइएको छ।
'नेपाली पोसाक भन्नाले नेपाली नागरिकले साविकमा लगाउँदै आइरहेको महिलाका निमित्त जुनसुकै शैलीको चोलो, सारी र जुत्तासहितको पोसाक र पुरुषका निमित्त लवेदा, सुरुवाल, कोट र टोपीसहितको पोसाक सम्झनुपर्छ,' राजपत्रमा भनिएको छ।
निजामती कर्मचारी, सेना र प्रहरीलाई औपचारिक समारोहका निम्ति पोसाक तोकिएको गृहसचिव गोविन्द कुसुमले बताए।
'मन्त्रिपरिषद्ले भदौ पहिलो साता गरेको निर्णय हो,' उनले भने। एकीकृत माओवादी, मधेसवादी र जनजातिले नेपाली भाषा र दौरा सुरुवाललाई 'महेन्द्रवादी एउटै भाषा, एकै भेष' को नीति भनी विरोध गरेपछि सरकारले राष्ट्रिय पोसाक तोकेको थिएन।प्रधानमन्त्रीको सपथग्रहणमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले सर्ट, प्यान्ट, टाई र कालो टोपी लगाएपछि मन्त्रालयका सचिव, सहसचिवले समेत दौरा-सुरुवाल छाडेका थिए।नेपाली पोसाकमा भादगाउँले कालो टोपीलाई समेटिएको छ। 'ग्रे/कालो कोटसहितको औपचारिक पोसाकमा साविकबमोजिम नै चोलो, सारी/ लवेदा, सुरुवाल (सेतो) र टोपी (भादगाउँले) कालो रंगको हुनेछ,' राजपत्रमा छ। औपचारिक नेपाली पोसाकमा छालाको कालो जुत्ता तोकिएको छ।
संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार दौरा-सुरुवाल र चोलो-फरिया छ सय वर्षअघिको मल्लकालभन्दा पुरानो पोसाक हो। 'प्रविधि नभएकाले त्यसबेलाको फोटो त पाइँदैन', जोशीले भने, 'पाटनको बालकुमारी, चाँगुनारायण, पशुपतिनाथ र गुहेश्वरी, तीनधारा पाठशालाको शिव मन्दिरमा रहेका ढुंगाको मूर्तिमा दौरा-सुरुवालै लगाएको देखिन्छ।' मल्लकालीन डिजाइन अहिलेभन्दा फरक रहेको जोशीले बताए।
राजपत्रमा निजामती, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पदाधिकारीका लागि औपचारिक समारोहमा सहभागी हुन छुट्टाछुट्टै पोसाक तोकिएको छ। राष्ट्रपतिलाई मानपदवी दिने समारोहमा सहभागी हुन निजामती कर्मचारीलाई 'आआफ्नो पद अनुसार ग्रे/कालोकोटको औपचारिक पोसाकमा पट्टासहित मानपद्वी सबै र अलंकार पदकहरू' सहित उपस्थित हुन तोकिएको छ। सेना, प्रहरीका व्यक्तिहरूले 'ट्युनिक, एक्युलेट, ग्याठ बुट, मानपद्वी २, अलंकार र पदक' पहिरिनुपर्नेछ, परेडमा भाग लिनेले भने खड्गसहित सहभागी हुनुपर्नेछ।
राष्ट्रपतिबाट संसद् अधिवेशनलाई संबोधन हुने, प्रधानमन्त्रीलाई मानपदवी प्रदान हुने, विदेशी राष्ट्रका विशिष्ट व्यक्तिलाई मानपद्वी प्रदान हुने, अन्य विभुषण सुशोभन समारोह, प्रहरी र सशस्त्र प्रहरी दिवश समारोहमा सहभागी हुन निजामति कर्मचारीले 'ग्रे कोट/कालो कोटसहितको औपचारिक पोशाकमा पट्टासहित मानपद्वी र अलंकार पदकहरू' लगाउनुपर्नेछ। सेना, प्रहरीका व्यक्तिहरूले 'ट्युनिक, एक्युलेट, ग्याठ बुट, मानपद्वी २, अलंकार र पदक' पनि पहिरिनुपर्नेछ, परेडमा भाग लिनेले भने खड्गसहित सहभागी हुनुपर्नेछ। राष्ट्रपति सहभागी हुने इन्द्रजात्रा समारोहमा पनि उक्त विभुषण र पोशाक लगाउनुपर्नेछ।संसद्को रात्रीभोज, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आयोजित रात्रीभोजमा सहभागी हुन निजामती कर्मचारीले कालोकोटसहितको औपचारिक पोशाकमा स्वल्पकारहरू तोकिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरीले कालोकोटसहितको औपचारिक पोशकमा ट्युनिक/सेरोमोनियल एक्युलेट, ग्याठबुट र तारिका लगाउन तोकिएको छ।
लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्र र सहिद दिवस समारोहमा निजामती कर्मचारीले ग्रे/कालोकोटसहितको औपचारिक पोसाकमा तारिका लगाउनुपर्ने छ। सेना र प्रहरीले उक्त पोशाकमा ट्युनिक, एक्युलेट, रिबन, ग्याठबुट पनि लगाउनुपर्नेछ।

उपराष्ट्रपतिका स्वकीय सचिवलाई पाँच दिन थुन्न अदालतको अनुमति

उपराष्ट्रपति परमान्द झाका स्वकिय सहसचिव राजेश अहिराजलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ। राज्यविरुद्ध अपराध गरेको अभियोग लगाउँदै महानगरीय प्रहरी परिसर काठमाडौंले अहिराजलाई हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार अदालतमा पेश गरेको थियो।
प्रहरीले १० दिन थुन्न माग गरेकोमा अदालतले अनुसन्धानका लागि पाँच दिन मात्र थुनामा राख्न अनुमति दिएको हो। अहिराज शुक्रबार अनामनगरस्थित मधेस मिडियाको कार्यालयबाट पक्राउ परेका थिए। उनी सम्पादक रहेको मधेसवाणि पत्रिकाले तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्तिमोर्चा राजन समूहको सैन्य भर्नासम्बन्धी विज्ञापन प्रकाशित गरेपछि प्रहरीले पक्राउ गरेको थियो। अहिराज दुई महिनाअघि उपराष्ट्रपति परमानन्द झाका स्वकीय सचिव नियुक्त भएका थिए।

Saturday, September 18, 2010

माओवादी हतियार त्याग, म अहिले नै उम्मेद्‍वारी फिर्ता लिन्छु : पौडेल

कङ्ग्रेस नेता रामचन्द्र पौडेलले माओवादी अध्यक्ष पुष्पकमल दाहालले हतियारको राजनीति त्यागेको बताउँदासाथ आफूले प्रधान मन्त्रीको उम्मेद्‍वारी फिर्ता लिने घोषणा गरेका छन्।
'तपाईं हतियारको राजनीति छाडेको घोषणा गर्नूस्, म तत्कालै उम्म्द्‍वारी फिर्ता लिन्छु'- त्यहीँ उपस्थित दाहालसँग उनले आग्रह गरे।उनले प्रजातन्त्रमा कहीँ पनि सम्झौतामा सरकार नबन्ने बताए र भने- माओवादी अध्यक्ष दाहालले गिरिजाप्रसादको निधनपछि यही मञ्चबाट अब शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउने जिम्मा आफ्नो काँधमा आएको बताएका थिए, तर अहिले ख्वै घोषणाअनुसार काम गरेको ?उनले एमाले र माओवादीबीच आजै भएको सम्झौताप्रति कटाक्ष गर्दै भने- अब हेरौं, कसरी सहमति हुन्छ, कसरी सरकार बन्छ अघि बढ्छ ? अनि कसरी र कहिलेसम्म टिक्छ ? यी सबैको परीक्षा गर्नु छ ।
उनले अब हलो अड्काएर गोरु चुट्ने काम बन्द गर्नुपर्ने बताउँदै पासो थाप्ने कार्य तत्काल रोक्नुपर्ने धारणा पनि अघि सारे।त्यसैगरी कङ्ग्रेस नेता शेरबहादुर देउवाले कङ्ग्रेस संविधानसभामा दोस्रो पार्टी भए पनि अब यसलाई सबैभन्दा ठूलो बनाएर देखाउने दाबी गरे। उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूहरुलाई शान्ति प्रक्रियामा कसैले डोर्‍याएर ल्याएको हैन भनेकोप्रति उनको जवाफ थियो- हामीले घिसारेर ल्याएको भनेको छैन। उनी आएका त हुन नि !देउवाले सधै‌का ठूला र परिवर्तनका लागि भएका आन्दोलनको नेतृत्व कङ्ग्रेसले नै गर्दै आएको पनि बताए । यस्ता कामका लागि सधैं अगुवाइ गर्ने भनाइ पनि उनको थियो।
यसैगरी अर्का नेता सुशील कोइरालाले अहिले मुलुकको समस्या निकासका लागि बल माओवादीको कोर्टमा रहेकाले उनीहरु नै यसका लागि लागिपर्नुपर्ने बताए । उनले कङ्ग्रेसले स्वतन्त्रताका लागि कसैसँग कुनै सम्झौता नगर्ने पनि बताए।पार्टीलाई सवल र सक्षम ढङ्गले अघि बढाउनुपर्ने बताउँदै कोइरालाले नेपालको भलो भएमात्र सबैको भलो हुने धारणा व्यक्त गरे।

Tuesday, September 7, 2010

प्रधानमन्त्री चुनावमा नआउने माओवादी सभासद्‍सँग स्पष्टीकरण

काठमाडौं, प्रधान मन्त्री निर्वाचनमा सहभागी नहुने एकीकृत माओवादीका सभासद्लाई पार्टीले स्पष्टीकरण सोधेको छ। संसदीय दलको बैठकले उनीहरूलाई मङ्गलबार उपस्थिति हुन ह्वीप जारीसमेत गरेको छ। माओवादी संसदीय दलले जानकारी गराएअनुसार आइतबार छैटौं चरणको चुनावमा १० जना सभासद् अनुपस्थित थिए। संसदीय दलको सोमबार दिउसो बसेको बैठकमा उनीहरूलाई स्पष्टीकरण लिइएको हो।
आइतबार अनुपस्थित हुने सभासद्‍मा हिसिला यमी, आङदावा शेर्पा, चुनबहादुर थामी, तारानारयण श्रेष्ठ, दुर्गा कुमार विक, लीलादेवी मेहता, विश्वदीप लिङ्देन, सत्य पहारी, हेमबहादुर श्रेष्ठ र मणि खम्बू छन्।
आइतबारको बैठकमा खम्बू उपस्थित भएर पनि मतदान नगरेको पार्टीले बताएको छ। दुर्गाकुमारी विक र लीलादेवी मेहता पाँचौ चरणको चुनावमा समेत सहभागी नभएको पार्टीले बताएको छ। संसदीय दलको बैठकले मङ्गलबार हुने चुनावमा साँढे २ बजे संविधानसभा भवन नयाँ बानेश्वरमा अनिवार्य उपस्थित हुन सभासद्लाई ह्विप जारी गरेको छ।