Tuesday, June 30, 2009

नेपालमा पनि स्वाइन फ्लु पाईयो !

काठमाडौं, असार १६- दुई सय ५० भन्दा धेरैको ज्यान लिएको स्वाइन फ्लु नेपालमा पहिलोपटक भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अमेरिका बसाईबाट फर्केका नेपाली बाबु - आमा र तिनका सन्तानमा स्वाइन फ्लु भेटिएको हो।
स्वाइन फ्लु भेटिएका नेपाली महिलाको उमेर ३८ र पुरुषको उमेर ४० वर्ष छ। लामो समयदेखि अमेरिकाको भर्जिनियामा कामदार भिसामा रहँदै आएका उनीहरु असार असार ७ गते दोहा हुँदै नेपाल प्रवेश गरेका थिए। विमानस्थलमा रहेको हेल्थ डेस्कमा तत्काल जाँच गर्दा रोग नदेखिएको र कुनै लक्षण देखापरेमा सम्पर्क राख्न दिइएको जानकारीका आधारमा बालकमा ज्वरो र घाँटी दुख्ने समस्यापछि उनीहरु ९ गते टेकु अस्पताल पुगेका थिए। गत अप्रिल २९ देखि नै सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थडेस्क राखेर स्वाइन फ्लु देखा परेका देशबाट आएका मानिसको स्वास्थ्य परीक्षण सुरु गरेको थियो।
आठ वर्षे ती बालकमा असार १० गते गरिएको प्रथम परीक्षणबाट एचवानएनवान पोजेटिभ भेटिएको थियो। बालकमा पोजेटिभ देखिएपछि सँगै आएका बाबुआमा र भाइलाई बोलाएर उपचार र परीक्षण गरिएको हो।
१२ गते नमुना लिइएका बाबुआमामा समेत स्वाइन फ्लु भएको १४ असारमा प्रमाणित भएको हो। टेकुस्थित राष्ट्रिय प्रयोगशालाले प्रतिवेदन गोप्य राख्दै थप दुईपटक परीक्षण गरेको थियो। विभाग उच्चस्रोतका अनुसार एउटै परिवारका सदस्य भएको र घरैमा बस्न चाहेकाले उनीहरुलाई विशेष निगरानीमा राखिएको छ। उनीहरु हालै काठमाडौंमा नै बसिरहेका छन्।

Friday, June 26, 2009

माइकल ज्याक्सन रहेनन्

काठमाडौँ, असार १२ (एजेन्सी)- प्रख्यात पप गायक माइकल ज्याक्सनको आज बिहान मृत्यु भएको छ। उनी ५० वर्षका थिए। लस एन्जलसस्थित आफ्नै निवासमा ह्रदयाघात भएका ज्याक्सनलाई अस्पतालमा लग्ने क्रममा मृत्यु भएको थियो। अंग्रेजी पप गायनलाई विश्वभर लोकप्रिय बनाएका कारण उनलाई 'पप सम्राट' पनि भन्ने गरिन्थ्यो। छालाको क्यान्सरसित जुध्दै गरेका ज्याक्सनले अर्को महिना लन्डनमा कन्सर्ट गर्ने तयारी गरिरहेका थिए।

ह्रदयाघात हुनुको कारण सार्वजनिक गरिएको छैन। तर लागू औषधका दुर्व्यसनी ज्याक्सनले बढी मात्रामा औषधि खाँदा ह्रदयाघात भएको हुनसक्ने पश्चिमी सञ्चार माध्यमहरुले बताएका छन्। अहिले जस्तो स्याटेलाइट टेलिभिजनहरुको उपस्थिति बिनै पनि नेपाल जस्तो देशमा समेत असीको दशकमा माइकल ज्याक्सनको प्रभाव गहिरै थियो। नेपाल मात्र हैन, विश्वभर अ‌ग्रेजी पप गीतलाई लोकप्रिय बनाउनमा उनको ठूलो योगदान छ। ज्याक्सन परिवारका सातौँ सन्तानका रुपमा सन् १९५८ मा जन्मिएका माइकल जोसेफ ज्याक्सनले ११ वर्षको कलिलो उमेर मै आफ्नो व्यावसायिक करिअर सुरु गरेका थिए। सुरुमा उनी ज्याक्सन फाइभ ब्यान्डका सदस्य थिए। सन् १९७१ देखि उनले एक्लो सा‌गीतिक यात्रा सुरु गरे जुन निकै सफल हुन पुग्यो। उनका एल्बमहरु विश्व कै बेस्ट सेलिङ हुन पुगे। १३ ग्रायमी अवार्ड र १३ नम्बर वन सि‌गल्स जित्ने उनको कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेका छैनन्। चार दशकसम्म उनी विश्वभरका मिडियामा छाइरहे। पछिल्लो पटक भने विभिन्न स्क्याण्डलमा जोडिएर उनको नाम आउने गर्थे। बाल यौन दुर्व्यवहारको आरोपमा उनीमाथि छानबिन समेत भयो। तर आरोप प्रमाणित हुन सकेन। लस एन्जलसस्थित आफ्नै निवासमा ज्याक्सनलाई ह्रदयाघात भएको थियो।


आपतकालीन उपचारका लागि चिकित्सकहरु स्थानीय समय अनुसार मध्याह्न साढे १२ बजे पुग्दा ज्याक्सनको श्वास रोकिसकेको थियो। युसीएलए मेडिकल सेन्टरतर्फ उनलाई लगिएको थियो। त्यहीँ उनको मृत्यु भयो। स्थानीय समय अनुसार दिउँसो २ बजेर २६ मिनेट जाँदा उनलाई मृत घोषित गरियो। आपराधिक घटनाको कुनै संभावना नदेखिए पनि लस एन्जलस प्रहरीले मृत्युको कारण पत्ता लगाउन अनुसन्धान गर्ने भएको छ। शुक्रबार पोस्टमार्टमपछि मात्रै उनको अन्तिम संस्कारको घोषणा गरिनेछ। विश्वभरका फ्यानहरु अहिले उनको शोक मनाइरहेका छन्।

Tuesday, June 23, 2009

सरकार स्थायी नहुने चेतावनी

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संयुक्त सरकारको परम्परालाई माओवादी नेतृत्वको सरकारले जसरी नै पालना नगरे वर्तमान सरकार पनि स्थायी नहुने चेतावनि दिएका छन् । असार ९ गते राजधानीमा रिपोर्टस क्लबले आयोजना गरेको अन्तक्रिर्या कार्यक्रममा बोल्दै महतोले सम्मानजनक हैसियत नपाए वर्तमान सरकारमा आफ्नो दल सहभागि नहुने पनि उल्लेख गरे । 'सम्मानजनक स्थान नपाए हामी सरकारमा जान्नौ, तर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिदैनौं' महतोले भने ।
कार्यक्रममा सदभावना अध्यक्ष महतोले आफ्नो दलका कारण अन्य मधेशी दल सरकारमा नगएको भने स्विकारेनन् । उनले सरकारमा सहभागिताकै कारण बिभाजित भएकाले मधेशी जनअधिकार फोरम सरकारमा जाने तर आफ्नो दल सम्मानजनक स्थान नपाए बाहिरै बस्ने दोहोर्‍याए ।

Friday, June 19, 2009

मन्त्रिपरिषदले पुराना निर्णय उल्टायो

काठमाडौं, असार - नेपाली सेनाका प्रधानसेनापति रुक्माङ्द कटवाललाई अवकाश दिई बलाध्यक्ष रथी कुलबहादुर खड्कालाई कायममुकायम प्रधान सेनापति दिने पूर्ववर्ति माओवादी नेतृत्वको सरकारको निर्णयलाई मन्त्रिपरिषद्ले खारेज गरेको छ। दोस्रोपटक सरकार बिस्तारपछि बिहीबार बसेको मन्त्रिपरिषद्ले राष्ट्रपति रामवरण यादवको कदम विरुद्ध वैशाख २१ गते पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको निर्णय पनि खारेज गरेको रथी खड्काले छ।
रथी खड्काले शनिबार असार ६ गतेदेखि पदबाट अनिवार्य अवकास पाउँदै छन्।बैठकपछि सञ्चार मन्त्री शंकर पोख्रेलले सरकारको प्रवक्ताको जिम्मेवारी पनि आफूले पाएको बताए। मन्त्रिपरिषद बैठकले मन्त्री पोख्रेललाई सरकारका प्रवक्ता नियुक्ति गरेको हो। गत वैशाख २१ गते दाहाल नेतृत्वको सरकारले राष्ट्रपति राष्ट्रपति यादवबाट वैशाख २० गते मध्यरातमा नेपाली सेनाका अवकाश प्राप्त पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवालका नाममा दिइएको आदेश नेपालको अन्तरिम संविधान २०६३ र सैनिक ऐन २०६३ विपरीत भएको र त्यस्तो आदेश जारी गर्न राष्ट्रपतिलाई कुनै पनि संवैधानिक तथा कानूनी अधिकार नभएकोले उक्त आदेशलाई सरकारले गैरसंवैधानिक र लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको ठहर गर्दछ भन्ने निर्णय गरेको थियो। राष्ट्रपतिको आदेशलाई अविलम्ब फिर्ता लिन दाहाल सरकारले राष्ट्रपतिसमक्ष अनुरोधका साथ पत्राचार गर्ने निर्णय गरेको थियो। बिहीबारको मन्त्रिपरिषद्ले त्यसलाई पनि उल्टाइदिएको छ।यसैगरी तराईमा आन्दोलनरत सशस्त्र संघर्षरत समूहलाई वार्तामा ल्याउन शान्ति मन्त्री रकम चेम्जोङलाई वार्ताको नेतृत्व गर्ने जिम्मेवारी पनि बैठकले दिएको छ।

Tuesday, June 16, 2009

सदनमा माओवादी अवरोध कायमै

प्रधान सेनापतिबारे राष्ट्रपतिको कदमको विरुद्धमा एनेकपा माओवादीद्वारा विगत पाँच हप्तादेखि अवरुद्ध व्यवस्थापिका संसदको वैठक अझै संचालन हुन सकेको छैन ।
एनेकपा माओवादीले जेठ ३१ गते पनि व्यवस्थापिका संसदको वैठक चल्न दिएन । काठमाडौं नयाँ बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा वैठक शुरु हुनासाथ माओवादी सभासदहरुले नाराबाजी गरेपछि वैठक असार २ गतेसम्मलाई स्थगित भएको छ । माओवादीले राष्ट्रपतिको विरुद्धमा दर्ता भएको संकल्प प्रस्ताव संसदमा बहसमा ल्याउनु पर्ने लगायतका माग राखेर संसद अवरुद्ध पार्दै आएको छ ।

Friday, June 12, 2009

नेपाली कांग्रेसकी नेतृ शैलजा आचार्यको निधन

काठमाडौं, जेठ - नेपाली कांग्रेसकी नेतृ शैलजा आचार्यको ६५ बर्षको उमेरमा शुक्रबार बिहान ४:२५ मा उपचारका क्रममा त्रि बि शिक्षण अस्पतालमा निधन भएको छ। उनी लामो समयदेखि अल्जाइमर्स र निमोनियादबाट पीडित थिइन्।घरमै बसेर स्वास्थ्य लाभ गरिरहेकी आचार्यले असजिलो महसुस गरेपछि बुधबार उनलाई अस्पताल पुर्‍याइएको थियो। नेतृ आचार्यको शव अन्तिम श्रद्धान्जलिका लागि विहान ९ बजेदेखि १२ बजेसम्म कांग्रेस पार्टी कार्यालय सानेपामा राखिने छ । त्यसपछि साँढे १२ बजे पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिने छ । आचार्य नेपालको पहिलो महिला उपप्रधनमन्त्री हुन्। वि.सं. २०१७ सालमा राजालाई कालो झण्डा देखाएकाले ३ वर्ष जेल बिताउने आचार्य वि.सं. २०४८ सालकोआमनिर्वाचनमा मोरङ जिल्ला क्षेत्र नं. ५ बाट प्रतिनिधिसभामा निर्वाचित भईकरीब १ वर्ष कृषि वन तथा भू-संरक्षण मन्त्री रहिन्।
गिरिजाप्रसाद कोइरालाका नेतृत्वको सरकारमा कृषि मन्त्री रहँदा सरकारमा भ्रष्टाचार व्याप्त छ भनी उनले मन्त्रीबाटै राजीनामा दिएकि थिइन्। वि.सं. २०५१ सालकोमध्यावधि निर्वाचनमा उनी पुनः मोरङ क्षेत्र नं. ७ बाट प्रतिनिधिसभामा निर्वाचित भईन् ।
२०५३ सालमा उनी उप प्रधानमन्त्री तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् । उनको जन्म वि.सं. २००१ सालमा मोरङ जिल्लाको विराटनगरमा भएको थियो। समाजशास्त्रको स्नातकोत्तर तह सम्म अध्ययन गरेकी आचार्य कांग्रेस संस्थापक नेता बी.पी. कोइराला तथा सभापति गिरिजाप्रसाद कोइरालाकी भान्जी हुन्।
आचार्य बिपीका पिता कृष्णप्रसाद कोइरालाले जेठी पत्‍नीकी छोरी इन्दिराकी छोरी हुन्। कृष्णप्रसाद कोइरालाकी कान्छी दिव्या कोइरालाबाट बी.पी., केशव कोइराला, तारिणीप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला जन्मिएका हुन्।

Thursday, June 4, 2009

सुजाता परराष्ट्र र अन्य सबै मन्त्री बिना विभागीय

काठमाडौं, जेठ २१- मन्त्रिपरिषद्‍मा थपिएका नेपाली कांग्रेस र मधेशी जनअधिकार फोरमका नेताहरुलाई प्रधानमन्त्री माधवकुमार नेपालले बिहीबार साँझ सपथ गराउने भएका छन्। नेकपा एमालेले भने बिहीबार पनि आफ्ना तर्फबाट जान मन्त्रीहरुको टुंगो लगाउन सकेन।
मन्त्रिपरिषद्को दोस्रो चरणको विस्तारमा दिनभर व्यस्त प्रधानमन्त्री नेपालले कांग्रेसका तर्फबाट मन्त्रिपरिषद‍मा सिफारिस भएका सुजाता कोइराला, मिनेन्द्र रिजाल, प्रकाशशरण महत, बालकृष्ण खाँड, उमाकान्त चौधरी र पूर्णकुमार शेर्मा तथा फोरमका विजय गच्छदारलाई सपथ गराउने कार्यक्रम छ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तका अनुसार बिहीबार राति ८ बजे राष्ट्रपतिको कार्यालयमा राष्ट्रपति रामवरण यादवको उपस्थितिमा नयाँ मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम हुनेछ। प्रधानमन्त्रीका तर्फबाट साँझ सात बजेको समय माग भए पनि राष्ट्रपति कार्यालयले सपथ ग्रहणको समय ८ बजेलाई दिएको हो।
बिहीबार घोषित मन्त्रीहरुमा सुजाता कोइरालालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको छ भने अन्य सबै मन्त्रीलाई तत्कालका लागि बिना विभागीय मन्त्री बनाइएको छ।
एमालेले पार्टी कार्यालय वल्खुमा मधेशी जनअधिकार फोरमका नेता विजय गच्छदारसँग छलफलपछि पन्तले उक्त जानकारी दिएका हुन्।
प्रधानमन्त्री नेपाल निकट स्रोतका अनुसार बिहीबार दोस्रो चरणको मन्त्रिपरिषद्‍ विस्तार हो भने यसपछि फेरि अन्य साना दलहरुलाई समेटेर अर्को चरणको मन्त्रिपरिषद्‍ विस्तार हुने छ।
एमाले सचिव शंकर पोख्रेलले सबै दलबाट मन्त्रीहरुका नाम आइनसकेकाले पार्टीको तर्फबाट जाने मन्त्रीहरुको नाममा बिहीबार पनि टुंगो नलागेको बताए। उनले तेस्रो चरणको मन्त्रिपरिषद् विस्तारमा एमालेबाट सरकारमा जाने थप मन्त्रीहरुको टुंगो लाग्ने जानकारी दिए।

Monday, June 1, 2009

भारतमा आय बढ्यो

नयाँ दिल्ली, जेठ १७ (एजेन्सी)- भारतको इतिहासमा पहिलो पटक प्रतिव्यक्ति मासिक आय ३ हजार भारतीय रुपैयाँ नाघेको छ। केन्द्रीय तथ्यांक विभागले यो तथ्यांक सार्वजनिक गरेको हो। सन् २००५/०६ पछि तीन वर्ष अवधिमा थालिएको आर्थिक सुधार र उच्च आर्थिक वृद्धिदरका कारण यो मासिक आय प्राप्त गर्न सकेको विभागले जनाएको छ।