Friday, June 26, 2009

माइकल ज्याक्सन रहेनन्

काठमाडौँ, असार १२ (एजेन्सी)- प्रख्यात पप गायक माइकल ज्याक्सनको आज बिहान मृत्यु भएको छ। उनी ५० वर्षका थिए। लस एन्जलसस्थित आफ्नै निवासमा ह्रदयाघात भएका ज्याक्सनलाई अस्पतालमा लग्ने क्रममा मृत्यु भएको थियो। अंग्रेजी पप गायनलाई विश्वभर लोकप्रिय बनाएका कारण उनलाई 'पप सम्राट' पनि भन्ने गरिन्थ्यो। छालाको क्यान्सरसित जुध्दै गरेका ज्याक्सनले अर्को महिना लन्डनमा कन्सर्ट गर्ने तयारी गरिरहेका थिए।

ह्रदयाघात हुनुको कारण सार्वजनिक गरिएको छैन। तर लागू औषधका दुर्व्यसनी ज्याक्सनले बढी मात्रामा औषधि खाँदा ह्रदयाघात भएको हुनसक्ने पश्चिमी सञ्चार माध्यमहरुले बताएका छन्। अहिले जस्तो स्याटेलाइट टेलिभिजनहरुको उपस्थिति बिनै पनि नेपाल जस्तो देशमा समेत असीको दशकमा माइकल ज्याक्सनको प्रभाव गहिरै थियो। नेपाल मात्र हैन, विश्वभर अ‌ग्रेजी पप गीतलाई लोकप्रिय बनाउनमा उनको ठूलो योगदान छ। ज्याक्सन परिवारका सातौँ सन्तानका रुपमा सन् १९५८ मा जन्मिएका माइकल जोसेफ ज्याक्सनले ११ वर्षको कलिलो उमेर मै आफ्नो व्यावसायिक करिअर सुरु गरेका थिए। सुरुमा उनी ज्याक्सन फाइभ ब्यान्डका सदस्य थिए। सन् १९७१ देखि उनले एक्लो सा‌गीतिक यात्रा सुरु गरे जुन निकै सफल हुन पुग्यो। उनका एल्बमहरु विश्व कै बेस्ट सेलिङ हुन पुगे। १३ ग्रायमी अवार्ड र १३ नम्बर वन सि‌गल्स जित्ने उनको कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेका छैनन्। चार दशकसम्म उनी विश्वभरका मिडियामा छाइरहे। पछिल्लो पटक भने विभिन्न स्क्याण्डलमा जोडिएर उनको नाम आउने गर्थे। बाल यौन दुर्व्यवहारको आरोपमा उनीमाथि छानबिन समेत भयो। तर आरोप प्रमाणित हुन सकेन। लस एन्जलसस्थित आफ्नै निवासमा ज्याक्सनलाई ह्रदयाघात भएको थियो।


आपतकालीन उपचारका लागि चिकित्सकहरु स्थानीय समय अनुसार मध्याह्न साढे १२ बजे पुग्दा ज्याक्सनको श्वास रोकिसकेको थियो। युसीएलए मेडिकल सेन्टरतर्फ उनलाई लगिएको थियो। त्यहीँ उनको मृत्यु भयो। स्थानीय समय अनुसार दिउँसो २ बजेर २६ मिनेट जाँदा उनलाई मृत घोषित गरियो। आपराधिक घटनाको कुनै संभावना नदेखिए पनि लस एन्जलस प्रहरीले मृत्युको कारण पत्ता लगाउन अनुसन्धान गर्ने भएको छ। शुक्रबार पोस्टमार्टमपछि मात्रै उनको अन्तिम संस्कारको घोषणा गरिनेछ। विश्वभरका फ्यानहरु अहिले उनको शोक मनाइरहेका छन्।

No comments: