Wednesday, June 30, 2010

भारतको नागाल्यान्ड राज्यका गृहमन्त्री विमानस्थलमा पक्राउ

काठमाडौँ, भारतको नागाल्यान्ड राज्यका गृहमन्त्री इमकोङ एल इमचेनलाई काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले पक्राउ गरेको छ। उनीसित नेपालमा प्रतिबन्धित पाँच सय र हजार रुपैयाँका नौ लाख बराबर भारु भेटिएको प्रहरी स्रोतले बताएको छ।
बिहान साढे १० बजेतिर विमानस्थलको प्रहरीले उनलाई पक्राउ गरेको हो। भारतीय सञ्चारमाध्यमहरुले विदेश मन्त्रालयलाई उद्‍धृत गर्दै यसबारे समाचार दिइरहेका भए पनि नेपालका प्रहरी अधिकारीहरु यस विषयमा खुल्न चाहेका छैनन्। प्रहरी प्रवक्ता विज्ञानराज शर्माले 'यो बारेमा आफूलाई जानकारी नभएको' नागरिकन्युजलाई बताए। त्यसैगरी महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता माधव नेपालले पनि यस विषयमा केही बताउन चाहेनन्। त्रिभुवन विमानस्थलका डिआइजी रमेशशेखर बज्राचार्य भने सम्पर्कमा आउन चाहेनन्। अनौपचारिक रुपमा भने प्रहरी स्रोतले उनी पक्राउ परेको पुष्टि गरेका छन्। भारतीय टेलिभिजन च्यानल आइबीएनले निजी भ्रमणमा नेपाल आएका गृहमन्त्री इमचेन भारत फर्कने क्रममा पक्राउ परेको जनाएको छ। आइबीएनले 'नेपाल सरकार भारतीय मन्त्रीलाई छाड्न तयार भएको' समाचार दिएको छ। भारतीय समाचार एजेन्सी आइएनएसका अनुसार उनी जेट एअरबाट दिल्ली जाँदै गर्दा पक्राउ परेका हुन्। उनी असार १३ गते परिवारका साथ नेपाल घुम्न आएका थिए।
के कारबाही हुनसक्छ?नेपालको कानुन अनुसार विदेशी मुद्रा अपचलन अन्तर्गत राजस्व अनुसन्धान विभागले उनलाई कारबाही गर्न सक्छ। नेपालको कानुन अनुसार उनलाई पक्राउ परेको नगदको तीन गुणा जरिवाना र पाँच वर्षसम्म कैद हुनसक्छ।
भारतीय टेलिभिजन टाइम्स नाउको अनलाइन संस्करणले नागाल्यान्ड राज्यका मुख्य सचिव लालथरालाई उद्‍धृत गर्दै नेपालमा पाँच सय र हजारको भारुमाथि प्रतिबन्ध लगाइएको गृहमन्त्री इमचोङलाई थाहा नभएको बताएको छ।
भारतको केन्द्रीय बैँकले समेत भारतबाहिर पाँच सय र हजारको नोट प्रयोग गर्न एक दशकअघिदेखि प्रतिबन्ध लगाएको छ। नक्कली नोटको कारोबार बन्द गर्न भारतीय सरकारले नै नेपाल सरकारलाई पाँच सय र हजार दरको भारतीय नोटमाथि प्रतिबन्ध लगाउन आग्रह गरेको हो।
मुख्य सचिव लालथराले विदा मनाउन परिवारका साथ उनी नेपाल गएको बताएका छन्। उनले गृहमन्त्रीले अज्ञानता मै भए पनि गल्ती गरेको स्वीकार गर्दै नगद राखेर उनलाई चाहिँ रिहा गर्नका लागि भारतीय गृह मन्त्रालयसित आग्रह गरिरहेको टाइम्सनाउलाई बताएका छन्।
टाइम्स नाउले राज्यका गृहमन्त्रीलाई विदेश भ्रमण गर्दा नियम थाहा नभएको बताउनु अनौठो भएको टिप्पणी गरेको छ। उसले लेखेको छ- भारतीय राज्यका मन्त्रीहरुलाई राज्य अधिकारीहरुले नेपालमा पालना गर्नुपर्ने नियमहरुका बारे जानकारी दिने गरिन्छ। इमचेनलाई पनि यसबारे जानकारी दिएको हुनुपर्छ।

Sunday, June 13, 2010

माओवादीको दोहरो चरित्रः ओली

एमाले नेता केपी शर्मा ओलीले माओवादीले दलहरुसित एकखाले सहमती गर्ने कार्यकर्तामाँझ भने अर्को धारणा राख्दा समस्या उत्पन्न भएको बताएका छन् ।
सुनसरीको इटहरीमा पार्टीको नगरसमितिद्धारा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डसहित माओवादीका शिर्षस्थ नेताहरुमा दोहरो चरित्र देखिएकाले सहमती भाँडिदै आएको र गलत व्याख्या हुने गरेको उल्लेख गरे ।
'नेताहरु बस्दा एकखाले सहमती हुन्छ तर, बाहिर आउँदा अर्कै आउँछ' ओलीले भने,'मैले भनेकै ठीक हो भने जिद्धि स्वभाव माओवादीमा बढ्दै गएको छ ।'
जेठ १४ गते भएको सहमतीलाई गलत व्याख्या गरिएको खुलासा गर्दै ओलीले प्रधानमन्त्री माधवकुमार नेपालको राजिनामाको कुनै सहमती नभएको दावी गरे । 'मैले संविधानसभा बचाउन प्रचण्डजीहरुलाई सहमतीमा ल्याएकोमात्र हो' उनले भने, 'यसमा राजिनामा वा अरु कुनै सहमती भएको छैन,कुखुरा, राँगा, खसी, बोका काटेजस्तै मान्छे काटेर हुँदैन, विचार, तर्क, वैज्ञानिक राजनीति गर्नुपर्छ, प्रचण्डलाई मैले गलत बाटो जानबाट रोजे ।'
माओवादीले टाउको अड्काएर जिउँ अडकाउन नसक्दा पछिल्लो आन्दोलन सफल हुन नसकेको उल्लेख गर्दै ओलीले प्रधानमन्त्रीको राजिनामाको रटान र एउटा केटाकेटीले चकलेटका लागि गरेको जिद्धि उस्तै भएको टिप्पणी गरे ।
आफूलाई संविधानसभा विरोधी भनेकाले सहमतीका लागि अहोरात्र खटेको जिकिर ओलीले गरे ।
घहो, मैले दिन रात नभनी मिलाए' उनले भने, 'एमालेले मिलाएर अघि बढ्दा सहमती बन्छ भनेर म लागेको थिए, सरकार नेतृत्वकै लागि केही कुरा भएको थिएन एमाओवादीले रडाको मच्चाउनु ठीक होइन । माओवादीले जनतालाई ढाट्ने राजनीति गरिरहेको आरोप लगाउँदै ओलीले एमालेभित्र पनि प्रधानमन्त्रीको राजिनामालाई लिएर अस्पष्ट विचार आएकोमा चिन्ता व्यक्त गरे ।
'एमालेमा केही नेता स्पष्ट छैनन्, अस्पष्ट भएकैले पार्टी कमजोर भएको हो' ओलीले कसैको नाम उल्लेख नगरी भने -'केही नेताहरु राजिनामा दिन लगाएर आराम पूर्वक सुत्न चाहेका छन् उनीहरुबाट कार्यकर्ता सचेत हुनुपर्छ ।'
माओवादीलाई सहमती र शान्तिपूर्ण बाटोमा ल्याउन आफूले मेहनत गर्दा आलोचना खेपेको ओलीले बताए ।

Saturday, June 12, 2010

नेपालमा भ्रष्टाचार झन् बढ्यो : ट्रान्सपरेन्सी

जेठ २८- विश्वमा धेरै भ्रष्टाचार हुने देशमध्ये नेपाल पनि पर्छ। ट्रान्सप्यारेन्सी इन्टरनेसनलले गरेको भ्रष्टाचारसम्बन्धी सन् २००९ को विश्वव्यापी अध्ययनले नेपाल गत वर्ष १४३ औं स्थानमा परेको देखाएको छ। अध्ययनले नेपाल सन् २००८ को तुलनामा सन् २००९ मा झन् बढी भ्रष्टाचार हुने देशमा परेको देखाएको हो। विश्वमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुगमन गरिरहेको सो संस्थाले हालै सार्वजनिक गरेको प्रतिवेदनमा विश्वका १८० देशमा सो संस्थाले गरेको अनुसन्धानमा नेपाल सन् २००८ को तुलनामा थप पाँच स्थान तल झरी सो स्थानमा पुगेको उल्लेख गरेको छ।
सो संस्थाले विशेषगरी भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गर्दा निर्वाचन प्रणालीको स्वस्थता र निष्पक्षतालाई प्रमुख आधार बनाउने गर्दछ। कुनै राजनीतिज्ञ एवम् नेताले निर्वाचन जित्नका लागि ठूलो धनराशि खर्च गर्‍यो भने निर्वाचनपछि उसले बहन गर्नसक्ने सार्वजनिक दायित्वको पदबाट पनि निर्वाचनको खर्च उठाउन खोज्नेगरी भ्रष्टाचार गर्नसक्ने सम्भावना रहने हुँदा निर्वाचन प्रणालीमानै सुधार गर्नुपर्नेमा जोड दिइएको छ।प्रतिवेदनले विश्व सबैभन्दा कम भ्रष्टाचार हुने देश न्युजिल्यान्ड र सबैभन्दा बढी भ्रष्टाचार हुने देश सोमालिया रहेको उल्लेख गरेको छ। प्रतिवेदनमा सार्क क्षेत्रमध्ये नेपाल सबैभन्दा बढी भ्रष्टाचार भएको देश हो भने भुटान कम भ्रष्टाचार हुने गरेको देशमा पर्दछ। नेपालमा सबैभन्दा बढी भ्रष्टाचार निजी क्षेत्रमा भन्दा सरकारी निकायमा हुने गरेको पनि उक्त प्रतिवेदनमा उल्लेख छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता ईश्वरीप्रसाद पौडेल नेपालमा भ्रष्टाचार हुने गरेको स्वीकार्दै भने- सैनिक, सर्वोच्च अंदालत, संसद, मन्त्रिपरिषद् र केही निजी क्षेत्रमा भएका भ्रष्टाचार आयोगले हेर्न नपाउने प्रावधान छ।प्रवक्ता पौडेलले नेपालले सन २००३ मा संयुक्त राष्ट्रसङ्घीय महासभाबाट पारित भएको भ्रष्टाचारविरुद्धको अन्तर्रार्ष्ट्रिय महासन्धिमा हस्ताक्षर गरिसके पनि नेपालले यो सन्धिको अनुमोदन नगरेकाले आयोगले अनुसन्धानलाई प्रभावकारी बनाउन नसकेको बताए।

Thursday, June 10, 2010

दाहालको नेतृत्व अस्वीकार्यः काँग्रेस

जेष्ठ २७ - नेपाली काँग्रेसले माओवादीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुन नसक्ने निष्कर्ष निकालेको छ ।
केन्द्रीय कार्यसमितिको बिहीबार बसैको बैठकले माओवादीका अध्यक्ष दहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने निष्कर्षा पुगेको पार्टी प्रवक्ता अर्जुननरसिंह केसीले जानकारी दिएका छन् ।
उनले भने, 'माओवादीले पहिला राष्ट्रिय सहमतिको सरकार गठनका लागि नेतृत्वको विकल्प खुल्ला छ भनेर जसरी प्रस्तुत भएको थियो तर पछिल्लो समयमा आएर उसले जुन किसिमको निर्णय गर्‍यो त्यसले राष्ट्रिय सहमतिको सरकारको परिधिलाई साँघुरो बनाएको छ, जसले राष्ट्रिय सहमति बन्न सक्दैन भन्ने काङ्ग्रेसको ठहर हो ।'
माओवादी स्थायी समितिको बैठकले बिहीबार अध्यक्ष दाहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने निर्णय गरेको थियो ।
प्रवक्ता केसीले जेठ १४ गते तीन दलबीच भएको सहमतिअनुरुप शान्तिप्रक्रिया र संविधान निर्माणको सुनिश्चितताको लागि निश्चित कार्यतालिका सहितको प्रतिबद्धता बिना प्रधानमन्त्रीले राजीनामा दिँदा शान्तिप्रक्रिया भाँडिने निष्कर्षा पार्टी पुगेको समेत बताए ।
यसअघि माओवादीले राष्ट्रिय सरकारको नेतृत्वको बिकल्प खुला रहेको बताएपछि काँग्रेस र एमाले भित्र नयाँ सरकारको नेतृत्वको लागि कसरत सुरु भएको थियो ।

Sunday, June 6, 2010

एप्पल नम्बर एक कम्पनी

माइक्रोसफ्टलाई पछाडि पार्दै एप्पल विश्वको सबैभन्दा ठूलो टेक्नोलोजी कम्पनी बन्न सफल भएको छ । लगानीकर्ताले यो साता माइक्रोसफ्टको मूल्य दुई सय १९ अर्ब डलर तेकेका छन्, जब कि एप्पलको मूल्य दुई सय २२ अर्ब डलर छ ।
सन् १९९० को दशकमा एप्पलको कारोबार लगभग चौपट भएको थियो । सन् २००१ मा एप्पलले आइपड बजारमा ल्याएपछि उन्नति यात्रा सुरु भएको हो । यसअघि सन् १९८९ मा एप्पल माइक्रोसफ्टभन्दा अगाडि थियो ।
विश्वका अधिकांश मानिस आफ्नो कम्प्युटरमा माइक्रोसफ्टको अपरेटिङ सिस्टम प्रयोग गर्छन्, तर ९० दशकको राम्रो अवस्था भए पनि माइक्रोसफ्टको हालको अवस्था त्यतिवेलाजस्तो छैन । यसै साता बेलायतलगायत नौवटा मुलुकले एप्पलको आइप्याड ट्याब्लेट कम्प्युटर लन्च गरे । एप्पलले आगामी महिना आइफोनको अर्को जेनेरेसन ल्याउँदै छ ।
एप्पल इन्कर्पोरेसनले टच स्त्रिन ट्याब्लेट आइपडको लन्चिङयता अमेरिकामा मात्र दुई मिलियन आइपड बिक्री भएको जनाएको छ । करिब दुई महिनाअघि यो आइपड बजारमा ल्याएको थियो । यो संख्या आइफोनभन्दा बढी हो । एप्पलले जुलाईदेखि अन्य नौ मुलुकमा आइप्याड पुग्ने बताएको छ । वर्षको अन्त्यसम्ममा ८ दशमलव १३ मिलियन आइप्याड बिक्री हुने अनुमान एप्पलको छ । एप्पल कम्पनीले कम्प्युटर, आइपड, आइफोन र आइपड उत्पादन गर्छ ।

चीनको तियानमेन घटना देङको निर्देशनमा भएको खुलासा

चीनको तियानमेन स्क्वायरमा २१ वर्षअघि विद्यार्थी विद्रोह दबाउन सरकारले गरेको आमहत्यामा चर्चित चिनियाँ नेता देङ सियाओपिङको भूमिका रहेको खुलासा भएको छ। तत्कालीन चिनियाँ प्रधान मन्त्री ली पेङले आफ्नो प्रकाशोन्मुख पुस्तकमा देङको निर्देशनअनुसार कदम चालेको दाबी गरेका छन्।
'देङले तियनामेन विद्रोह दबाउन अगाडि बढेको सेनालाई सकेसम्म हिंसा कम गर्न तर आवश्यक परेको खण्डमा त्यसका लागि तयार रहन निर्देशन दिएको' लीले आफ्नो डायरीमा लेखेको हङकङबाट प्रकाशित साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। चीनको कम्युनिष्ट शासनविरुद्ध उत्रिएका विद्यार्थीलाई दबाउन पार्टी र सरकारमा भएको विवाद समेटिएको लीको गोप्य डायरी पुस्तकको रुपमा २२ जुनमा सार्वजनिक हुँदैछ। चिनियाँ भाषाको उक्त पुस्तक हङकङको न्यु सेन्चुरी प्रेसले प्रकाशित गर्दैछ। ८१ वर्षका पूर्व प्रधान मन्त्री लीले सन् २००३ मा पार्टीबाट अवकास लिएका थिए। तियानमेन घटना भएको १५ वर्ष पुगेको सन्दर्भमा उनले २००४ मै उक्त पुस्तक प्रकाशनको तयारी गरे पनि चिनियाँ नेताहरूको आग्रहमा रोकिएको बताइएको छ। तियानमेन घटनामा २०० प्रदर्शनकारी मारिएको अनुमान गरिए पनि मानव अधिकारकर्मीले त्यो सङ्ख्या १ हजार भएको दाबी गर्दै आएका छन्।
यसैबीच तियानमेनमा मारिएकाहरूको सम्झनामा शुक्रबार हङकङमा भएको शोकसभामा अहिलेसम्मकै ठूलो सहभागिता भएको छ। घटना भएको दिन पारेर यहाँको भिक्टोरिया पार्कमा आयोजना गरिएको शोकसभामा दशौँ हजार मानिस हातमा बलेको मैनबत्ती लिएर सहभागी भए। आयोजक 'हङकङ एलायन्स इन सपोर्ट अफ प्याट्रियोटिक डेमोक्रेटिक मुभमेन्टस् इन चाइना' ले सभामा डेढ लाख मानिस आएको दावी गरेको छ भने हङकङ प्रहरीले १ लाख १३ हजार सहभागी भएको जनाएको छ, जुन विगतको तुलनामा निकै बढी हो। हङकङका लोकतन्त्रवादीहरू रहेको आयोजक सञ्जालका संयोजक सेजटो वाहले मन्तव्यको क्रममा हङकङका कार्यकारी प्रमुख डोनाल्ड चाङको आलोचना गरेका थिए। मुख्य भूमि चीनमा यस्तो सभा गर्न प्रतिबन्ध छ तर उसको विशेष प्रशासनिक क्षेत्र हङकङमा भने हरेक वर्ष तियानमेनमा मारिएकाहरूको सम्झनामा शोकसभा गरिन्छ।

Wednesday, June 2, 2010

छ महिनापछि तपस्वी बम्जन फेला परे

रतनपुरीका चर्चित तपस्वी रामबहादुर बम्जन छ महिनापछि चुरे पहाडको फेदीमा फेला परेका छन्।गढीमाई मेलामा हुने हुने पशुबलि रोक्न मङ्सिर महिनामा गढीमाई मन्दिर हिँडेकामा आफ्नो साविक तपस्यास्थान पसाहाको हलखोरिया दहमा नफर्की तपस्वी अन्यत्रै लागेका थिए।
नमोबुद्ध तपोवन संरक्षण समितिका अध्यक्ष वेदबहादुर लामासहितको टोलीले खोजतलास गर्दा चुरेको मिरी वनमा तपस्वीलाई फेला पारिएको बताइएको छ।
हलखोरियामा होहल्ला भएकाले बाधा पुगेपछि छ वर्षको तपस्या पुरा गर्न एकान्तको खोजीमा चुरे पुगेको तपस्वीलाई उद्धृत गर्दै अध्यक्ष लामाले बताए।
तपस्वी पहिलेजस्तै अवस्थामा रहेको बताउँदै अध्यक्ष लामाले तपस्वीको शारीरिक तन्दुरुस्तीमा कुनै फरक नपाइएको जानकारी दिए।
भेटका क्रममा आगामी वर्ष जेठ ६ गते छवर्षे तपस्या पुरा गरी फर्केर अनुयायीलाई सिद्धि र ज्ञान बाँड्ने बम्जनले बताएको अध्यक्ष लामाले बताए। समितिको सुरक्षामाझ हलखोरियामा तपस्या गर्दै आएका बम्जन यसअघि पनि बेलाबेलामा हराउँदै सार्वजनिक हुने गरेका थिए ।