Sunday, June 13, 2010

माओवादीको दोहरो चरित्रः ओली

एमाले नेता केपी शर्मा ओलीले माओवादीले दलहरुसित एकखाले सहमती गर्ने कार्यकर्तामाँझ भने अर्को धारणा राख्दा समस्या उत्पन्न भएको बताएका छन् ।
सुनसरीको इटहरीमा पार्टीको नगरसमितिद्धारा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डसहित माओवादीका शिर्षस्थ नेताहरुमा दोहरो चरित्र देखिएकाले सहमती भाँडिदै आएको र गलत व्याख्या हुने गरेको उल्लेख गरे ।
'नेताहरु बस्दा एकखाले सहमती हुन्छ तर, बाहिर आउँदा अर्कै आउँछ' ओलीले भने,'मैले भनेकै ठीक हो भने जिद्धि स्वभाव माओवादीमा बढ्दै गएको छ ।'
जेठ १४ गते भएको सहमतीलाई गलत व्याख्या गरिएको खुलासा गर्दै ओलीले प्रधानमन्त्री माधवकुमार नेपालको राजिनामाको कुनै सहमती नभएको दावी गरे । 'मैले संविधानसभा बचाउन प्रचण्डजीहरुलाई सहमतीमा ल्याएकोमात्र हो' उनले भने, 'यसमा राजिनामा वा अरु कुनै सहमती भएको छैन,कुखुरा, राँगा, खसी, बोका काटेजस्तै मान्छे काटेर हुँदैन, विचार, तर्क, वैज्ञानिक राजनीति गर्नुपर्छ, प्रचण्डलाई मैले गलत बाटो जानबाट रोजे ।'
माओवादीले टाउको अड्काएर जिउँ अडकाउन नसक्दा पछिल्लो आन्दोलन सफल हुन नसकेको उल्लेख गर्दै ओलीले प्रधानमन्त्रीको राजिनामाको रटान र एउटा केटाकेटीले चकलेटका लागि गरेको जिद्धि उस्तै भएको टिप्पणी गरे ।
आफूलाई संविधानसभा विरोधी भनेकाले सहमतीका लागि अहोरात्र खटेको जिकिर ओलीले गरे ।
घहो, मैले दिन रात नभनी मिलाए' उनले भने, 'एमालेले मिलाएर अघि बढ्दा सहमती बन्छ भनेर म लागेको थिए, सरकार नेतृत्वकै लागि केही कुरा भएको थिएन एमाओवादीले रडाको मच्चाउनु ठीक होइन । माओवादीले जनतालाई ढाट्ने राजनीति गरिरहेको आरोप लगाउँदै ओलीले एमालेभित्र पनि प्रधानमन्त्रीको राजिनामालाई लिएर अस्पष्ट विचार आएकोमा चिन्ता व्यक्त गरे ।
'एमालेमा केही नेता स्पष्ट छैनन्, अस्पष्ट भएकैले पार्टी कमजोर भएको हो' ओलीले कसैको नाम उल्लेख नगरी भने -'केही नेताहरु राजिनामा दिन लगाएर आराम पूर्वक सुत्न चाहेका छन् उनीहरुबाट कार्यकर्ता सचेत हुनुपर्छ ।'
माओवादीलाई सहमती र शान्तिपूर्ण बाटोमा ल्याउन आफूले मेहनत गर्दा आलोचना खेपेको ओलीले बताए ।

No comments: