Sunday, June 6, 2010

चीनको तियानमेन घटना देङको निर्देशनमा भएको खुलासा

चीनको तियानमेन स्क्वायरमा २१ वर्षअघि विद्यार्थी विद्रोह दबाउन सरकारले गरेको आमहत्यामा चर्चित चिनियाँ नेता देङ सियाओपिङको भूमिका रहेको खुलासा भएको छ। तत्कालीन चिनियाँ प्रधान मन्त्री ली पेङले आफ्नो प्रकाशोन्मुख पुस्तकमा देङको निर्देशनअनुसार कदम चालेको दाबी गरेका छन्।
'देङले तियनामेन विद्रोह दबाउन अगाडि बढेको सेनालाई सकेसम्म हिंसा कम गर्न तर आवश्यक परेको खण्डमा त्यसका लागि तयार रहन निर्देशन दिएको' लीले आफ्नो डायरीमा लेखेको हङकङबाट प्रकाशित साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। चीनको कम्युनिष्ट शासनविरुद्ध उत्रिएका विद्यार्थीलाई दबाउन पार्टी र सरकारमा भएको विवाद समेटिएको लीको गोप्य डायरी पुस्तकको रुपमा २२ जुनमा सार्वजनिक हुँदैछ। चिनियाँ भाषाको उक्त पुस्तक हङकङको न्यु सेन्चुरी प्रेसले प्रकाशित गर्दैछ। ८१ वर्षका पूर्व प्रधान मन्त्री लीले सन् २००३ मा पार्टीबाट अवकास लिएका थिए। तियानमेन घटना भएको १५ वर्ष पुगेको सन्दर्भमा उनले २००४ मै उक्त पुस्तक प्रकाशनको तयारी गरे पनि चिनियाँ नेताहरूको आग्रहमा रोकिएको बताइएको छ। तियानमेन घटनामा २०० प्रदर्शनकारी मारिएको अनुमान गरिए पनि मानव अधिकारकर्मीले त्यो सङ्ख्या १ हजार भएको दाबी गर्दै आएका छन्।
यसैबीच तियानमेनमा मारिएकाहरूको सम्झनामा शुक्रबार हङकङमा भएको शोकसभामा अहिलेसम्मकै ठूलो सहभागिता भएको छ। घटना भएको दिन पारेर यहाँको भिक्टोरिया पार्कमा आयोजना गरिएको शोकसभामा दशौँ हजार मानिस हातमा बलेको मैनबत्ती लिएर सहभागी भए। आयोजक 'हङकङ एलायन्स इन सपोर्ट अफ प्याट्रियोटिक डेमोक्रेटिक मुभमेन्टस् इन चाइना' ले सभामा डेढ लाख मानिस आएको दावी गरेको छ भने हङकङ प्रहरीले १ लाख १३ हजार सहभागी भएको जनाएको छ, जुन विगतको तुलनामा निकै बढी हो। हङकङका लोकतन्त्रवादीहरू रहेको आयोजक सञ्जालका संयोजक सेजटो वाहले मन्तव्यको क्रममा हङकङका कार्यकारी प्रमुख डोनाल्ड चाङको आलोचना गरेका थिए। मुख्य भूमि चीनमा यस्तो सभा गर्न प्रतिबन्ध छ तर उसको विशेष प्रशासनिक क्षेत्र हङकङमा भने हरेक वर्ष तियानमेनमा मारिएकाहरूको सम्झनामा शोकसभा गरिन्छ।

No comments: