Wednesday, June 30, 2010

भारतको नागाल्यान्ड राज्यका गृहमन्त्री विमानस्थलमा पक्राउ

काठमाडौँ, भारतको नागाल्यान्ड राज्यका गृहमन्त्री इमकोङ एल इमचेनलाई काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले पक्राउ गरेको छ। उनीसित नेपालमा प्रतिबन्धित पाँच सय र हजार रुपैयाँका नौ लाख बराबर भारु भेटिएको प्रहरी स्रोतले बताएको छ।
बिहान साढे १० बजेतिर विमानस्थलको प्रहरीले उनलाई पक्राउ गरेको हो। भारतीय सञ्चारमाध्यमहरुले विदेश मन्त्रालयलाई उद्‍धृत गर्दै यसबारे समाचार दिइरहेका भए पनि नेपालका प्रहरी अधिकारीहरु यस विषयमा खुल्न चाहेका छैनन्। प्रहरी प्रवक्ता विज्ञानराज शर्माले 'यो बारेमा आफूलाई जानकारी नभएको' नागरिकन्युजलाई बताए। त्यसैगरी महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता माधव नेपालले पनि यस विषयमा केही बताउन चाहेनन्। त्रिभुवन विमानस्थलका डिआइजी रमेशशेखर बज्राचार्य भने सम्पर्कमा आउन चाहेनन्। अनौपचारिक रुपमा भने प्रहरी स्रोतले उनी पक्राउ परेको पुष्टि गरेका छन्। भारतीय टेलिभिजन च्यानल आइबीएनले निजी भ्रमणमा नेपाल आएका गृहमन्त्री इमचेन भारत फर्कने क्रममा पक्राउ परेको जनाएको छ। आइबीएनले 'नेपाल सरकार भारतीय मन्त्रीलाई छाड्न तयार भएको' समाचार दिएको छ। भारतीय समाचार एजेन्सी आइएनएसका अनुसार उनी जेट एअरबाट दिल्ली जाँदै गर्दा पक्राउ परेका हुन्। उनी असार १३ गते परिवारका साथ नेपाल घुम्न आएका थिए।
के कारबाही हुनसक्छ?नेपालको कानुन अनुसार विदेशी मुद्रा अपचलन अन्तर्गत राजस्व अनुसन्धान विभागले उनलाई कारबाही गर्न सक्छ। नेपालको कानुन अनुसार उनलाई पक्राउ परेको नगदको तीन गुणा जरिवाना र पाँच वर्षसम्म कैद हुनसक्छ।
भारतीय टेलिभिजन टाइम्स नाउको अनलाइन संस्करणले नागाल्यान्ड राज्यका मुख्य सचिव लालथरालाई उद्‍धृत गर्दै नेपालमा पाँच सय र हजारको भारुमाथि प्रतिबन्ध लगाइएको गृहमन्त्री इमचोङलाई थाहा नभएको बताएको छ।
भारतको केन्द्रीय बैँकले समेत भारतबाहिर पाँच सय र हजारको नोट प्रयोग गर्न एक दशकअघिदेखि प्रतिबन्ध लगाएको छ। नक्कली नोटको कारोबार बन्द गर्न भारतीय सरकारले नै नेपाल सरकारलाई पाँच सय र हजार दरको भारतीय नोटमाथि प्रतिबन्ध लगाउन आग्रह गरेको हो।
मुख्य सचिव लालथराले विदा मनाउन परिवारका साथ उनी नेपाल गएको बताएका छन्। उनले गृहमन्त्रीले अज्ञानता मै भए पनि गल्ती गरेको स्वीकार गर्दै नगद राखेर उनलाई चाहिँ रिहा गर्नका लागि भारतीय गृह मन्त्रालयसित आग्रह गरिरहेको टाइम्सनाउलाई बताएका छन्।
टाइम्स नाउले राज्यका गृहमन्त्रीलाई विदेश भ्रमण गर्दा नियम थाहा नभएको बताउनु अनौठो भएको टिप्पणी गरेको छ। उसले लेखेको छ- भारतीय राज्यका मन्त्रीहरुलाई राज्य अधिकारीहरुले नेपालमा पालना गर्नुपर्ने नियमहरुका बारे जानकारी दिने गरिन्छ। इमचेनलाई पनि यसबारे जानकारी दिएको हुनुपर्छ।

No comments: