Sunday, August 28, 2011

बाबुराम भट्टराई ३५ औं देशको प्रधानमन्त्री

गोरखा, खोप्लाङको किसान परिवारमा जन्मिएका बाबुराम भट्टराई नेपालको ३५ औं प्रधानमन्त्री बनेका छन्। आइतबार संसदमा भएको चुनावमा माओवादी उपाध्यक्ष भट्टराई ३४० मत प्राप्त गर्दै प्रधानमन्त्री निर्वाचित भएका हुन्। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका ५ दल सहित माले समाजवादी, नेकपा संयुक्त, जनमुक्ति पार्टी, नेकपा एकीकृत, राष्ट्रिय जनमोर्चा सहितका दलले बाबुराम भट्टराई मतदान गरेका थिए।
बौद्धिक प्रखरता, स्पष्ट भिजन र आर्थिक अवधारणा कारण भट्टराई सर्वसाधारणबीच चर्चामा छन्। ऐतिहासिक महत्वको संक्रमणकालमा प्रधानमन्त्री भएका भट्टराईको परीक्षा संविधान निर्माण र शान्ति प्रक्रिया निष्कर्षले निर्धारण गर्नेछ।

Tuesday, August 16, 2011

भ्रष्टाचारविरोधी आन्दोलनका अगुवा अन्ना हजारे गिरफ्तार, वरिष्ठ नेताहरुबाट कडा प्रतिक्रिया


नयाँ दिल्ली, साउन ३१- भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा अनसन बस्न लागेका सामाजिक कार्यकर्ता अन्ना हजारेलाई प्रहरीले आज गिरफ्तार गरेको छ। गिरफ्तार भएलगत्तै हजारेले दोस्रो स्वतन्त्रता आन्दोलन सुरु गर्ने भन्दै 'जेल भर्ने' आन्दोलनमा सहभागी हुन आफ्ना समर्थकहरुलाई आग्रह गरेका छन्। "मेरो गिरफ्तारीले यो आन्दोलन समाप्त हुँदैन। पटक्कै समाप्त हुँदैन, यसो हुन नदिनुस्", हजारेले गिरफ्तार भएपछिको अपीलमा भनेका छन्।
७३ वर्षीय गान्धीवादी नेता हजारे आजदेखि दिल्लीको जेपी पार्कमा अनसन बस्न लागेका थिए। उनले भ्रष्टाचारविरुद्ध कडा कानुनको माग गर्दै आएका छन्। "समय आइसक्यो, भारतका जेलमा ठाउँ नपुग्ने गरी जेल भरौँ", शान्ति कायम राख्न आग्रह गर्दै उनले आफ्ना समर्थकहरुलाई अपील गरे । हजारेका साथै अरु दुई वरिष्ठ कार्यकर्ताहरु अरविन्द केजरीवाल र किरण बेदीलाई पनि प्रहरीले आज बिहान हिरासतमा लिएको छ। प्रख्यात वकील र लोकपाल क़ानून मसौदे समीतिका सदस्य प्रशांत भूषणले भने , अन्ना हज़ारेको गिरफ्तारको विरोधमा अदालत जानेछु ।

Sunday, August 14, 2011

खनाल राजीनामा शायद भोली

काठमाडौं, 'शान्तिप्रक्रियाका मूलभूत काम सम्पन्न गर्ने गरी विश्वासको वातावरण तयार नभए राजीनामा गर्ने' भनी तोकेको समयसीमा सकिँदा पनि दलहरूबीच सहमति जुट्न नसकेपछि अन्ततः प्रधानमन्त्री खनालले राजीनामा दिने तयारी गरेका छन्।
'प्रधानमन्त्रीले ब्यवस्थापिका-संसदको पर्सि (सोमबार)को बैठकमा राजीनामा दिनुहुन्छ,' प्रधानमन्त्री निकट एमाले नेता सुरेन्द्र पाण्डेले भने,'प्रधानमन्त्रीले संसदमा गएर सम्बोधन गर्नुहुन्छ र त्यही दिन राष्ट्रपतिसमक्ष राजीनामा दिनुहुन्छ।' तीन दल र सत्ता गठबन्धनको छुट्टाछुट्टै बैठकपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शनिबार साँझ प्रेस नोट जारी गर्दै 'दलहरूबीच शान्ति प्रक्रियाको विषयमा सहमति बन्न नसकेको र यस अवस्थामा आफ्नो घोषित प्रतिबद्धता व्यवस्थापिका-संसदको आगामी बैठकमार्फत् मुलुकका सामु राख्ने' जानकारी गराएका छन्।
शनिबार बिहान पनि तीन दलका प्रमुख नेताहरूको बैठकमा प्रधानमन्त्रीको हैसियतमा शान्तिप्रक्रिया, संविधान निर्माण, सहमतीय सरकारको गठन र संविधानसभाको समयावधि बढाउन अविलम्ब सहमतिका लागि गम्भीरतापूर्वक प्रस्ताव गरेको जानकारी दिँदै प्रेस नोटमा भनिएको छ, 'आफू स्वयंद्वारा निर्धारित समय सीमाअन्तर्गत आज अन्तिम घडीसम्म पनि उहाँले विभिन्न पक्षहरूसँग छलफल र परामर्श गरिरहनुभएको छ। 'आफ्नो घोषित प्रतिबद्धता व्यवस्थापिका-संसदको समेत विषय भएकाले' प्रधानमन्त्रीले संसदको बैठकमा आफ्ना धारणा राख्ने त्यसमा जानकारी दिइएको छ।
तीन दलमा तीन तर्कप्रधानमन्त्रीले तीन दलको शीर्ष बैठकमा मुख्य तीन तर्क राखेका थिए। राजीनामा गरेपछिको कामचलाऊ सरकारले भदौ १४ गतेपछि संविधानसभाको म्याद थप गर्ने प्रस्ताव संसदमा राख्न कानुनी समस्या पर्छ कि भन्ने उनको पहिलो चिन्ता थियो। शान्ति प्रक्रियाका केही विषय टुंग्याऊँ भनेपछि उनले तेस्रो विषयका रूपमा भनेका थिए, 'मैले राजीनामा दिनु भनेको राष्ट्रिय सहमति सरकारका लागि हो, त्यसको सुनिश्चितता हुनुपर्‍यो।'
खनालका तर्कको प्रतिवाद गर्दै कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले कामचलाऊ सरकारले प्रस्ताव गर्न मिल्दैन भन्ने संविधानमा नलेखिएको र भदौ १४ अघि कामचलाऊ सरकारै रहिरहन्छ भन्ने ग्यारेन्टी नभएको तर्क गरेका थिए। '२८ गते राजीनामा गर्छु भनेर जनतासामू भन्ने, संसदमा भन्ने तपाईं हो, त्यो पूरा नभए नेताको विश्वसनीयता के रहन्छ' भन्ने प्रश्न पौडेलले गरेका थिए। सहमतिको सरकारका लागि मार्गप्रशस्त गर्न पाँचबुँदे सहमति भएको उल्लेख गर्दै उनले खनाल सरकारबाट शान्ति प्रक्रियामा पूर्णविराम लागेको टिप्पणी गरेका थिए।
बैठक स्रोतका अनुसार त्यसपछि एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले २८ गते राजीनामा दिन्छु भनेर दुनियाँका अगाडि भनेको, संसदमै लगेर भनेको भन्दै प्रधानमन्त्रीप्रति गुनासो गरेका थिए। 'राजीनामाको म्याद तपाईं आफैंले तोकेको हो, तपाईंको राजीनामाबारे हाम्रो केही भन्नु छैन' दाहालले भनेका थिए। त्यसैगरी शान्तिप्रक्रियाबारे 'आजको दिनमा कुनै छलफल गर्न चाहँदैनौं' दाहालले भनेका थिए।
प्रधानमन्त्री खनालले साउन १६ गते विशेष अपिल दिँदै 'सेना समायोजनको ढाँचा, मापदण्ड, संख्या, दर्जा निर्धारण र पुर्नस्थापनमा प्याकेज' मा साउन २८ गतेसम्म सहमति नभए राजीनामा दिने घोषणा गरेका थिए। उनले साउन २५ गते व्यवस्थापिका-संसदमा यसको लिखित प्रतिवद्धता ब्यक्त गरेका थिए । 'खासगरी एकीकृत माओवादीले यसलाई गम्भीरतापूर्वक लेओस्' भनेर प्रधानमन्त्री खनालले शान्ति प्रक्रियाको निश्चित प्रस्ताव ल्याउन दबाब दिए पनि माओवादीले 'प्रस्ताव ल्याउने काम सरकारको' भन्ने जवाफ दिएपछि उनी संकटमा परेका हुन्।
शनिबारको बैठकमा माओवादीले 'शान्ति प्रक्रियाको विषयमा ठोस प्रस्ताव ल्याउने काम सरकारको भएको' जवाफ दिएको माओवादी नेता सिपी गजुरेलले बताए। 'प्रस्ताव ल्याउने काम सरकारको हो। राजीनामा गर्ने/नगर्ने भन्ने प्रधानमन्त्रीको स्वविवेकको कुरा हो,' माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री खनाललाई दिएको जवाफ उद्धृत गर्दै गजुरेलले भने।
शान्ति प्रक्रियामा अहिले नयाँ प्रस्ताव ल्याउँदा 'यतिन्जेल माओवादीका कारण रोकिएको सन्देश जाने' भन्दै माओवादीले प्रस्ताव नल्याएको स्रोतहरूले दाबी गरेका छन्। 'हामीले किन प्रस्ताव ल्याउने? सरकारको नेतृत्वले गर्ने काम हामीले गर्ने होइन नि,' गजुरेलले भने। उनका अनुसार बैठकमा प्रधानमन्त्रीले 'राष्ट्रिय सहमतिको सरकारका लागि राजीनामा दिने घोषणा गरेको' बताएका थिए। 'अझै पनि राष्ट्रिय सहमतिको वातावरण बनाउनेतर्फ लागौं,' खनालको भनाइ थियो। उनले 'कामचलाउ सरकारले संविधानसभाको म्याद थपको प्रस्ताव लैजाने कुरा सहज र वैधानिक नहुने' स्मरण पनि गराएका थिए।
'संविधानसभाको म्याद थप्ने बेलासम्म पनि सरकार बनेन भने कामचलाउ सरकारले लगेको म्याद थप प्रस्तावको वैधानिकता नहुने कानुनविद्हरुले सुझाव दिएका छन्,' खनालको भनाइ उद्धृत गर्दै गजुरेलले भने, 'कानुनविद्हरूसँग पनि छलफल गर्नुपर्ला।' त्रिदलीय बैठकमा नेपाली कांग्रेसले यसअघि जेठ १४ मा संविधानसभाको म्याद थप गर्दा भएको पाँचबुँदे सहमति कार्यान्वयन हुनुपर्ने र त्यही सहमतिअनुसार प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने माग दोहोर्‍याएको थियो।

Thursday, August 11, 2011

शान्ति प्रक्रिया टुंग्याउन कांग्रेसलाई देऊ : कोइराला

काठमाडौं, साउन २६- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले शान्ति प्रक्रिया पूरा गर्न आफ्नो पार्टीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन्।
मलेसियाबाट फर्केको जनाउ दिन दाहालले बुधबार कोइरालालाई टेलिफोन गरी प्रधानमन्त्री झलनाथ खनालको आसन्न राजीनामापछि आफ्नो पार्टीको नेतृत्वमा सहमतिको सरकार बनाउन सहयोगका लागि आग्रह गरेका थिए।
दाहालले शान्ति प्रक्रिया टुंग्याउन 'तीन चार महिना लाग्छ' भनेपछि कोइरालाले 'त्यसका लागि कांग्रेस नेतृत्वको सरकार बनाउन' आग्रह गरेका थिए। कोइरालाले साँझ महाराजगन्ज निवासमा पत्रकारहरूसँग भने, 'मैले उहाँलाई शान्ति प्रक्रिया टुंग्याउन जति समय लाग्छ त्यतिका लागि हाम्रो पार्टीको नेतृत्वमा सरकार बनाऊँ भनेँ।'
कोइरालाका अनुसार दाहालले भने त्यसको जवाफ दिएनन्। बरु आफ्नो पार्टीको नेतृत्वमा सरकार बने प्रक्रिया सहज रूपले अघि बढ्ने आश्वासनमात्र दिए।
कोइरालाले माओवादी आश्वासनको आशमा बस्न नसकिने तर्क गर्दै शान्ति प्रक्रिया पूरा नभएको अवस्थामा माओवादी नेतृत्वको सहमतिको सरकार बन्न नसकिने धारणा दोहोर्‍याए। साँझै कोइरालाले पार्टीका नेताहरू शेरबहादुर देउवा र रामचन्द्र पौडेलसँग आफ्नो निवासमा नयाँ परिस्थितिबारे छलफल गरेका।
खनालले राजीनामा गरेपछि कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार को बन्ने भन्ने प्रश्नमा कोइरालाले पार्टीमा 'सहमति भए सहमतिको उम्मेदवार बन्ने, नभए प्रक्रियाबाट (संसदीय दलका नेता) उम्मेदवार हुने प्रस्ट छ' भने। प्रधानमन्त्रीका आकांक्षी देउवा र संसदीय दलका नेता पौडेलमध्ये को उम्मेदवार बन्ने भन्नेबारे उनले ती दुईजनाबीच सहमति हुने आशा प्रकट गरे।
तपाईं आफैं भने उम्मेदवार बन्न चाहनु हुँदैन भन्ने प्रश्नमा भने उनले हाँस्दै 'किन झगडा लगाउनुहुन्छ' भन्ने प्रतिप्रश्न गरे। शीर्ष नेताहरूको आलोपालोसहितको सहमतिको सरकारको सम्भावनाबारे भने उनले 'अहिल्यै केही भन्न नसकिने' बताए।
दाहालप्रति विश्वास छैन भने बाबुराम भट्टराई उम्मेदवार बन्दा फरक पर्छ भन्ने प्रश्नमा पनि उनले त्यो व्यक्तिको नभई पार्टीसँग अविश्वासको विषय हुँदै आएको प्रस्ट गरे। शान्ति प्रक्रिया अघि नबढेको मात्र नभई, संविधानका आधारभूत विषयमा समेत सहमति जुट्न नसकेको दर्शाउँदै कोइरालाले माओवादीप्रति अविश्वास हट्ने आधार नबनेको जिकिर गरे।

Sunday, August 7, 2011

मंगलमा पानीको संकेत पत्ता लगाउनेमा नेपाली पनि

काठमाडौ, श्रावण २२ - संसारभरका वैज्ञानिकहरूका लागि यो साता खुसीको विषय बन्यो- मंगल ग्रहमा पानीको संकेत ! खुसी नहुनु पनि किन, जहाँ पानी त्यहाँ जिन्दगानी ! तर हाम्रा लागि चाहिँ खुसीको कुरा अझ अर्कै छ- त्यो पानीको सम्भाव्यता पत्ता लगाउने अनुसन्धान टोलीमा नेपाली युवा बिध्यार्थी पनि थिए । थिए मात्र हैन, उनले नै सुरुमा पानीको सम्भावना औंल्याएका थिए ।
संयुक्त राज्य अमेरिकाको एरिजोना विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत नेपाली लुजेन्द्र ओझा त्यही अनुसन्धान टोलीका एक सदस्य हुन् जुन टोलीले मंगल ग्रहमा पानी र जीवको अस्तित्व हुन सक्ने गतिलो आधार हालै प्रस्तुत गरेको थियो । विध्यालय
एरिजोना विश्वविध्यालयका लुनार एन्ड प्लानिटोरी प्रयोगशालाका अनुसन्धानकर्मी अल्फ्रेड म्याक्विनलाई उद्धृत गर्दै बिहीबार प्रकाशित वासिङटन पोस्टमा लेखिएको छ, 'सुरुमा जियोफिजिक्सका जुनियर लुजेन्द्र ओझाले मंगल ग्रहबाट स्याटेलाइटले पठाएका तस्बिरहरूमा गाढा धर्साहरू देखेछन् । उनले ती धर्साहरूलाई निरन्तर नियालेर अध्ययन गर्दै जाँदा मौसमअनुसार तिनमा नाटकीय परिवर्तन आएको पाए ।' म्याक्विन उक्त अनुसन्धानबारे 'साइन्स' जर्नलमा प्रकाशित आलेखका प्रमुख लेखक हुन् । लुजेन्द्रका अनुसार उनी आफ्नो विश्वविद्यालयका लागि मंगल ग्रहबारेको शोधमा अरू तीन वरिष्ठ अनुसन्धानकर्मीहरूसँगै खटिएका थिए । स्याटेलाइटबाट प्राप्त तथ्यांकहरू जम्मा गर्ने उनको जिम्मेवारी थियो भने समूहका अरू अग्रजहरू त्यसबारे विश्लेषण गर्थे । विश्वविद्यालयले सन् २००५ मा 'हाइराइज' नामको स्याटेलाइट मंगल ग्रहमा पठाएको थियो ।
त्यो स्याटेलाइटले मंगलबाट तस्बिरहरू पठाउँथ्यो । त्यसलाई बटुलेर अध्ययन गर्ने जिम्मा लुजेन्द्रको थियो । 'मलाई दिनदिनै कौतूहल बढ्दै गयो,' एरिजोनाबाट शनिबार उनले स्काइपमा कान्तिपुरसित भने, 'हरेक सिजनमा एकै ठाउँको फरक-फरक फोटो आएपछि झनै गहिरिएर बुझ्न मन लाग्यो ।'
एकै ठाउँको तस्बिर पनि गर्मी सिजनमा एकदमै स्पष्ट र जाडोमा कालो देखेपछि गत वर्ष उनले टोलीका वरिष्ठहरूलाई भनेछन्, 'ल पक्का त्यहाँ केही छ ।' उनीहरूले सुरुमा त पत्याएनन् रे । 'तर वैज्ञानिक तथ्य न हो,' उनले भने, 'मैले नपत्याउनुलाई अनौठो मानिन, सुरुमा सबैले विश्वास गर्दैनन् ।' तैपनि उनले त्यहाँ पानीको सम्भावना हुन सक्ने उल्लेख गर्दै लेखे, 'एभिडेन्स अफ वार्म सिजन बि्रनी फ्लोज अन मार्स ।'
अन्ततः नासाले यही अनुसन्धानलाई आधार मान्दै 'मंगल ग्रहमा पानी र जीवको अस्तित्व हुन सक्ने' घोषणा गरेको हो ।
'अहिलेसम्मकै सर्वोत्कृष्ट खोज,' नासाले आफ्नो मुख्यालय वासिङटनमा बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको थियो । यसअघि मंगल ग्रहमा पानी र जीव अस्तित्वबारे गरिएका अनुसन्धानमा यसपटक जस्तो भरपर्दो प्रमाण पाइएको थिएन ।
पछिल्लो अनुसन्धानबाट पत्ता लागेअनुसार मंगल ग्रहको भूमध्य भागको दक्षिणी क्षेत्रमा पानीको बहाव हुन सक्ने देखिएको छ । उक्त क्षेत्रमा पानी अनुकूल तापक्रम पनि पाइएको छ । पानीको बहाव भने एकदमै कमजोर रहेको जनाइएको छ । तस्बिरहरूको विश्लेषणबाट त्यहाँका खोलाहरू औंला आकार जस्तै साँघुरिएर बगेका र ती आधादेखि ५ मिटरसम्म चौडाइका भएको अनुमान छ ।
नासाको यो पछिल्लो जानकारीसँगै लुजेन्द्र चर्चामा आएका हुन् । 'यत्तिको चर्चा होला भन्ने सोचेकै थिइनँ,' ९ महिनाअघि यो तथ्य पत्ता लगाए पनि बिहीबारमात्रै नासाले आधिकारिक रूपमा पुष्टि गरेपछि लुजेन्द्रले भने, 'जीवनमा यति धेरै खुसी कहिल्यै भएको थिइनँ ।'
उनलाई फेसबुकमा पनि धेरैले बधाई र शुभकामना दिइरहेका छन् । 'तिमी जस्तो लगनशील नेपालीको साथी बन्न पाएकामा गर्व लागेको छ,' क्यालिफोर्नियाकी मेलिसा मिलानले भनेकी छन् ।
काठमाडौं, म्हैपीका लुजेन्द्र ६ वर्षअघि अमेरिका गएका हुन् । अमेरिका जानुअघि ९ कक्षासम्म ग्यालेक्सी पब्लिक स्कुलमा सँगै पढेका काठमाडौंका अमिर जोशीले भने, 'एकदमै बिन्दास खालको थियो तर एउटा कुरामा ध्यान दिइरहने बानी थियो ।' लुजेन्द्रका अनुसार उनका बुबा डा. टंकप्रसाद ओझा पनि एरिजोना विश्वविद्यालयमै अनुसन्धानकर्ता छन् ।
यसैबीच विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. रामहरि अर्यालले लुजेन्द्रको कामको प्रशंसा गर्दै उनले नेपालको नाम राखेको प्रतिक्रिया दिएका छन् । तर उनको योगदानबारे मन्त्रालयमा आधिकारिक रूपमा कुनै खबर नआएको उनले बताए ।