Friday, July 31, 2009

सुरक्षा कार्ययोजना कार्यान्वयन दुई साताभित्र

दण्डहीनता अन्त्य गरी शान्ति सुरक्षा र कानुनको शासन बहाली गर्ने उद्देश्यले गृह मन्त्रालयले ल्याएको विशेष सुरक्षा कार्ययोजना कार्यान्वयन हुन अझै दुई साता लाग्ने भएको छ। कार्ययोजना कार्यान्वयनका लागि राजनीतिक दलहरूको सहमति जुटाउने र सुरक्षा अधिकारीहरूलाई अभिमुखीकरण कार्यक्रम गरी कार्ययोजना भदौ १ भित्र लागू गर्ने आन्तरिक तालिका गृहले बनाएको छ।
गृहका एक सहसचिवले नाम उल्लेख नगर्ने सर्तमा नागरिकलाई दिएको जानकारीअनुसार प्रमुख राजनीतिक दलको सहमति लिई कडा रुपमा पेस हुने रणनीति गृहमन्त्री रावलले बनाएका छन्। 'विशेष सुरक्षा कार्ययोजनाप्रति धेरैले आशा व्यक्त गरेका छन्,' रावललाई उद्धृत गर्दे ती सहसचिवले भने, 'सबै तयारी सकेर भदौको पहिलो दिनदेखि नै कार्यान्वयनमा गइसक्ने गरी तयारी थाल्नुस्।' कार्ययोजनाको उद्देश्य हासिल गर्न सिडिओ, क्षेत्रीय प्रशासक र केन्द्रमा मन्त्रालयको नेतृत्वमा सशस्त्र, जनपद प्रहरी र गुप्तचर संयुक्त रूपमा परिचालन गर्ने योजना छ।
सुरक्षासम्बन्धी विद्यमान ऐन, नियमले प्रशासनलाई यथेष्ट अधिकार प्रदान गरे पनि कार्यान्वयन पक्षमात्र फितलो भएको निष्कर्ष निकाल्दै 'सुरक्षा व्यवस्था प्रभावकारी तुल्याउन सचेतना कार्ययोजना' समेत तय गरिएको छ। 'पहिलो चरणमा सिडिओ, जिल्ला प्रहरी, गुप्तचरहरूको अभिमुखीकरण कार्यक्रम राखिएको छ,' स्रोत भन्छ, 'त्यसपछि यस कार्यक्रममा जनसमर्थन जुटाउन प्रचार प्रसारमा जान्छौं।'

पाँच भागमा विभाजित कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक सहमति एकमात्र पूर्व सर्त भएको जानकारहरूको सुझावप्रति मन्त्री रावल गम्भीर देखिएका छन्। सार्वजनिक सेवा वा सडक अवरोध नियन्त्रण, संगठित तथा गम्भीर प्रकृतिका अपराध नियन्त्रण, काठमाडौं उपत्यका विशेष सुरक्षा, तराई तथा पूर्वी एवं मध्य पहाडी सुरक्षा कार्ययोजनाका प्रमुख अंग हुन्।

बन्द, हड्ताल, घेराउ, चक्काजामजस्ता आम जनजीवनमा खलल पुर्‍याउने क्रियाकलापमा प्रत्यक्ष/परोक्ष राजनीतिक संरक्षण हुने सुरक्षा अधिकारीहरूको गुनासो रहँदै आएको छ।
चार दर्जनभन्दा बढी ऐन नियमले यथेष्ट अधिकार दिएको भए पनि केही वर्षयता कार्यान्वयन ज्यादै फितलो भइरहेकामा मन्त्रीले गम्भीर चिन्ता व्यक्त गरिरहेका छन्। 'राजमार्ग सुचारु र छिन-छिनमा हुने बन्द हड्ताल नियन्त्रण गर्न सकेमात्र शान्ति सुरक्षाको दुई तिहाइ समस्या समाधान हुन्छ,' मन्त्रालय र सुरक्षा निकायका उच्च अधिकारीलाई झक्झक्याउँदै रावलले पटकपटक भनिरहेका छन्, 'सरकारी कार्यालयमा ताला लगाउने, विद्यालय बन्द गराउनेलाई ठोक्नुपर्छ।' अपहरण, फिरौती, हप्ता असुलीजस्ता अपराध मौलाउँदै गएकोमा त्यसलाई लक्षित गरी मन्त्रालयले संगठित अपराध नियन्त्रण र गुण्डागर्दी नियन्त्रण विधेयकको मस्यौदा समेत गरिरहेको छ।

राजमार्ग र सरकारी कार्यालय कुनै हालतमा बन्द हुन नदिने अठोट कार्ययोजनामा छ। फागुनदेखि वैशाख तीन महिनामा मात्र ५ सय ८० पटक बन्द भएको तथ्यांक प्रस्तुत गर्दै रावलले राजमार्गमा २४ घण्टा गस्तीको व्यवस्था मिलाउन सुरक्षा अधिकारीहरूलाई निर्देशन दिइसकेका छन्।

तत्काललाई संवेदनशील क्षेत्रमा प्रहरीको संख्या बढाउने गृहकार्य सुरु भइसकेको छ। सुरक्षा निकायको दरबन्दी बढाएर सरकारको उपस्थिति सर्वत्र गराउने पक्षमा उनी छन्। मुलुकभरि विभिन्न नाममा १ सय ९ सशस्त्र समूह रहेको तथ्यांक सरकारको छ। यीमध्ये राजनीतिकबाहेक अरु उद्देश्य बोकेकालाई तह लगाउने रणनीति सरकारको छ।
'लाखौं जनताको सुरक्षा बिथोल्ने आठ/दशजना मारिन्छन् भने पनि पछि हट्नु नपरोस्,'

प्रधानमन्त्री नेपाललाई साताको सुरुमा रावलले गरेको वि्रफिङ उद्धृत गर्दै स्रोत भन्छ, 'सुरक्षा निकायलाई भुत्ते बनाइएको छ, साँध लगाएर प्रयोग गर्न सबैको सहयोग चाहिन्छ।' कार्ययोजनामा समर्थन जुटाउन रावलले बुधबार बिहान नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई निवासमै गएर भेटेका थिए।

कार्ययोजना मस्यौदा चरणमा गृहमन्त्रालयअन्तर्गत सबै सुरक्षा निकायका अधिकारीहरूको सहभागिता भएकाले कार्यान्वयन गर्न सजिलो र व्यवहारिक हुने विश्वास गरिएको छ।
स्रोतका अनुसार शान्ति सुरक्षा महाशाखाका सहसचिव नवीन घिमिरेको नेतृत्वमा कार्ययोजना मस्यौदामा डिआइजी कुवेरसिंह राना, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य महानिर्देशक मोती गुरुङलगायत अधिकृत संलग्न थिए।

गृहमन्त्रीको रुपमा दुई महिनाको काममा घिमिरेसँग प्रभावित रावलले उनलाई गृहसचिव बनाउने प्रस्ताव गरेको मन्त्रिपरिषद् स्रोतको दाबी छ। गोविन्द कुसुमलाई हटाएर घिमिरेलाई ल्याएपछि कार्ययोजनाको कार्यान्वयन सहज हुने तर्क रावलले प्रधानमन्त्रीसमक्ष राखेका छन्।

रावलले फेर्न चाहे पनि एमाले महासचिव ईश्वर पोखरेलका साढुभाइ एवं नौ महिने सरकारमा तत्कालीन उपप्रधानमन्त्री माधवकुमार नेपालको स्वकीय सचिव कुसुमलाई हटाउने निर्णय लिन प्रधानमन्त्रीका लागि सजिलो छैन।

Sunday, July 26, 2009

सचिव जोशीले राजिनामा दिए

काठमाडौं, - नेपाल सरकारका सचिव जनकराज जोशीले राजिनामा दिएका छन्। उनले अपराह्न २ बजे प्रधानमन्त्रीसमक्ष सरकारले सचिव र मुख्य सचिवमा बढुवा गर्दा वरियताक्रम मिचेर 'आफूभन्दा कनिष्ठ माधव घिमिरेलाई मुख्यसचिवमा बढुवा गरिएकामा' रोष प्रकट गर्दै आइतबार राजिनामा दिएका हुन। सचिव जोशी राष्ट्रिय योजना आयोगमा थिए र उनको पदावधि यही भदौ २२ गतेसम्म छ।
मन्त्रिपरिषद्को शुक्रबारको बैठकले एकै दिन सचिव भएका तीन जनामध्ये घिमिरेलाई मुख्यसचिव र उमेश मैनालीलाई राष्ट्रपति कार्यालयको प्रमुख सचिव नियुक्त गरेको थियो । सरकारले वरिष्ठता र कार्यदक्षता हेरेर राम्रोलाई बढुवा गर्ने हो' भन्दै जोशीले घिमिरेभन्दा वरिष्ठमात्र नभई कार्यदक्षताको दृष्टिमा समेत आफू धेरै योग्य भएको दाबी गरेका थिए । 'मभन्दा कनिष्ठ व्यक्ति मुख्यसचिव हुनुभएको छ । म आफूभन्दा कनिष्ठलाई मुख्यसचिव मानेर बस्न सक्दिन साथै भने - 'कार्यदक्षताका दृष्टिमा समेत म उहाँ (घिमिरे) भन्दा कुनै पनि हालतमा कम छैन भन्ने मेरो दाबा हो। 'उनले आफूभन्दा कनिष्ठलाई मुख्यसचिव बनाउनुको आधार के हो त्यो सरकारले खुलाउनुपर्ने मागसमेत गरेका छन्।
२०४६ सालको परिवर्तनपछि वरिष्ठलाई बनाउने परम्पराविपरीत चौथोचोटि कनिष्ठलाई मुख्यसचिव बढुवा गरिएको हो।सरकारबाट परम्परा तोडेर आफूभन्दा ११ महिना कनिष्ठ बिमल कोइरालालाई मुख्यसचिव बनाइएपछि यसअघि तत्कालीन सचिव श्रीकान्त रेग्मीले राजिनामा दिएका थिए । परम्परा तोडि‌दा राजिनामा दिने जोशी दोस्रो प्रशासक हुनेछन्। रेग्मीले 'मुख्यसचिव बढुवा क्रममा मन्त्रिपरिषद्ले अयोग्य ठहर् याएकाले अयोग्य व्यक्तिले पदमा बसिरहन मिल्दैनु भन्दै राजिनामा दिएका थिए। 'यसअघि लोकमानिसंह कार्की र भोजराज घिमिरेलाई मुख्यसचिव बनाउँदा पनि वरिष्ठलाई बनाउने परम्परा तोडिएको थियो। तत्कालीन मुख्यसचिव बलरामिसंह मल्ललाई राजदूत बनाई सरकारले अस्वाभाविक ढंगले उक्त पदमा तीर्थमान शाक्यलाई ल्याएको थियो । मल्लले मुख्यसचिवको पदावधि पूरा गरेको भए शाक्य पहिल्यै अवकास पाइसक्थे र वरिष्ठताका आधारमा तत्कालीन सचिव पदम पोखरेल मुख्यसचिव हुन्थे। मल्ललाई पदावधि नसिकंदै राजदूत बनाएर शाक्यलाई मुख्यसचिव बनाइएको हो।

Wednesday, July 22, 2009

शताब्दीको सबैभन्दा लामो खग्रास सूर्यग्रहण

शताब्दीको सबैभन्दा लामो खग्रास सूर्यग्रहण बुधबार बिहान ५ बजेर ४५ मिनेटदेखि पौने आठबजेसम्म नेपालबाट देखियो । १२३ वर्षपछि देखिएको सूर्यग्रहणको सो दुलर्भ दृश्य हेर्ने बुधबार बिहानैदेखि मानिसहरु घरबाट बाहिर निस्केका थिए। अब २१८१ सालमा मात्र यस्तो सूर्यग्रहण देखिने वैज्ञानिकहरुले जनाएका छन्। सूर्यग्रहण नेपालको पूर्वका केही जिल्ला झापा, इलाम, मोरङ, सप्तरी, धनुषाबाट खग्रास र काठमाडौं लगायत बाँकी जिल्लाबाट खण्डग्रासको रुपमा देखिएको थियो।
सूर्यग्रहणको अवधि जम्मा दुई घण्टा २५ मिनेटको थियो। खग्रास सूर्यग्रहण अवधि भने अधिकतम ६ मिनेट रहेको र नेपालबाट भने अधिकतम तीन मिनेटको खग्रास देखिएको खगोलविदहरुले बताए। सूर्यग्रहण हेर्न र सूर्यग्रहणपछि स्नान गर्न ठूलो सङ्ख्यामा मानिसहरु देवघाट, त्रिसुली बागद्वारलगायतका नदी भएको स्थानमा पुगेका थिए। श्रद्धालु भक्तजनहरु स्नान गर्न भारतका बनारस हरिद्धारलगायतका तीर्थस्थलमा पनि गएका राससले जनाएको छ। साथै शताब्दीको सबैभन्दा लामो खग्रास सूर्यग्रहण लागिरहेको समयमा चितवनको पवित्र तीर्थस्थल देवघाटधाममा स्नान गर्न चितवन, नवलपरासी तनहुँलगायत विभिन्न जिल्लाबाट भक्तजनहरुको घुँइचो लागेको थियो ।

Tuesday, July 21, 2009

अख्तियारद्बारा साढे पाँच करोड अनियमितताको दावी

प्रहरी प्रधान कार्यालयको प्रबन्ध महाशाखाले गत जेठ ३१ मा प्रस्तावक १० कम्पनीको टेन्डर खोली सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ विपरीत कम मूल्यको टेन्डरलाई पन्छाई महागो मूल्य प्रस्ताव गरेको आनन्द ट्रेड कन्सर्नसित ५६ हजार ५९ थान पार्का ज्याकेट किन्ने निर्णय गरेको खुलासा भएको छ।

सबभन्दा कम मूल्य प्रस्ताव गरेका भन्दा आनन्द ट्रेड कन्सर्नसित खरिद गर्दा कुल मूल्य ५ करोड ६२ लाख २७ हजार १ सय ७७ रुपैयाँ बढी पर्न जान्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिद प्रक्रियामा संलग्न प्रहरी अधिकृतहरूबाट सबभन्दा कम र तेस्रो बढी मूल्य प्रस्ताव गर्ने कम्पनीबीच परेको फरक रकम साँढे पाँच करोड रुपैयाँभन्दा बढी अनियमितता भएको निष्कर्श निकालेको छ।
प्रहरी प्रहरी प्रधान कार्यालयले भने मूल्यांकन समितिबाट प्रस्तावक १० कम्पनीका कागजात र नमुनासहितको बोलपत्रको परिक्षणका आधारमा आनन्द ट्रेड कन्सर्नको बोलपत्र स्वीकृतिको लागि छनोट भएको दाबी गरेको छ।
अख्तियारले खरिद प्रक्रियामा अनियमितता गरेको आशंका गरी प्रहरी प्रधान कार्यालयको प्रबन्ध शाखाका प्रहरी नायव महानिरीक्षक रमेशविक्रम शाह, प्रहरी नायव उपरिक्षक गणेश रेग्मी र प्रहरी निरीक्षक सीताराम चापागाईंमाथि छानबिन गरिरहेको छ।

Monday, July 13, 2009

अख्तियारद्वारा प्रहरी प्रधानकार्यालयबाट कागजात जफत

काठमाडौं असार २९- प्रहरीले प्रयोग गर्ने पार्का ज्याकेट खरिदमा अनियमितता भएकोबारे छानविन सुरु गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयबाट आइतबार खरिदसम्बन्धि सम्पूर्ण कागजात जफत गरेको छ। अख्तियारले आइतबार अपरान्ह गृह मन्त्रालय हेर्ने आफ्ना सहसचिवको नेतृत्वमा एक टोली प्रधानकार्यालय प्रवन्ध शाखामा पठाइ सम्पूर्ण कागजात कब्जामा लिएको हो । प्रहरीको पार्का ज्याकेट खरिदमा अनियमितता भएको उजुरी ब्यवसायीहरुबाट परेपछि अख्तियारले यो कदम उठाएको हो। पत्राचार मार्फत पनि यस्ता कागजात मागिने गरेकोमा अख्तियारले प्रहरीमाथिको यो छानविनमा आफ्नो टोलीमार्फत फायल कब्जा गर्न लगाएको छ। अख्तियारका आयुक्त वेदप्रकाश सिवाकोटीका अनुसार ज्याकेट खरिदका लागि बोलपत्र आव्हान गर्दा कम मूल्यमा उपलब्ध गराउनेलाई ठेक्का नदिई महँगो मूल्यको सामान रोजिएको र त्यहाँ भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियारले खरिदसम्बन्धि सम्पूर्ण कागजात आफ्नो कब्जामा लिएको हो। सिवाकोटीले भने, "सामान ठेक्कामा गुणस्तरको पनि कुरा हुन्छ गुणस्तरको जाँच गरिएको छ कि छैन र ठेक्का प्रकृया कस्तो रहेको छ भन्ने अनुसन्धान हामीले गर्ने हो।
"प्रहरीले पार्का ज्याकेट खरिदका दीपक भट्ट प्रवन्ध निर्देशक रहेको आनन्द ट्रेड कन्सर्न टेकुलाई एउटाको २४ अमेरिकी डलर मूल्यमा ठेक्का दिएको छ। बोलपत्र दिएका अन्य केहि व्यावसायीले भने आफूले आनन्द ट्रेडको भन्दा कम मूल्यमा ज्याकेट उपलब्ध गराउने अवस्थामा भ्रष्टाचार गरी महंगो छानिएको आरोप लगाएका छन्। उनीहरुले सामान ठेक्कामा गुणस्तर परिक्षण गरिनु पर्नेमा आफ्ना सामानको परिक्षण नभएको जिकिर समेत गरेका छन्।यसरी बोलपत्र भर्ने मध्ये पिस नेपाल फेसन इण्डस्ट्रिज प्रालिले आफ्नो नेपाली उत्पादन १ हजार ९९ रुपैंयाँमा उपलब्ध गराउने दावी पेस गरेको बताएको छ । यस्तै विदेशी उत्पादनको ज्याकेट खरिद गर्ने दावी प्रस्तुत गरेको सिद्धि देउराली ट्रेडस्रले भने एउटा ज्याकेटको मूल्य १० डलर ९९ सेन्ट दावी गरेको छ।पिस नेपालका प्रवन्धक अधिकारीले नागरिकसँग भने, "हाम्रो दावी कम मूल्यको हुँदाहुँदै गुणस्तर समेत जाँच नगरी हाम्रो भन्दा महँगो मूल्यमा ज्याकेट किन्ने ठेक्का दिँदा हामी अख्तियार गएका हौं।" अधिकारी लगायतका व्यावसायीले अख्तियारमा दर्ता गरेको उजुरीमा प्रहरी प्रधानकार्यालयको प्रवन्ध शाखाका प्रहरी नायब महानिरिक्षक रमेशविक्रम शाह प्रहरी नायब उपरिक्षक गणेश रेग्मी र प्रहरी निरिक्षक सिताराम चापागाईंमाथि भ्रष्टाचारको आरोप लगाइएको छ। ब्यवसायीको उजुरी र अख्तियारले कागजात कब्जामा लिएको बारे बुझ्न फोनसम्पर्क गर्दा नायब महानिरिक्षक शाहले कुनै अनियमितता नभएको संक्षिप्त प्रतिकि्रया दिए ।

Friday, July 10, 2009

नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं, असार २५- राष्ट्रपति डा। रामवरण यादवले बिहीबार संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे। प्रमुख विपक्षी दलका एकिकृत नेकपा माओवादीले औपचारिकताका लागि मात्र उपस्थित जनाए पनि अन्य सबै दलका सबै जसो सभासद् उपस्थित संविधानसभा भवनमा राष्ट्रपति यादवले जनतालाई सधैं हैरान पार्ने बन्द रोक्न विशेष योजना ल्याइने बताए। त्यसैगरी संविधान निर्माणअघि नै माओवादी सेनाको पुनस्थापना गरिसक्ने, जेष्ठ नागरिक र हिंसापीडित महिलाका लागि आवास गृह बनाउने, माध्यमिकसम्मको शिक्षा निशुल्क बनाउन प्रक्रिया सुरु गर्ने जस्ता कार्यक्रम उनले अघि सारेका छन्।प्रधानसेनापति रुक्माङ्गद कटवाललाई नै पदमा थमौति गर्ने राष्ट्रपतिको कदमको विरोध गर्दै आएको नेकपा माओवादीका प्रमुख सचेतक पोष्टबहादुर बोगटी, नारायण काजी श्रेष्ठ र एक जना अर्का माओवादी सभासद् मात्र भवनमा थिए।
यसबाहेक सरकारको नीति तथा कार्यक्रमले अघि सारेका केही मुख्य प्राथमिकता यसप्रकार छन् ।
- निर्धारित समयभित्र राष्ट्रिय सहमतिका आधारमा नयाँ संविधानको निर्माण राज्यको पुनःसंरचना सामन्तवादको अन्त्य र आर्थिक-सामाजिक रुपान्तरणका साथ तीब्र आर्थिक विकास सरकारका मुख्य प्राथमिकता
- नेपालको सार्वभौमसत्ता क्षेत्रीय अखण्डता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै सीमा सुरक्षा सुदृढ गरिने
- सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न कानुन र नियमहरुमा परिवर्तन गरिने
- पूर्व राजपरिवारको स्वदेश र विदेशमा रहेको सम्पत्तिको छानबिन गरी राष्ट्रको हितमा उपयोग गरिने
- सुरक्षासम्बन्धी जनगुनासोको तत्काल सुनुवाई हुने व्यवस्था गरिने
- निजामती प्रशासन नेपाली सेना सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलगायतका सुरक्षा निकायलाई दलीय राजनीतिबाट मुक्त राखिने
- बन्द रोक्न विशेष योजना ल्याइने
- विभिन्न पक्षसँग भएका सम्झौताको कार्यान्वयनको अनुगमन गर्न उच्चस्तरीय अनुगमन समिति गठन गरिने
- स्थानीय निकाय निर्वाचनका लागि राष्ट्रिय सहमति जुटाइने निर्वाचन नभएसम्म संवैधानिक प्रावधानअनुरुप स्थानीय निकाय साचालनका लागि अन्तरिम व्यवस्था गरिने
- संविधान निर्माणले पूर्णता पाउनुअगावै माओवादी सेनाका लडाकुको रेखदेख पुनःस्थापना र समायोजनको कार्य सम्पन्न गरिने
- शान्ति सम्झौतामा उल्लिखित राष्ट्रिय शान्ति तथा पुनःस्थापना आयोग उच्चस्तरीय सत्य निरुपण तथा मेलमिलाप आयोग राज्यको पुनःसंरचनासम्बन्धी उच्चस्तरीय सुझाव आयोग बेपत्ता पारिएकाहरुको खोजी गर्ने आयोगहरुको गठन/पुनःगठन गरिने
- द्वन्द्व प्रभावित जेष्ठ नागरिकका लागि पाँचै विकास क्षेत्रमा एक-एक वटा 'आरोग्य आश्रम' को निर्माण कार्य सुरु गरिने
- जेष्ठ राष्ट्रिय प्रतिभाहरुको सम्मान र सुरक्षाका लागि काठमाडौमा 'सर्जक आश्रम' स्थापना गरिने
- द्वन्द्वका क्रममा मारिएका र बेपत्ता पारिएकामध्ये राहत नपाएका परिवारलाई राहत दिइनेछ र विस्थापितको पुनःस्थापनाको कामलाई अघि बढाइने
- गरिबीको रेखामुनि रहेका जनताका लागि वर्षभरिमा न्यूनतम सय दिन रोजगारी राज्यले सुनिश्चित गर्न रोजगारी प्रत्याभूति कार्यक्रमू साचालन गरिने विशेष परिचयपत्र बनाएर त्यसका आधारमा विभिन्न क्षेत्रमा सुविधा उपलब्ध गराइने ।
- वैज्ञानिक भूमिसुधार लागू गर्दै जमिनमा स्थानीय भूमिहीन तथा जोताहा किसानको पहुँच कायम गरिने- लगानी बोर्ड स्थापना गरी राष्ट्रिय महत्वका निजी क्षेत्रको लगानीसम्बन्धी निर्णयहरुको छिटो-छरितो कार्यान्वयन गरिने
- नेपाल वायुसेवा निगमलाई सार्वजनिक-निजी साझेदारीमा साचालन गरिने
- सौर्य ऊर्जा र लघु तथा साना जलविद्युत् विस्तार गरी 'उज्यालो नेपाल अभियान' साचालन गरिने- ठेक्का प्रणालीलाई प्रतिस्पर्धी तुल्याउन बहुकेन्द्र र विद्युतीय माध्यमबाट टेन्डर बुझाउने व्यवस्था गरिने
- निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा र लुम्बिनीमा क्षेत्रीय विमानस्थलहरुको निर्माण सुरु गरिने
- दुर्गम तथा पहाडी विकट क्षेत्रका जनतालाई मूल्य वृद्धिको मारबाट सुरक्षित गर्न थप ढुवानी अनुदान दिइने
- निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको कारोबारमा संलग्न गराउन आवश्यक कानुनी संरचना तयार गरी कार्यान्वयन गरिने-
माध्यमिक तहसम्मको शिक्षालाई क्रमशः निःशुल्क तथा अनिवार्य बनाउने कार्यक्रम अघि बढाइने
- स्वास्थ्य चौकीमा चौबीसै घण्टा प्रसूति सेवा उपलब्ध हुने व्यवस्था गरिने
- काठमाडौको सफाई र ट्राफिक व्यवस्थापनमा आमूल सुधार गरिने
- अत्यन्त पिछडिएका र विपन्न दलित लोपोन्मुख जाति र सीमान्तकृत समुदायलाई लक्षित गरी न्यून लागतको जनता आवास गृहू को व्यवस्था गरिने
- अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरुको जीवन निर्वाहका लागि विशेष व्यवस्था गरिने- अपहरण बलात्कार लागू पदार्थ कारोवार बोक्सीको आरोप छूवाछुत जस्ता कार्यलाई निषेध गर्न कडा दण्डको व्यवस्था गरिने
- टेलिफोन सेवा नपुगेका सबै गाविसमा यसै वर्ष टेलिफोन सेवा विस्तार गरिने
- दलित समुदायको उत्थानका लागि सकारात्मक विभेदका कार्यक्रम लागू गरिने
- घरेलु हिंसाबाट विस्थापित महिलालाई अल्पकालीन आश्रय दिन बढी हिंसाग्रस्त १५ स्थानमा महिला आवासगृह स्थापना गरिने
- श्रमयोग्य उमेरका विधवाका लागि रोजगारीमा अग्राधिकार कायम गरिने
- आगामी आर्थिक वर्षमा दक्षिण अफ्रिका, ब्राजिल, क्यानडा र कुवेत गरी चार मुलुकमा नेपाली दूतावास स्थापना गरिने
- उच्चस्तरीय तलब आयोगको प्रतिवेदनलाई आधार मानी कर्मचारीको सुविधामा समयानुकूल वृद्धि गरिने

Monday, July 6, 2009

संसद चल्न दिने तर नीति तथा कार्यक्रमसहित बजेट ल्याउन मात्र !

काठमाडौं, - सदनको गतिरोध अन्त्य गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग गरेको छलफल सकारात्मक रुपमा टुंगिएको छ। सोमबारको संसदको बैठकमा प्रधानमन्त्री माधव नेपाल र माओवादी अध्यक्ष दाहालले संवोधन गर्ने छन्।माओवादीको मागअनुसारको संवोधन गर्न नेपाली कांग्रेस तयार भएकाले छलफल सकारात्मक भएको माओवादी नेता भट्टराईले जानकारी दिए। माओवादी सचिवालय बैठक लगत्तै माओवादी नेता कोइराला निवास महाराजगञ्ज पुगेका थिए।भेटपछि कांग्रेस नेता कृष्ण सिटौलाले माओवादी सहमतिको राजनीतिमा आउन तयार रहेको बताए। उनले सरकारको नीति तथा कार्यक्रमसहित पूर्ण बजेट नै आउने बताए।

नेता भट्टराईले भने सहमतिको नजिक पुगेको बताए पनि के मा सहमति भएको हो भन्ने विषयमा प्रष्ट पारेनन्। प्रधानमन्त्रीको संवोधनलाई अन्तिम रुप दिन एमाले र माओवादीबीच छलफल भइरहेकोछ। यसअगाडि माओवादीको सचिवालय बैठकले पेश्की बजेट पेश गर्न सदन सुचारु गर्ने निर्णय गरेको थियो। बैठकले पुरक बजेट ल्याउन भने नागरिक सर्वोच्चता सम्बन्धि नदिने निर्णय गरेको छ। प्रधानसेनापतिका विषयमा राष्ट्रपतिले चालेको कदम नसच्चिएसम्म सदन सुचारु गर्न नदिने निर्णय बमोजिम यसअघि माओवादीले सदन अवरुद्ध गर्दै आएको थियो। तर, सरकारले बजेट पेश गर्ने समय आएको र अहिले पेश्की बजेट समेत पेश नभएदेखि मुलुक नै ठप्प हुने ठहर गर्दै पेश्की बजेट पेश गर्न दिनकालागि मात्रै माओवादी सचिवालय बैठकले सदन सुचारु गर्ने निर्णय गरेको हो।

Thursday, July 2, 2009

तीन दलको वैठक स्थगित

नेकपा माओवादी वहिस्कारका कारण चल्न नसकेको व्यवस्थापिका संसदको वैठक सुचारु गर्ने विषयमा छलफल गर्न आयोजित प्रमुख तीन दलको वैठक स्थगित भएको छ । असार १६ गते बसेको २४ दलको वैठकमा १७ गते विहान ९ बजे माओवादी काँग्रेस र एमालेको वैठक बस्ने तय भएको थियो । एमालेका महासचिव इश्वर पोखरेलका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल चितवनमा रहेकाले वैठक बस्न नसकेको हो ।