Monday, July 13, 2009

अख्तियारद्वारा प्रहरी प्रधानकार्यालयबाट कागजात जफत

काठमाडौं असार २९- प्रहरीले प्रयोग गर्ने पार्का ज्याकेट खरिदमा अनियमितता भएकोबारे छानविन सुरु गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयबाट आइतबार खरिदसम्बन्धि सम्पूर्ण कागजात जफत गरेको छ। अख्तियारले आइतबार अपरान्ह गृह मन्त्रालय हेर्ने आफ्ना सहसचिवको नेतृत्वमा एक टोली प्रधानकार्यालय प्रवन्ध शाखामा पठाइ सम्पूर्ण कागजात कब्जामा लिएको हो । प्रहरीको पार्का ज्याकेट खरिदमा अनियमितता भएको उजुरी ब्यवसायीहरुबाट परेपछि अख्तियारले यो कदम उठाएको हो। पत्राचार मार्फत पनि यस्ता कागजात मागिने गरेकोमा अख्तियारले प्रहरीमाथिको यो छानविनमा आफ्नो टोलीमार्फत फायल कब्जा गर्न लगाएको छ। अख्तियारका आयुक्त वेदप्रकाश सिवाकोटीका अनुसार ज्याकेट खरिदका लागि बोलपत्र आव्हान गर्दा कम मूल्यमा उपलब्ध गराउनेलाई ठेक्का नदिई महँगो मूल्यको सामान रोजिएको र त्यहाँ भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियारले खरिदसम्बन्धि सम्पूर्ण कागजात आफ्नो कब्जामा लिएको हो। सिवाकोटीले भने, "सामान ठेक्कामा गुणस्तरको पनि कुरा हुन्छ गुणस्तरको जाँच गरिएको छ कि छैन र ठेक्का प्रकृया कस्तो रहेको छ भन्ने अनुसन्धान हामीले गर्ने हो।
"प्रहरीले पार्का ज्याकेट खरिदका दीपक भट्ट प्रवन्ध निर्देशक रहेको आनन्द ट्रेड कन्सर्न टेकुलाई एउटाको २४ अमेरिकी डलर मूल्यमा ठेक्का दिएको छ। बोलपत्र दिएका अन्य केहि व्यावसायीले भने आफूले आनन्द ट्रेडको भन्दा कम मूल्यमा ज्याकेट उपलब्ध गराउने अवस्थामा भ्रष्टाचार गरी महंगो छानिएको आरोप लगाएका छन्। उनीहरुले सामान ठेक्कामा गुणस्तर परिक्षण गरिनु पर्नेमा आफ्ना सामानको परिक्षण नभएको जिकिर समेत गरेका छन्।यसरी बोलपत्र भर्ने मध्ये पिस नेपाल फेसन इण्डस्ट्रिज प्रालिले आफ्नो नेपाली उत्पादन १ हजार ९९ रुपैंयाँमा उपलब्ध गराउने दावी पेस गरेको बताएको छ । यस्तै विदेशी उत्पादनको ज्याकेट खरिद गर्ने दावी प्रस्तुत गरेको सिद्धि देउराली ट्रेडस्रले भने एउटा ज्याकेटको मूल्य १० डलर ९९ सेन्ट दावी गरेको छ।पिस नेपालका प्रवन्धक अधिकारीले नागरिकसँग भने, "हाम्रो दावी कम मूल्यको हुँदाहुँदै गुणस्तर समेत जाँच नगरी हाम्रो भन्दा महँगो मूल्यमा ज्याकेट किन्ने ठेक्का दिँदा हामी अख्तियार गएका हौं।" अधिकारी लगायतका व्यावसायीले अख्तियारमा दर्ता गरेको उजुरीमा प्रहरी प्रधानकार्यालयको प्रवन्ध शाखाका प्रहरी नायब महानिरिक्षक रमेशविक्रम शाह प्रहरी नायब उपरिक्षक गणेश रेग्मी र प्रहरी निरिक्षक सिताराम चापागाईंमाथि भ्रष्टाचारको आरोप लगाइएको छ। ब्यवसायीको उजुरी र अख्तियारले कागजात कब्जामा लिएको बारे बुझ्न फोनसम्पर्क गर्दा नायब महानिरिक्षक शाहले कुनै अनियमितता नभएको संक्षिप्त प्रतिकि्रया दिए ।

No comments: