Wednesday, July 22, 2009

शताब्दीको सबैभन्दा लामो खग्रास सूर्यग्रहण

शताब्दीको सबैभन्दा लामो खग्रास सूर्यग्रहण बुधबार बिहान ५ बजेर ४५ मिनेटदेखि पौने आठबजेसम्म नेपालबाट देखियो । १२३ वर्षपछि देखिएको सूर्यग्रहणको सो दुलर्भ दृश्य हेर्ने बुधबार बिहानैदेखि मानिसहरु घरबाट बाहिर निस्केका थिए। अब २१८१ सालमा मात्र यस्तो सूर्यग्रहण देखिने वैज्ञानिकहरुले जनाएका छन्। सूर्यग्रहण नेपालको पूर्वका केही जिल्ला झापा, इलाम, मोरङ, सप्तरी, धनुषाबाट खग्रास र काठमाडौं लगायत बाँकी जिल्लाबाट खण्डग्रासको रुपमा देखिएको थियो।
सूर्यग्रहणको अवधि जम्मा दुई घण्टा २५ मिनेटको थियो। खग्रास सूर्यग्रहण अवधि भने अधिकतम ६ मिनेट रहेको र नेपालबाट भने अधिकतम तीन मिनेटको खग्रास देखिएको खगोलविदहरुले बताए। सूर्यग्रहण हेर्न र सूर्यग्रहणपछि स्नान गर्न ठूलो सङ्ख्यामा मानिसहरु देवघाट, त्रिसुली बागद्वारलगायतका नदी भएको स्थानमा पुगेका थिए। श्रद्धालु भक्तजनहरु स्नान गर्न भारतका बनारस हरिद्धारलगायतका तीर्थस्थलमा पनि गएका राससले जनाएको छ। साथै शताब्दीको सबैभन्दा लामो खग्रास सूर्यग्रहण लागिरहेको समयमा चितवनको पवित्र तीर्थस्थल देवघाटधाममा स्नान गर्न चितवन, नवलपरासी तनहुँलगायत विभिन्न जिल्लाबाट भक्तजनहरुको घुँइचो लागेको थियो ।

No comments: