Sunday, September 27, 2009

विजया-दशमी २०६६ को हार्दिक मंगलमय शुभकामना

विजया-दशमी २०६६ को पावन अवसरमा सम्पुर्ण नेपाली

दाजुभाई तथा दिदी बहिनीहरुको ब्यक्तिगत एवं पारिवारीक सु-स्वास्थ्य

तथा उत्तरोत्तर प्रगतीको कामना र

हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।


लोकतन्त्र परिवार

Tuesday, September 22, 2009

'कु' गर्न नसकेपछि माओवादी दुङ्गामुढामा - पौडेल

काठमाडौं, - नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादी आफूले गर्न खोजेको 'कू' असफल भएपछि ढुंगामुढाको राजनीतिमा उत्रेको आरोप लगाएका छन्। 'आफ्नो कू असफल भएर तिल्मिलाएको माओवादी अहिले देशभरि नै ढुंगामुढा गर्न लागी परेको छ ' नेपाली काँग्रेस संसदीय दलको सूचना केन्द्र उद्घाटन समारोहमा उनले भने।
पौडेलले थपे, 'अहिले प्रचण्ड, बाबु्राम यति विघ्न चढेर बोल्छन्, अहिलेसम्म उनीहरूले मुखभरिको जवाफ पाएका छैनन्।' माओवादीलाई मुखभरिको जवाफ नदिएका कारण यति उग्र भएकाले अब आफूहरु चुप लागेर नबस्ने उनले बताए। 'अब हामी पनि बोल्न थाल्छौ र उनीहरूलाई जवाफ फर्काउँछौं' उनले भने।

नागरिक सर्वोच्चताको कुरा गर्ने माओवादी स्वयंले नागरिकलाई असुरक्षित बनाएको उनको आरोप छ। 'नागरिक जीवनलाई सबैभन्दा असफल बनाउने माओवादी नै हुन्,' उनले भने, 'सडकमा ढुंगामुढा गर्ने जस्ता काम गरेर नागरिक सर्वोच्चतालाई कुल्चने काम माओवादीले नै गरिरहेका छन्।' केही दिन अघि राष्ट्रपति रामवरण यादवमाथि माओवादी कार्यकर्ताले दुर्व्यवहार गरेकोमा रोष प्रकट गर्दै उनले 'यस्तो गर्न कसैलाई पनि सुहाउन्न' भने।सोमबारदेखि शुरु गरिएको सूचना केन्द्रलाई राजनीतिक दलको क्रियाकलाप विश्लेषण र आफ्ना आवाज बुलन्द बनाउन समेत प्रयोग गरिने उनको भनाई थियो। कार्यक्रममा काँगे्रेस नेता प्रकाशमान सिंहले नागरिक सर्वोच्चताको कुरा गर्नेले नै संविधान विपरित काम गरिरहेको बताएका छन्। उनले संविधानसभाभित्र माओवादी व्यवहारकै कारण अधिनायकवादी संविधान बन्ने खतरा बढेको दाबी गरे। सभासद् नविन्द्रराज जोशीका अनुसार आफ्ना कुराहरू संसदसम्म पुर्‍याउने र संसदभित्रका गतिविधि गाविस, वडासम्म पुर्‍याउने उद्देश्यले सूचना केन्द्र खोलिएको हो। 'केन्द्रलाई सभासद र ग्रामिण जनताबीचको संवादका लागि पुलको रुपमा विकास गरिनेछ।'

Friday, September 18, 2009

माओवादीसँग गतिरोध छिट्टै अन्त्यको आशा

काठमाडौं, प्रधानमन्त्री माधवकुमार नेपालले 'तीन दलबीच दुई चरणमा भएका वार्ताले सकारात्मक परिणाम ल्याउन लागेको' जानकारी दिँदै स्थितिलाई सहज वा असहज बनाउने साँचो माओवादीका हातमा रहेको बताएका छन्।
'मैले भनेको संकेत बुझ्नोस् स्थिति सहज बनाउने वा असहज बनाउने त्यसको साँचो माओवादीसँग छ,' नागरिकलाई बिहीबार दिएको अन्तर्वार्तामा नेपालले भने, 'धेरै आशंका र अन्योल भयो भने त्यसले सबभन्दा नोक्सानी माओवादीलाई गर्छ।'अहिलेको सरकार रहेमा मात्र संविधान बन्ने र शान्ति प्रक्रिया अघि बढ्न सक्ने उनले बताए। यसो भएमा त्यो माओवादीलाई पनि विश्वास हुने र आफूहरूले पनि माओवादीलाई विश्वास गर्न सक्ने उनले बताए। 'अविश्वास हुने बित्तिकै त्यसको सबैभन्दा ठूलो नोक्सानी माओवादीलाई हुन्छ,' उनले भने, 'किनभने अन्योलभित्रै अकल्पनीय घटना घट्छन्।
'माओवादीका कारणले संविधान निर्माण र शान्ति प्रक्रिया अवरुद्ध भए राष्ट्रपति शासन वा त्यसभन्दा पनि अर्को अकल्पनीय विकल्पमा मुलुक जानसक्छ भन्ने हो? भनी सोधिएको प्रश्नमा नेपालले भने, 'त्यस्तो खालको भित्री तयारी (अन्डरह्याण्ड कुकिङ)का हल्ला माओवादीले उठाउने गरेको छ, किन? त्यसमा केही त होला। उहाँहरू नौ महिनासम्म सत्तामा बसेको हुनाले केही भेउ, केही जानकारी, केही सूचना, केही संकेत थाहा हुनसक्छ। त्यस्तो संकेत पाउन थालेपछि बास (डेरा) सरे रे।'संसद र सडकका गतिरोध अन्त्यका लागि नेकपा (एमाले), नेपाली कांग्रेस र एनेकपा (माओवादी)बीच साझा विकल्प खोज्न सहमति हुनुलाई नेपालले 'सकारात्मक संकेत'को रुपमा चित्रण गरे। 'माओवादीभित्र पनि यसलाई हल गर्नुपर्छ र कुनै न कुनै बीचको बिन्दु खोज्नुपर्छ,' उनले भने, 'मेरो विश्वास छ, दुई चरणमा हामीबीच भएका छलफलले सकारात्मक परिणाम ल्याउन लागेको छ।
'राष्ट्रपतिलाई विवादमा तान्ने मुद्दामा भने कसैको सहमति हुन नसक्ने समेत उनले बताए। 'कुनै किसिमबाट पनि राष्ट्रपतिलाई विवादमा घिसार्ने, घसेट्ने र अप्ठेरोमा पुर्‍याउनेमा हामी तयार हुन सक्दैनौं,' उनले भने, 'सरकार तयार हुन सक्दैन। एमाले तयार हुन सक्दैन। कांग्रेस तयार हुन सक्दैन। सरकारका घटकहरू तयार हुन सक्दैनन्।'उनले विगत (राष्ट्रपति)को बारेमा कोट्याउने कुरा नहुने समेत बताए। 'उही मनमनमा भन्छन् नि, आ-आफ्नो मञ्चमा, त्यो पनि 'फ्लेयर अप' (उचाल्ने काम) गर्नु कुनै जरुरी छैन। पुरानो मुर्दा उखेड्ने कुराले, उधेड्ने कुराले कुनै फाइदा गर्दैन। पुरानो कुरामा गएर के फाइदा? विश्वास हो, मुख्य कुरा विश्वास हो। यसमा माओवादी पक्षले पनि महसुस गर्नुपर्छ, विगतमा आफूबाट के कमजोरी भयो? जब अरु पार्टी सहमतै भएका थिएनन् भने किन गर्ने? त्यसले गठबन्धनलाई धरापमा पारिहाल्यो। त्यो सोच्नु पर्थ्यो।' माओवादीसँगको गतिरोध अन्त्य गर्ने क्रममा 'संयुक्त प्रस्ताव' पारित गरी हालसम्मका अविश्वास र तिक्त सम्बन्धको समीक्षा गरी राष्ट्रपति वा प्रधानमन्त्रीका अधिकार र कर्तव्य निश्चित गर्न सकिने उनले बताए।
विगतको समीक्षा र भविश्यका निम्ति सहमति गर्न तयार भए पनि माओवादीले माग गरे अनुसारको राष्ट्रिय सरकार संसदमै वहुमत सिद्ध गरेर मात्र बन्न सक्ने उनले बताए। 'राष्ट्रिय सरकार यो छँदै छ,' उनले भने 'यो भइरहेको सरकार किन जान्छ? बहुमत यसको हातमा छ। समर्थन यसले प्राप्त गरेको छ। उहाँहरू प्रतिपक्ष हो। प्रतिपक्ष जहिले पनि प्रतिक्षामा रहेको सरकार हो। प्रतिक्षा गर्दागर्दै हुनसक्छ पाँच वर्ष कुर्नु परोस्, प्रतिक्षा गर्दागर्दै अर्को चुनावको वातावरण बनाउनु होस्।'उनले अगाडि भने, 'संसदभित्र उहाँहरूको बहुमत भएपछि तपाई हामीले चाहेर रोक्न सक्छौं? त्यो अधिकार त उहाँहरूको सँधैभरि छ। जहिले पनि बहुमत हुने बित्तिकै उहाँहरूको सरकार त बन्छ-बन्छ।'

Monday, September 14, 2009

बुसलाई जुत्ताले हान्ने पत्रकार छुट्ने

बग्दाद, भदौ २८ (एजेन्सी) -तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसलाई जुत्ता हान्ने इराकी पत्रकार मुन्तजार अल जैदी सोमबार कारागार मुक्त हुने उनका वकिले बताएका छन्। 'उनलाई मुक्त गर्न कुनै प्रकारको अबरोध छ जस्तो मलाई लाग्दैन र उनी सोमबार रिहा हुन्छन भन्ने ठूलो आशामा छु' दिआ अल सादीले भने।
जुत्ता प्रहार गरेपछि विश्वव्यापी रुपमा चर्चामा आएका जैदी रिहा हुँदा भव्य स्वागत हुने अपेक्षा गरिएको छ।
सन् २००८ मा विदाई भ्रमणको क्रममा इराकमा रहेको बेला जैदीले जुत्ता बुसलाई जुत्ता हानेका थिए। सन् २००३ मा अमेरिकाको नेतृत्वमा इराकमाथि भएको सैनिक आक्रमण पछिको रक्तपातका कारण सो कार्यले इराकीले त्यसलाई मनपराएका छन्।
इराकी प्रधानमन्त्री नुरी अल मलिकीसँगको संयुक्त पत्रकार सम्मेलनमा भएको सो घटनालाई भने इराकी सरकारले 'जंगली कार्य' भनेको थियो। जैदीलाई शुरुमा भ्रमणमा रहेका विदेशी राष्ट्राध्यक्षको आक्रमणको अभियोगमा ३ वर्षको जेल सजाय सुनाइएको थियो। तर पछि उनका जेल सजायलाई घटाइएको थियो।
विश्वका दशौं लाख मानिसले सो घटनालाई हेरेका थिए। जुत्ता प्रहार गर्नुअघि इराकमा युद्ध शुरु गर्ने बुसलाई जैदीले 'कुकुर' भनेका थिए। यी दुवै कार्यलाई मध्यपूर्वमा ठूलो अपमानको रुपमा लिइन्छ।
भेनेजुलयाका राष्ट्रपति हुगो चाभेजले जैदीलाई साहसी भनेका थिए भने लिवियाका नेता मुआमार गद्दाफीका छोरी प्रमुख रहेको एउटा संस्थाले उनलाई बीरता सम्मान प्रदान गरेको छ। अरब राष्ट्रका विभिन्न देशबाट जैदीलाई बिहे गर्न आफ्नो छोरी दिने थुप्रै मानिस निस्केका थिए।
जैदीलाई पक्राउ गरेपछि त्यसको विरोधमा बग्दादमा विशाल प्रदर्शनहरु भएका थिए।
जैदीका दाजु मौथाम अल जैदीले भाइका समर्थकहरुले उनका रिहाको स्वागत गर्दै ब्यानर टाँगी सकेको बताए। उनले जैदीको रिहाइका बेला बग्दाद हवाइ शिविरमा ठूलो भीड जम्मा हुने अपेक्षा गरेका छन्।
जैदीले काम गर्ने कायरो स्थित अल बघ्दादिया टेलिभिजनले पनि विश्वभरीबाट सहयोगको प्रस्ताव प्राप्त गरेको थियो।
अल बघ्दादियाका एक बरिष्ठ अधिकारी अब्दुल हमिद अल साहले जैदीका लागि सो च्यानलले बग्दादमा एउटा घर किनेको बताए। जैदीले जेल अवधीभरी तलबको सम्पूर्ण रकम पनि प्राप्त गर्ने साहले बताए।
मौथाम अल जैदीले भाइलाई अन्य अरब सञ्चार माध्यमले पनि जागिरको प्रस्ताव गरेको बताए। तर अहिलेसम्म उनले आफ्नो कामलाई निरन्तरता दिन्छन वा दिदैनन् भनेर स्पष्ट भैसकेको छैन। इराकका केही राजनीतिज्ञले जैदीलाई जनवरीमा हुने संसदीय निर्वाचन लड्न आग्रह गरेका छन्।
'उसले सो कार्य गर्नुअघि मुन्तजार अल जैदी पत्रकार मात्रै थियो, समाचार रिपोर्टिङ गर्थे। उनी अहिले कुनै पनि पार्टीका होइन ... उनी इराकका हुन' मौथामले भने।
फेब्रुअरीमा उनका अदालती सुनुवाइको क्रममा जैदीले इराकमा प्राप्त गरेको उपलब्धी सम्बन्धी कुरा गर्ने क्रममा बुस मुस्कुराएपछि उनलाई 'दश लाखभन्दा बढी इराकको हत्या, पवित्र मस्जिद तथा घरको सम्मान नगर्ने, महिलालाई बलात्कार गरेको कुरा'बारे सोच्न बाध्य पारेको बताएका थिए।
जैदीको परिवारले इराकी हिरासतमा रहँदा उनी कुटिएकाले उनीमा स्वास्थ्य सम्बन्धी समस्या देखिएको बताएको छ।

Thursday, September 10, 2009

राष्ट्रपतिद्वारा प्रधान सेनापतिलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं - राष्ट्रपति रामवरण यादवले प्रधानसेनापति छत्रमानसि‌ह गुरुङलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति यादवले गुरुङलाई प्रधानसेनापतिको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। समारोहमा प्रधानमन्त्री माधवकुमार नेपालले माओवादी लडाकुलाई समायोजन र पुन स्थापनाको दुई वटा विकल्प दिइने बताए। प्रधानमन्त्री नेपालले राजनीतिमा जान चाहने लडाकु समाजमा पुन स्थापना हुने र अन्यलाई सुरक्षा संयन्त्रमा समायोजन गर्न सकिने बताए।

"अन्य राजनीतिक दलसँग सहकार्य गरेर सेना समायोजन हुने छ," प्रधानमन्त्री नेपालले भने, "केही दिन भित्रै माओवादी लडाकुका लागि आचार स‌हिता ल्याउने तयारी भइरहेको छ।" उनले नेपाली सेनालाई स‌वैधानिक तवरले अगाडि बढाउन नव नियुक्त प्रधानसेनापति गुरुङलाई शुभकामना दिए।

दर्ज्यानी चिन्ह पाएपछि गुरुङले नेपाली सेनालाई राम्रो ढंगले अगाडि बढाउने स‌क्षिप्त प्रतिक्रिया दिए। सेना समायोजनका विषयमा सोधिएको जिज्ञासामा गुरुङले सरकारको निर्देशनलाई नेपाली सेनाले सदैव मान्ने प्रतिक्रिया दिए। "सेना समायोजनका विषयमा सरकारको नीति अनुसार 'फलो' गर्छु," प्रधानसेनापति गुरुङले भने।

समारोहमा प्रधानसेनापति गुरुङले राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ पनि लिए। नेपाल गणतन्त्रमा आएपछि राष्ट्रपतिबाट दर्ज्यानी चिन्ह पाउने गुरुङ पहिलो सेनापति हुन्।

यसअघिका प्रधानसेनापति रुकमाङगत कटवाललाई कार्यकारी राष्ट्रप्रमुखका हैसियतले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।

समारोहमा प्रधानमन्त्री, रक्षामन्त्री, संवैधानिक अंगका प्रमुख, सेनाका उच्च पदाधिकारी लगायतको सहभागीता रहेको थियो । यसअगाडि रक्षा सचिव नवीनकुमार घिमिरेको हस्ताक्षरसहित महारथीमा बढुवा गरिएको पत्र गुरुङले मंगलबार अपराह्न बुझेका थिए।

सेनामा एक मात्र चार तारे जर्नेल रहन्छन्। गुरुङले महारथीमा बढुवाको पत्र बुझेपछि प्रधान सेनापति रुक्मांगत कटवालको स्वतः अवकाश भएको छ। उनको तीन वर्षे कार्यकाल मंगलबार राति १२ बजे सिद्धिएको हो।

अन्तरिम संविधानको धारा १४४ '२' मा प्रधानसेनापतिको नियुक्ति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्ने उल्लेख छ ।

५७ वर्षीय गुरुङले बिहीबार जंगीअड्डामा सकल दर्जालाई भावी नीति तथा कार्ययोजनाबारे सम्बोधन गर्नेछन् । साथै भदौं २६ गते गुरुङले पृतनापति सम्मेलनको उद्घाटन गर्नेछन्। र त्यहाँ उनले आफ्ना योजना प्रस्तुत गर्ने तथा अन्य रथीहरुबाट सल्लाह लिनेछन्।

२००७ सालपछि जनजातिबाट सेनापति हुने पहिलो अवसर गुरुङले पाएका छन् ।२०२८ मंसिरमा सेनामा भर्ती भएका गुरुङले अमेरिकाबाट स्टाफ कलेज र चीनबाट नेसनल डिफेन्स कोस्र एनडीसी गरेका छन्। बेलायतस्थित नेपाली दूतावासको सैनिक सहचारीका रुपमा काम गरेको उनको अनुभव छ।

द्वन्द्वको समयमा मध्यपश्चिम पृतनापति त्यसपछि प्रबन्ध रथी हुँदै उनले सेनाको बलाधिकृत रथीको जिम्मेवारी सम्हाल्दै आएका थिए। गत असार ६ गते कुलबहादुर खड्काको अवकाशपछि उनको जिम्मेवारी गुरुङले नै हेरेका थिए ।

अन्तर्मुखी स्वभावका गुरुङले प्राथमिकता सैनिक संगठनलाई संस्थागत विकासमा ध्यान दिने भएका छन्। 'सेना सरकारकै एउटा हिस्सा भएकाले ऊसँग प्रत्यक्ष समन्वय गरेर नयाँ सेनापति अगाडि बढ्नेछन्'- गुरुङनिकट एक उपरथीले नागरिकसित भने- 'जनसम्बन्धलाई मजबुत पार्दे सेनाप्रति जनताको विश्वास बढाउनेतिर उनको जोड हुनेछ।'

गुरुङ सेनामा राजनीतिकरण हुनुहुँदैन भन्ने मान्यता राख्छन्। उनले भन्दै आएका छन्- 'सेनाको काम भाषण गर्ने होइन मैले भाषण गर्दै हिँड्ने पनि छैन। सिंगो संगठनलाई आधुनिक तालिम दिलाउने प्रयास हुनेछ।'

Wednesday, September 9, 2009

नेपालको स्थान १२५ औं

काठमाडौँ, विश्व आर्थिक मञ्चले १३३ देशका आर्थिक, सामाजिक, भौतिक पूर्वाधारलगायतका विषयमा अध्ययन-अनुसन्धान गरी तयार पारेको विश्वव्यापी प्रतिस्पर्धात्मक प्रतिवेदनमा नेपालको स्थान १२५औं रहेको छ। राजनीतिक अस्थिरता, स्पष्ट औद्योगिक नीतिको अभाव, खस्कँदो शान्तिसुरक्षा, अपर्याप्त विद्युत् सेवाका कारण नेपालको स्थिति खराब भएको हो।
यसैगरी श्रमिक तथा मालिकबीचको बिग्रँदो सम्बन्ध, गुणस्तरीय सडक सञ्जालको अभाव, असफल शैक्षिक कार्यक्रम र तालिमको अभाव, सरकारी तथा उद्यमी व्यववसायीबीच सहकार्य र विश्वासको अभावजस्ता विषयले नेपालको स्थिति सन्तोषजनक नरहेको प्रतिवेदनमा उल्लेख छ।
नेपालको स्थान सन् २००६/०७ मा यसकिसिमको प्रतिस्पर्धामा भाग लिने १२५ देशमध्ये ११० औँ स्थान, २००७/०८ मा १३१ देशमध्ये ११४ औँ स्थान, २००८/०९ मा १३४ देशमध्ये १२६औँ स्थान र २००९/१० मा १३३ मध्ये १२५औँ स्थान रहेको हो। प्रतिस्पर्धामा नेपालभन्दा पछि रहेको माल्डोभाले यसवर्ष भाग नलिएकाले एक स्थान घटी १२५ औँ स्थान कायम भएको नेपालमा सो प्रतिवेदन सार्वजनिक गर्ने आधिकारिक संस्था त्रिवि आथिक विकास तथा प्रशासनिक केन्द्र (सेडा) ले सोमबार एक कार्यक्रममार्फत जनाएको हो।
भौतिक पूर्वाधार, संस्थागत संरचना, सुक्ष्म आर्थिक परिवेश, स्वास्थ्यस्थिति, प्राथमिक तथा माध्यमिक शिक्षामा भर्नादर, तालिम, राष्ट्रिय बचत, वित्तीय बजारको अवस्था, बजारको आकार, विदेशी लगानीको आकर्षण, श्रम बजारको प्रभाव र श्रृजनशीलताजस्ता १२ वटा आधारस्तम्भअन्तर्गत ११० सूचीलाई समेटेर सो प्रतिवेदन सार्वजनिक गरिएको हो।
विश्वका १३ हजारभन्दा बढी उद्योगी व्यवसायीसँगको प्रत्यक्ष छलफलका आधारमा जेभिएर मार्टिन र माइकेल पोर्टरको अनुसन्धान अवधारणबमोजिम विश्वव्यापीरूपमा तयार पारिएको सो प्रतिवेदनमा पहिलोदेखि १० स्थानमा क्रमशः स्विट्जरल्याण्ड, संयुक्त राज्य अमेरिका, सिङ्गापुर, स्विडेन, डेनमार्क, फिनल्याण्ड, जर्मनी, जापान, क्यानाडा र नेदरल्याण्ड रहेका छन्।
सबैभन्दा अन्तिम १३३ औँ स्थानमा बुरूण्डी रहेको र क्रमशः घट्दोक्रममा जिम्बाबे, चाड, माली, मोजाम्बिक, ब्रुकिनोफास्टो, मौरिटानिया र नेपाल रहेको प्रतिवेदनमा उल्लेख छ।
यसैगरी नवौँ स्थानमा जापान, १३ औँ स्थानमा संयुक्त अधिराज्य, ३० औँ स्थानमा चीन, ४९ औँ स्थानमा भारत, ७९ औँ स्थानमा श्रीलङ्का, १०१ औँ स्थानमा पाकिस्तान र १०६ औँ स्थानमा बङ्गलादेश रहेको प्रतिवेदनमा उल्लेख छ।
सो अवसरमा अर्थमन्त्रालयका वरिष्ठ सल्लाहकार केशव आचार्यले राजनीतिक नेतृत्वतह र उच्च सरकारी अधिकारीसमक्ष एकपटक सो प्रतिवेदन प्रस्तुत गर्न र नेपालसम्बन्धी विषयलाई मात्र समेटेर छुट्टै पुस्तिका तयार गरी सम्बद्ध निकायमा पेस गर्न आग्रह गरे।
सेडाका कार्यकारी निर्देशक डा. भरत पोखरेलले विश्वभर आज सो प्रतिवेदन सार्वजनिक हुने जानकारी दिंदै नेपालको स्थिति अझै सन्तोषजनक नरहेकाले सरोकारवाला पक्षको विशेष ध्यान गई अर्को वर्ष नेपालको स्थिति राम्रो हुने विश्वास व्यक्त गरे।

Tuesday, September 8, 2009

कोइरालाको स्वास्थ्य सामान्य

काठमाडौँ, - नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य मंगलबार सामान्य रहेको छ। अस्वस्थ भई आराम गरिरहेका कोइरालाले सोमबार आफूलाई भेट्न निवासमा आएका प्रधानमन्त्री मावधकुमार नेपालसँग छलफल गरेका थिएनन्। 'तीन दिन अघिदेखि ज्वरो आएको र त्यसपछि पिसाबको सङ्क्रमणले इन्फेक्सन भएकोमा अहिले उहाँको अवस्था सामान्य छ'- उपचारमा संलग्न डा. मानबहादुर केसीले बताए।

केसीले कोइराला अहिले आफ्ना सामान्य कामहरु आफैँ गर्न सक्ने अवस्थामा रहेको बताए।

सोमबार प्रधानमन्त्रीलाई नभेटेको विषयलाई सरकारसँग कोइरालाको असन्तुष्टिको भन्दै मिडियामा समाचार आएपछि सोमबार साँझ कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले विज्ञप्ति प्रकाशित गरी उनको स्वास्थ्य राम्रो नभएको बताएका थिए। सोमबार कोइराला भेट्न महाराजगञ्ज पुगेका प्रधानमन्त्री माधवकुमार नेपाल १० मिनेटमै फर्किएका थिए।