Thursday, September 10, 2009

राष्ट्रपतिद्वारा प्रधान सेनापतिलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं - राष्ट्रपति रामवरण यादवले प्रधानसेनापति छत्रमानसि‌ह गुरुङलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति यादवले गुरुङलाई प्रधानसेनापतिको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। समारोहमा प्रधानमन्त्री माधवकुमार नेपालले माओवादी लडाकुलाई समायोजन र पुन स्थापनाको दुई वटा विकल्प दिइने बताए। प्रधानमन्त्री नेपालले राजनीतिमा जान चाहने लडाकु समाजमा पुन स्थापना हुने र अन्यलाई सुरक्षा संयन्त्रमा समायोजन गर्न सकिने बताए।

"अन्य राजनीतिक दलसँग सहकार्य गरेर सेना समायोजन हुने छ," प्रधानमन्त्री नेपालले भने, "केही दिन भित्रै माओवादी लडाकुका लागि आचार स‌हिता ल्याउने तयारी भइरहेको छ।" उनले नेपाली सेनालाई स‌वैधानिक तवरले अगाडि बढाउन नव नियुक्त प्रधानसेनापति गुरुङलाई शुभकामना दिए।

दर्ज्यानी चिन्ह पाएपछि गुरुङले नेपाली सेनालाई राम्रो ढंगले अगाडि बढाउने स‌क्षिप्त प्रतिक्रिया दिए। सेना समायोजनका विषयमा सोधिएको जिज्ञासामा गुरुङले सरकारको निर्देशनलाई नेपाली सेनाले सदैव मान्ने प्रतिक्रिया दिए। "सेना समायोजनका विषयमा सरकारको नीति अनुसार 'फलो' गर्छु," प्रधानसेनापति गुरुङले भने।

समारोहमा प्रधानसेनापति गुरुङले राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ पनि लिए। नेपाल गणतन्त्रमा आएपछि राष्ट्रपतिबाट दर्ज्यानी चिन्ह पाउने गुरुङ पहिलो सेनापति हुन्।

यसअघिका प्रधानसेनापति रुकमाङगत कटवाललाई कार्यकारी राष्ट्रप्रमुखका हैसियतले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।

समारोहमा प्रधानमन्त्री, रक्षामन्त्री, संवैधानिक अंगका प्रमुख, सेनाका उच्च पदाधिकारी लगायतको सहभागीता रहेको थियो । यसअगाडि रक्षा सचिव नवीनकुमार घिमिरेको हस्ताक्षरसहित महारथीमा बढुवा गरिएको पत्र गुरुङले मंगलबार अपराह्न बुझेका थिए।

सेनामा एक मात्र चार तारे जर्नेल रहन्छन्। गुरुङले महारथीमा बढुवाको पत्र बुझेपछि प्रधान सेनापति रुक्मांगत कटवालको स्वतः अवकाश भएको छ। उनको तीन वर्षे कार्यकाल मंगलबार राति १२ बजे सिद्धिएको हो।

अन्तरिम संविधानको धारा १४४ '२' मा प्रधानसेनापतिको नियुक्ति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्ने उल्लेख छ ।

५७ वर्षीय गुरुङले बिहीबार जंगीअड्डामा सकल दर्जालाई भावी नीति तथा कार्ययोजनाबारे सम्बोधन गर्नेछन् । साथै भदौं २६ गते गुरुङले पृतनापति सम्मेलनको उद्घाटन गर्नेछन्। र त्यहाँ उनले आफ्ना योजना प्रस्तुत गर्ने तथा अन्य रथीहरुबाट सल्लाह लिनेछन्।

२००७ सालपछि जनजातिबाट सेनापति हुने पहिलो अवसर गुरुङले पाएका छन् ।२०२८ मंसिरमा सेनामा भर्ती भएका गुरुङले अमेरिकाबाट स्टाफ कलेज र चीनबाट नेसनल डिफेन्स कोस्र एनडीसी गरेका छन्। बेलायतस्थित नेपाली दूतावासको सैनिक सहचारीका रुपमा काम गरेको उनको अनुभव छ।

द्वन्द्वको समयमा मध्यपश्चिम पृतनापति त्यसपछि प्रबन्ध रथी हुँदै उनले सेनाको बलाधिकृत रथीको जिम्मेवारी सम्हाल्दै आएका थिए। गत असार ६ गते कुलबहादुर खड्काको अवकाशपछि उनको जिम्मेवारी गुरुङले नै हेरेका थिए ।

अन्तर्मुखी स्वभावका गुरुङले प्राथमिकता सैनिक संगठनलाई संस्थागत विकासमा ध्यान दिने भएका छन्। 'सेना सरकारकै एउटा हिस्सा भएकाले ऊसँग प्रत्यक्ष समन्वय गरेर नयाँ सेनापति अगाडि बढ्नेछन्'- गुरुङनिकट एक उपरथीले नागरिकसित भने- 'जनसम्बन्धलाई मजबुत पार्दे सेनाप्रति जनताको विश्वास बढाउनेतिर उनको जोड हुनेछ।'

गुरुङ सेनामा राजनीतिकरण हुनुहुँदैन भन्ने मान्यता राख्छन्। उनले भन्दै आएका छन्- 'सेनाको काम भाषण गर्ने होइन मैले भाषण गर्दै हिँड्ने पनि छैन। सिंगो संगठनलाई आधुनिक तालिम दिलाउने प्रयास हुनेछ।'

No comments: