Friday, September 18, 2009

माओवादीसँग गतिरोध छिट्टै अन्त्यको आशा

काठमाडौं, प्रधानमन्त्री माधवकुमार नेपालले 'तीन दलबीच दुई चरणमा भएका वार्ताले सकारात्मक परिणाम ल्याउन लागेको' जानकारी दिँदै स्थितिलाई सहज वा असहज बनाउने साँचो माओवादीका हातमा रहेको बताएका छन्।
'मैले भनेको संकेत बुझ्नोस् स्थिति सहज बनाउने वा असहज बनाउने त्यसको साँचो माओवादीसँग छ,' नागरिकलाई बिहीबार दिएको अन्तर्वार्तामा नेपालले भने, 'धेरै आशंका र अन्योल भयो भने त्यसले सबभन्दा नोक्सानी माओवादीलाई गर्छ।'अहिलेको सरकार रहेमा मात्र संविधान बन्ने र शान्ति प्रक्रिया अघि बढ्न सक्ने उनले बताए। यसो भएमा त्यो माओवादीलाई पनि विश्वास हुने र आफूहरूले पनि माओवादीलाई विश्वास गर्न सक्ने उनले बताए। 'अविश्वास हुने बित्तिकै त्यसको सबैभन्दा ठूलो नोक्सानी माओवादीलाई हुन्छ,' उनले भने, 'किनभने अन्योलभित्रै अकल्पनीय घटना घट्छन्।
'माओवादीका कारणले संविधान निर्माण र शान्ति प्रक्रिया अवरुद्ध भए राष्ट्रपति शासन वा त्यसभन्दा पनि अर्को अकल्पनीय विकल्पमा मुलुक जानसक्छ भन्ने हो? भनी सोधिएको प्रश्नमा नेपालले भने, 'त्यस्तो खालको भित्री तयारी (अन्डरह्याण्ड कुकिङ)का हल्ला माओवादीले उठाउने गरेको छ, किन? त्यसमा केही त होला। उहाँहरू नौ महिनासम्म सत्तामा बसेको हुनाले केही भेउ, केही जानकारी, केही सूचना, केही संकेत थाहा हुनसक्छ। त्यस्तो संकेत पाउन थालेपछि बास (डेरा) सरे रे।'संसद र सडकका गतिरोध अन्त्यका लागि नेकपा (एमाले), नेपाली कांग्रेस र एनेकपा (माओवादी)बीच साझा विकल्प खोज्न सहमति हुनुलाई नेपालले 'सकारात्मक संकेत'को रुपमा चित्रण गरे। 'माओवादीभित्र पनि यसलाई हल गर्नुपर्छ र कुनै न कुनै बीचको बिन्दु खोज्नुपर्छ,' उनले भने, 'मेरो विश्वास छ, दुई चरणमा हामीबीच भएका छलफलले सकारात्मक परिणाम ल्याउन लागेको छ।
'राष्ट्रपतिलाई विवादमा तान्ने मुद्दामा भने कसैको सहमति हुन नसक्ने समेत उनले बताए। 'कुनै किसिमबाट पनि राष्ट्रपतिलाई विवादमा घिसार्ने, घसेट्ने र अप्ठेरोमा पुर्‍याउनेमा हामी तयार हुन सक्दैनौं,' उनले भने, 'सरकार तयार हुन सक्दैन। एमाले तयार हुन सक्दैन। कांग्रेस तयार हुन सक्दैन। सरकारका घटकहरू तयार हुन सक्दैनन्।'उनले विगत (राष्ट्रपति)को बारेमा कोट्याउने कुरा नहुने समेत बताए। 'उही मनमनमा भन्छन् नि, आ-आफ्नो मञ्चमा, त्यो पनि 'फ्लेयर अप' (उचाल्ने काम) गर्नु कुनै जरुरी छैन। पुरानो मुर्दा उखेड्ने कुराले, उधेड्ने कुराले कुनै फाइदा गर्दैन। पुरानो कुरामा गएर के फाइदा? विश्वास हो, मुख्य कुरा विश्वास हो। यसमा माओवादी पक्षले पनि महसुस गर्नुपर्छ, विगतमा आफूबाट के कमजोरी भयो? जब अरु पार्टी सहमतै भएका थिएनन् भने किन गर्ने? त्यसले गठबन्धनलाई धरापमा पारिहाल्यो। त्यो सोच्नु पर्थ्यो।' माओवादीसँगको गतिरोध अन्त्य गर्ने क्रममा 'संयुक्त प्रस्ताव' पारित गरी हालसम्मका अविश्वास र तिक्त सम्बन्धको समीक्षा गरी राष्ट्रपति वा प्रधानमन्त्रीका अधिकार र कर्तव्य निश्चित गर्न सकिने उनले बताए।
विगतको समीक्षा र भविश्यका निम्ति सहमति गर्न तयार भए पनि माओवादीले माग गरे अनुसारको राष्ट्रिय सरकार संसदमै वहुमत सिद्ध गरेर मात्र बन्न सक्ने उनले बताए। 'राष्ट्रिय सरकार यो छँदै छ,' उनले भने 'यो भइरहेको सरकार किन जान्छ? बहुमत यसको हातमा छ। समर्थन यसले प्राप्त गरेको छ। उहाँहरू प्रतिपक्ष हो। प्रतिपक्ष जहिले पनि प्रतिक्षामा रहेको सरकार हो। प्रतिक्षा गर्दागर्दै हुनसक्छ पाँच वर्ष कुर्नु परोस्, प्रतिक्षा गर्दागर्दै अर्को चुनावको वातावरण बनाउनु होस्।'उनले अगाडि भने, 'संसदभित्र उहाँहरूको बहुमत भएपछि तपाई हामीले चाहेर रोक्न सक्छौं? त्यो अधिकार त उहाँहरूको सँधैभरि छ। जहिले पनि बहुमत हुने बित्तिकै उहाँहरूको सरकार त बन्छ-बन्छ।'

No comments: