Tuesday, September 22, 2009

'कु' गर्न नसकेपछि माओवादी दुङ्गामुढामा - पौडेल

काठमाडौं, - नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादी आफूले गर्न खोजेको 'कू' असफल भएपछि ढुंगामुढाको राजनीतिमा उत्रेको आरोप लगाएका छन्। 'आफ्नो कू असफल भएर तिल्मिलाएको माओवादी अहिले देशभरि नै ढुंगामुढा गर्न लागी परेको छ ' नेपाली काँग्रेस संसदीय दलको सूचना केन्द्र उद्घाटन समारोहमा उनले भने।
पौडेलले थपे, 'अहिले प्रचण्ड, बाबु्राम यति विघ्न चढेर बोल्छन्, अहिलेसम्म उनीहरूले मुखभरिको जवाफ पाएका छैनन्।' माओवादीलाई मुखभरिको जवाफ नदिएका कारण यति उग्र भएकाले अब आफूहरु चुप लागेर नबस्ने उनले बताए। 'अब हामी पनि बोल्न थाल्छौ र उनीहरूलाई जवाफ फर्काउँछौं' उनले भने।

नागरिक सर्वोच्चताको कुरा गर्ने माओवादी स्वयंले नागरिकलाई असुरक्षित बनाएको उनको आरोप छ। 'नागरिक जीवनलाई सबैभन्दा असफल बनाउने माओवादी नै हुन्,' उनले भने, 'सडकमा ढुंगामुढा गर्ने जस्ता काम गरेर नागरिक सर्वोच्चतालाई कुल्चने काम माओवादीले नै गरिरहेका छन्।' केही दिन अघि राष्ट्रपति रामवरण यादवमाथि माओवादी कार्यकर्ताले दुर्व्यवहार गरेकोमा रोष प्रकट गर्दै उनले 'यस्तो गर्न कसैलाई पनि सुहाउन्न' भने।सोमबारदेखि शुरु गरिएको सूचना केन्द्रलाई राजनीतिक दलको क्रियाकलाप विश्लेषण र आफ्ना आवाज बुलन्द बनाउन समेत प्रयोग गरिने उनको भनाई थियो। कार्यक्रममा काँगे्रेस नेता प्रकाशमान सिंहले नागरिक सर्वोच्चताको कुरा गर्नेले नै संविधान विपरित काम गरिरहेको बताएका छन्। उनले संविधानसभाभित्र माओवादी व्यवहारकै कारण अधिनायकवादी संविधान बन्ने खतरा बढेको दाबी गरे। सभासद् नविन्द्रराज जोशीका अनुसार आफ्ना कुराहरू संसदसम्म पुर्‍याउने र संसदभित्रका गतिविधि गाविस, वडासम्म पुर्‍याउने उद्देश्यले सूचना केन्द्र खोलिएको हो। 'केन्द्रलाई सभासद र ग्रामिण जनताबीचको संवादका लागि पुलको रुपमा विकास गरिनेछ।'

No comments: