Thursday, September 12, 2013

शम्भु थापाको आम्दानी मासिक आठ हजार !

काठमाण्डौं । एउटै मुद्दाको १० लाख रुपैयाँभन्दा बढी लिने बरिष्ठ अधिवक्ता शम्भु थापाले वर्षमा एक लाख मात्र आम्दानी देखाएर देशलाई ठग्दै आएको खुलासा भएको छ । महिनाको आठहजार मात्र आम्दानी देखाउने थापाले काठमाण्डौंका तीन ठाउँमा महल र ठाउँठाउँमा जग्गा जोडेका छन् । नेपाल बार एसोसिएसनको अध्यक्ष बनेर ०६२/६३ को आन्दोलनबाट सक्रिय भएका थापाले आन्दोलन सफल भएपछि राज्यलाई एक पैसा पनि आयकर तिरेका छैनन् । तर, त्यसअघि करिब ६ बर्ष उनले वर्षमा एकदेखि तीन लाखसम्म आम्दानी भएको भन्दै राजस्व छल्दै आएको नयाँ पत्रिकामा खबर छ । तर, राजस्वले छापा मारेपछि आइतबार सवोच्च अदालत पुगेका थापाले आफूले अहिलेसम्मको सम्पूर्ण कर तिरेको दाबी गरेका छन् । अव उनले राजस्व छलेको विषयमा मात्र होइन, अदालतलाई ढाँटेको विषयमा पनि उनीमाथि कारबाही हुनुपर्ने माग उठेको छ । राजस्वका कर्मचारुकिो अनुमानमा अहिलेसम्म ६० करोडको कारोबार गरेका थापाले आयकरबापत जम्मा दुई लाख नौ हजार चार सय नौ रुपैयाँ मात्र तिरेका छन् ।

Sunday, July 7, 2013

विमानस्थलमा नयाँ ट्याक्सी


काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साउनदेखि नयाँ ट्याक्सी देख्न पाइने भएको छ। ४० वर्षदेखिका पुराना ट्याक्सीको सट्टा ‘युरो तीन’ मापदण्डका नयाँ ट्याक्सीले यात्रुलाई सेवा दिने भएका हुन्। एक वर्षअघि ठेक्का पाएको कम्पनी विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले हरियो नम्बर प्लेट अनुमति पाए साउनदेखि केही ट्याक्सी सञ्चालन गर्ने बताएको छ।

पहिलो चरणमा ४० वटा सञ्चालन गर्ने तयारी रहेको कम्पनीका प्रबन्ध निर्देशक पुरुषोतम सिंखडाले बताए। ‘हामीले यातायात व्यवस्था विभागसमक्ष हरियो प्लेटका लागि अनुरोध गरिसकेका छौं,’ सिंखडाले भने, ‘मौखिकरूपमा अनुमति पाइसकिएको छ, पत्र कुरिरहेका छौं ।’ ट्याक्सी १७ लाख ७५ हजारदेखि २४ लाख ५० हजारसम्म पर्ने फोर्ड र मारुती कम्पनीको रहेको उनले बताए । उनले साउन महिनाभित्रै दुई सयवटा ट्याक्सी सञ्चालन गरिने पनि बताए।

‘स्वीकृति लगभग पक्कापक्की भइसकेको छ,’ उनले भने, ‘सवारी दर्ता गरेर केही दिनमै सञ्चालनको तयारी छ ।’ नयाँ गाडीसँगै पुराना गाडी विस्थापित गर्न व्यवसायीबीच सहमति भइसकेकोले विवादबिना काम हुने उनले बताए। विभागले स्वीकृत गरेको फाइलका सम्बन्धमा एक हप्ताअघिदेखि यातायात मन्त्रालयमा छलफल भइरहेको छ। मन्त्रालय सचिव तुलसी सिटौलाले पनि साताभित्रै स्वीकृति दिइने बताए । ट्याक्सी समाधानको राम्रो उपाय भएका कारण यो स्वीकृत हुनसक्ने उनले बताए पनि केही परिमार्जन गर्नुपर्ने देखिएको बताए।

‘ट्याक्सीको संख्या तीनसय पुर्‍याउनुपर्ने सम्झौतामा उल्लेख भए पनि तत्काल यतिका सवारी आवश्यक नपर्ने भएकाले दुई सयमै राख्ने र सम्झौतामा १ हजार सिसीका सवारी ल्याउनुपर्ने भए पनि अहिले आएभन्दा अन्यका लागि भने १२ सय सिसी बनाउनुपर्ने कुरामा उहाँहरू (कम्पनी) सहमत देखिनुभएको छ,’ सिटौलाले भने, ‘एक हप्ताभित्र यसको आधिकारिक समाधान हुन्छ।’

१ सय ६८ वटा पुराना ट्याक्सी रहेकामा अहिले १ सय ५० नयाँ ट्याक्सी थप्न बुकिङसमेत भइसकेको उनले बताए । विमानस्थलका महाप्रबन्धक दिनेशप्रसाद श्रेष्ठले पनि व्यवसायीले जिम्मा पाइसकेकाले समयमै ट्याक्सी सञ्चालन हुने बताए। डेढ सय ट्याक्सी चलाएबापत टेन्डर प्रक्रियापछि विमानस्थललाई सात वर्षमा १ करोड ६८ लाख ८४ हजार रुपैयाँ तिर्नेगरी सम्झौता भएको थियो।

नयाँ प्रिपेड ट्याक्सी आएपछि बाहिरका ट्याक्सीको भन्दा डबल दस्तुर पुराना ट्याक्सी विस्थापन गर्ने सर्तमा मन्त्रालयले त्यसको बदलामा आयात गरिने नयाँ गाडीमा भन्सार छुट दिने प्रक्रिया अगाडि बढाएको थियो। तर मन्त्रिपरिषदले फायल फिर्ता गरिदिएपछि व्यवसायीले कम्पनीमार्फत् काम अघि बढाएका हुन्। नयाँ व्यवस्थाअनुसार पुरानाभन्दा बिलासी किसिमका ट्याक्सी रहेको यातायात व्यवस्था विभागका निर्देशक सरोजराज अधिकारीले बताए। हाल विमानस्थलमा रहेका २० वर्षभन्दा पुराना ट्याक्सी कतै पनि चल्न नपाउने र त्यसभन्दा नयाँलाई अन्य प्लेटमा उपत्यकाबाहिर सञ्चालन गर्ने व्यवस्था गर्न लागिएको विभागले जनाएको छ।

Sunday, April 14, 2013

नववर्षको शुभकामना

नववर्ष २०७० सालको मंगलमय हार्दिक शुभकामना
 
 
 



लोकतन्त्र परिवार, वैशाख १ गते

Friday, March 15, 2013

प्रधान न्यायाधीश नेतृत्वमा यस्तो-उस्तो केही हुन्न : कोइराला

नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले प्रधान न्यायाधीश कानुनी शासन मान्ने व्यक्ति भएकाले बजारमा हल्ला फिँजाए जस्तो ‘तानाशाह' नआउने दाबी गरे। ‘बरु माओवादीको सरकार रहिरहे तानाशाह आउँथ्यो,' कोइरालाले भने,‘प्रधान न्यायधिशको नेतृत्वमा यस्तो-उस्तो केही हुँदैन।'

विराटनगर विमानस्थलमा शुक्रवार सञ्चारकर्मीहरुसित कुरा गर्दै कोइरालाले चुनाव होस् भनेर चुनौति स्वीकार गरी प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गरेको बताए।

‘काँग्रेस जिम्मेवार पार्टी हो, पछाडि हेरेर बस्दैन,' कोइरालाले भने,‘चुनाव हुन्छ भनेर रिस्क लिएका हौ।' उनले काँग्रेसले चुनाव चाहने र बाबुराम भट्टराईको सरकार हटनुपर्ने दुबै अडान राखेकाले त्यसका लागि प्रधान न्यायधीशको नेतृत्व स्वीकार गरेको स्पष्ट पारे।

‘काँग्रेसको प्राथमिकता चुनाव थियो, बाबुरामको सरकार हुँदैन भन्ने थियो,' उनले भने,‘दलहरुले एकले अर्काको नेतृत्व स्वीकार्ने अवस्था नआएपछि प्रधान न्यायधिशलाई चुनेका हौ।'

सुनसरीमा शुक्रवारदेखि सुरु भएको नेपाल यातायात मजदुर संघको सातौं महाधिवेशनको उदघाटन गर्न काँग्रेस अध्यक्ष कोइराला विराटनगर आएका हुन्।



बास्तोलाको स्वास्थ्य स्थितिमा सुधार आएन

लामो समयदेखि मस्तिष्काघातका कारण अचेत अवस्थामा रहनुभएका नेपाली काँग्रेसका नेता चक्रप्रसाद बास्तोलाको स्वास्थ्यमा सुधार हुन सकेको छैन।
गत पुस १६ गतेदेखि दिल्लीको मेदान्त अस्पतालमा उपचार गराइरहनु भएका उनी यतिखेर बेलाबेलामा आँखा खोल्ने र खुट्टा तन्काउने गर्छन्। यस अतिरिक्त उनको स्वास्थ्यमा खासै सुधार नआएको भतिज तारा बास्तोलाले जानकारी दिए।
स्वास्थ्यमा सामान्य सुधार भएपछि सघन उपचारकक्षबाट निकालेर उनलाई केविनमा राखिएको छ। अचेत अवस्थामा रहनुभएको उहाँलाई झोल पदार्थ सिरिन्जको माध्यमले खुवाउने गरिएको छ। पुस १४ गतेका दिन मोरङको विराट चोकमा आयोजित एक कार्यक्रममा अचेत भएपछि बाँस्तोलाको सिलगुडीस्थित न्यूरो अस्पतालमा मस्तिष्कको शल्यक्रिया गरिएको थियो। त्यसलगत्तै उनलाई दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो।



Friday, March 8, 2013

एयरबस टोली फेरि अर्को साता आउने

नेपाल वायुसेवा निगमलाई जहाज बेच्न आएको युरोपेली कम्पनी एयरबसको टोली वार्ता टुंगोमा नपुगेपछि अर्को साता फेरि आउने गरी फर्किएको छ। निगम केन्द्रीय कार्यालयमा मंगलबार र बुधबार दुई दिन लगातार भएको वार्ता निष्कर्षमा नपुगेपछि एयरबसका उच्च अधिकारीहरू अर्को साता पुनः आउने गरी बिहीबार फ्रान्स फर्किएका छन्। फागुन पहिलो साता मन्त्रिपरिषद बैठकले अन्तर्राष्ट्रिय उडानका लागि निगमलाई एयरबसका दुईवटा जहाज किन्ने निर्णय गरेपछि निगम व्यवस्थापनले एयरबसका उच्च अधिकारीहरूलाई वार्तामा बोलाएको थियो।
'वार्ता टुंगोमा पुग्न सकेन, अर्को साता फेरि वार्ता गर्ने गरी एयरबसको टोली फर्कियो,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता गणेशबहादुर चन्दले बिहीबार नागरिकसँग भने, 'अर्को साता नै केही निष्कर्ष आउला।'
निगमसँग वार्ता गर्न एयरबसका वरिष्ठ बिक्री तथा बजार निर्देशक शील शुक्ल र कस्टोमर डाइरेक्टर बहराम आएका थिए। यताबाट नायब महाप्रबन्धक गणेश ठाकुरको नेतृत्वमा सबै विभागका निर्देशक वार्तामा सहभागी थिए। एयरबसका शुक्ल निगमलाई जहाज बेच्ने उद्देश्यले यसअघि २८ पटक नेपाल आइसकेका छन्। यसपालि २९औं पटक आएका हुन्।
वार्तामा सहभागी एक अधिकारीका अनुसार निगम टोलीले पुरानै भाउमा जहाज बेच्न आग्रह गरे पनि एयरबस टोलीले जहाज निर्माण क्षेत्रमा भएको मूल्य वृद्धिलाई समायोजन गर्नुपर्ने बताएका थिए। एयरबसको पुरानो प्रस्तावमा जहाजको भाउ सन् २००८ को उल्लेख गरिएको छ।
'हामीले कुनै पनि लागत नथपी जहाज बेच्न आग्रह गर्यौंो, तर उनीहरूले यसबारे फ्रान्सस्थित केन्द्रीय कार्यालयमा जानकारी गराउने बताए,' ती अधिकारीले भने, 'आशा छ, अर्को साता आउँदा पुरानै भाउमा जहाज बेच्छन्।'
उनका अनुसार एयरबस टोलीको यो भनाइपछि अब खरिद गर्ने जहाजको भाउ उल्लेख्य दरमा बढ्ने निश्चित छ। यदि एयरबसको भनाइअनुसार जहाज किन्ने अवस्था आयो भने बढी रकम जाहो गर्न निगम व्यवस्थापनलाई थप हम्मे पर्नेछ।
निगम भने पुरानै भाउमा जहाज किन्ने गरी पैसा जाहो गर्नतिर लागेको थियो। उसले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेना, नेपाल प्रहरी, बैंकहरूको सहवित्तीयकरण लगायतबाट पैसा जुटाउने प्रक्रिया निगमले सुरु गरेको छ। एयरबसको भनाइपछि अब निगमले थप रकम पनि व्यवस्था गरिररहनुपर्ने हुन्छ।
निगम सञ्चालक समितिले एयरबससँग जहाज खरिद गर्न व्यवस्थापनलाई अगाडि बढ्न निर्देशन दिएपछि नायब महाप्रबन्धक ठाकुरको संयोजकत्वमा वार्ता समिति गठन भएको थियो। त्यसपछि निगमले एयरबसलाई वार्ताका लागि पत्राचार गरेको थियो। पत्र पाएलगत्तै एयरबस टोली काठमाडौं आएको हो। समितिलाई एयबस टोलीसँग जहाज खरिद, मूल्यलगायत विषयमा वार्ता गरी सञ्चालक समितिसमक्ष प्रतिवेदन बुझाउने अख्तियारी दिइएको थियो।
पछिल्लो पटक गत कात्तिक २१ मा एयरबसका उच्च अधिकारीहरूको एक टोलीले निगममा आएर पुरानो प्रक्रियाबारे छलफल गरेका थिए। टोलीले टेन्डरमा तोकेबमोजिमकै पुरानो भाउ र समझदारीअनुसार जहाज बिक्री गर्न एयरबस तयार रहेको प्रतिबद्धता जनाएको थियो।
तीन वर्षअघि निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुई ठूला जहाज खरिद गर्न मागेको 'ग्लोबल टेन्डर' एयरबसले जितेको थियो। एयरबसले निगमलाई ४ करोड १२ लाख ८९ हजार डलरमा 'न्यारो बडी' (ए३२०-२०० सिरिज) र ९ करोड २८ लाख ४५ हजार डलरमा 'वाइड बडी' (ए३३०-२०० सिरिज) बेच्ने प्रस्ताव गरेको थियो।
लगत्तै तत्कालीन संसदको सार्वजनिक लेखा समितिले निगमको जहाज खरिद प्रक्रिया सार्वजनिक खरिद ऐनविपरीत भएको कारण देखाउँदै २०६६ पुस १३ मा रद्द गर्न सरकारलाई निर्देशन दिएको थियो।

Tuesday, January 29, 2013

टोयोटा फेरि नम्बर एक


टोकियो, माघ १६ (बिबिसी)- जापानी मोटर उत्पादक कम्पनी टोयोटाले बिक्री संख्याका आधारमा फेरि पहिलो स्थान ओगट्न सफल भएको छ। टोयोटाले सन् २०१२ मा ९७ लाख ५० हजार गाडी बिक्री गरेको छ। यो अघिल्लो वर्षको दाँजोमा २२ प्रतिशत बढी हो। २०११ मा सबैभन्दा धेरै गाडी बिक्री गरेको अमेरिकी कम्पनी जनरल मोटर्सले २०१२ मा ९२ लाख ९० हजार बेचेको थियो।
जापानमा गत वर्ष आएको सुनामी र थाइल्यान्डको बाढीका कारण २०११ मा टोयोटाको उत्पादन तथा बिक्री घटेको थियो। प्राकृतिक प्रकोपछि टोयोटालगायत जापानी कम्पनीको उत्पादन क्रमिक रूपमा बढेको छ।
'पछिल्लो दुई वर्ष टोयोटाका लागि निकै चुनौतीपूर्ण रह्यो,' सवारी बजार विश्लेषक विवेक वैद्यले भने, 'टोयोटा नम्बर एकमा पुनर्स्थापित हुनु कम्पनी र यसका सेयरधनीका लागि खुशीको समाचार हो।'
टोयोटाका जापानी प्रतिस्पर्धी कम्पनीले पनि २०१२ मा बिक्री बढाएका छन्। निसानले ४९ लाख ४० हजार गाडी बिक्री गरेको छ। यो ६ प्रतिशत वृद्धि हो। होन्डाको बिक्री १९ प्रतिशतले बढेर ३८ लाख २० हजार पुगेको छ।
प्राकृतिक प्रकोपबाहेक जापानी येन महँगो भएकाले टोयोटालगायत कम्पनीको नाफा घटेको थियो। येनको भाउ बढ्दा जापानी उत्पादन विदेशीका लागि महँगा भएका थिए।
यसका कारण विदेशबाट जापानी कम्पनीले गर्ने आम्दानी पनि घटेको थियो। येन महँगिदा सबैभन्दा बढी टोयोटा प्रभावित भएको थियो। पछिल्ला केही महिना येनको विनिमय दरमा आएको गिरावटले भने जापानी कम्पनीलाई राहत मिलेको छ।
गएको नोभम्बरयता अमेरिकी डलरसँग जापानी येनको विनिमय दर १९ प्रतिशतले घटेको छ। यसले जापानी कम्पनीहरूको बिक्री बढाउन मद्दत पुग्ने विश्लेषकको अनुमान छ। 'जापानी येनको गिरावट टोयोटाका लागि सुखद कुरा हो,' वैद्यले भने, 'यसले नगद प्रवाह र नाफामा सकारात्मक प्रभाव पार्ने छ भने प्रविधिमा थप लगानीलाई पनि सहयोग पुर्यायउने छ।'
पछिल्लो समय बिक्री बढेकाले सबै जापानी कम्पनीले नाफा बढ्ने प्रक्षेपण गरेका छन्। टोयोटाले २०१३ मा नाफा ८ अर्ब ६० करोड डलर पुग्ने अनुमान गरेको छ। गत वर्ष उसले ७ अर्ब ६० करोड नाफा गरेको थियो।
सन् १९३७ मा स्थापना भएको टोयोटाले संसारभर ३ लाखजनालाई रोजगारी दिएको छ। आम्दानीका आधारमा यो संसारकै आठौं ठूलो कम्पनी हो। टोयोटा इन्डस्ट्रिजको सहायक कम्पनीका रूपमा किचिहिरो टोयोडाले टोयोटा मोटर कर्पोरेसन स्थापना गरेका हुन्। हाल कर्पोरेसनअन्तर्गत टोयोटासहित लेक्सस, डाइहात्सु, हिनो मोटर्स सञ्चालित छन्।
जापान र चीनको बढ्दो विवादले भने टोयोटाको कारोबारमा नकारात्मक प्रभाव पर्ने विश्लेषक बताउँछन्। चीन संसारकै सबैभन्दा ठूलो मोटरकार बजार हो। चीनमा बजार हिस्सा बढाउन सकेमात्र कम्पनी सफल हुने ठम्याइ विश्लेषकको छ। इस्ट चाइना सीस्थित द्वीपबारे दुई देशको विवाद चर्किंदा सर्वसाधारण चिनियाँले जापानी उत्पादन बहिस्कार गनुपर्ने माग गर्न थालेका छन्। द्वीप विवाद अझै साम्य भएको छैन।