Sunday, July 7, 2013

विमानस्थलमा नयाँ ट्याक्सी


काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साउनदेखि नयाँ ट्याक्सी देख्न पाइने भएको छ। ४० वर्षदेखिका पुराना ट्याक्सीको सट्टा ‘युरो तीन’ मापदण्डका नयाँ ट्याक्सीले यात्रुलाई सेवा दिने भएका हुन्। एक वर्षअघि ठेक्का पाएको कम्पनी विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले हरियो नम्बर प्लेट अनुमति पाए साउनदेखि केही ट्याक्सी सञ्चालन गर्ने बताएको छ।

पहिलो चरणमा ४० वटा सञ्चालन गर्ने तयारी रहेको कम्पनीका प्रबन्ध निर्देशक पुरुषोतम सिंखडाले बताए। ‘हामीले यातायात व्यवस्था विभागसमक्ष हरियो प्लेटका लागि अनुरोध गरिसकेका छौं,’ सिंखडाले भने, ‘मौखिकरूपमा अनुमति पाइसकिएको छ, पत्र कुरिरहेका छौं ।’ ट्याक्सी १७ लाख ७५ हजारदेखि २४ लाख ५० हजारसम्म पर्ने फोर्ड र मारुती कम्पनीको रहेको उनले बताए । उनले साउन महिनाभित्रै दुई सयवटा ट्याक्सी सञ्चालन गरिने पनि बताए।

‘स्वीकृति लगभग पक्कापक्की भइसकेको छ,’ उनले भने, ‘सवारी दर्ता गरेर केही दिनमै सञ्चालनको तयारी छ ।’ नयाँ गाडीसँगै पुराना गाडी विस्थापित गर्न व्यवसायीबीच सहमति भइसकेकोले विवादबिना काम हुने उनले बताए। विभागले स्वीकृत गरेको फाइलका सम्बन्धमा एक हप्ताअघिदेखि यातायात मन्त्रालयमा छलफल भइरहेको छ। मन्त्रालय सचिव तुलसी सिटौलाले पनि साताभित्रै स्वीकृति दिइने बताए । ट्याक्सी समाधानको राम्रो उपाय भएका कारण यो स्वीकृत हुनसक्ने उनले बताए पनि केही परिमार्जन गर्नुपर्ने देखिएको बताए।

‘ट्याक्सीको संख्या तीनसय पुर्‍याउनुपर्ने सम्झौतामा उल्लेख भए पनि तत्काल यतिका सवारी आवश्यक नपर्ने भएकाले दुई सयमै राख्ने र सम्झौतामा १ हजार सिसीका सवारी ल्याउनुपर्ने भए पनि अहिले आएभन्दा अन्यका लागि भने १२ सय सिसी बनाउनुपर्ने कुरामा उहाँहरू (कम्पनी) सहमत देखिनुभएको छ,’ सिटौलाले भने, ‘एक हप्ताभित्र यसको आधिकारिक समाधान हुन्छ।’

१ सय ६८ वटा पुराना ट्याक्सी रहेकामा अहिले १ सय ५० नयाँ ट्याक्सी थप्न बुकिङसमेत भइसकेको उनले बताए । विमानस्थलका महाप्रबन्धक दिनेशप्रसाद श्रेष्ठले पनि व्यवसायीले जिम्मा पाइसकेकाले समयमै ट्याक्सी सञ्चालन हुने बताए। डेढ सय ट्याक्सी चलाएबापत टेन्डर प्रक्रियापछि विमानस्थललाई सात वर्षमा १ करोड ६८ लाख ८४ हजार रुपैयाँ तिर्नेगरी सम्झौता भएको थियो।

नयाँ प्रिपेड ट्याक्सी आएपछि बाहिरका ट्याक्सीको भन्दा डबल दस्तुर पुराना ट्याक्सी विस्थापन गर्ने सर्तमा मन्त्रालयले त्यसको बदलामा आयात गरिने नयाँ गाडीमा भन्सार छुट दिने प्रक्रिया अगाडि बढाएको थियो। तर मन्त्रिपरिषदले फायल फिर्ता गरिदिएपछि व्यवसायीले कम्पनीमार्फत् काम अघि बढाएका हुन्। नयाँ व्यवस्थाअनुसार पुरानाभन्दा बिलासी किसिमका ट्याक्सी रहेको यातायात व्यवस्था विभागका निर्देशक सरोजराज अधिकारीले बताए। हाल विमानस्थलमा रहेका २० वर्षभन्दा पुराना ट्याक्सी कतै पनि चल्न नपाउने र त्यसभन्दा नयाँलाई अन्य प्लेटमा उपत्यकाबाहिर सञ्चालन गर्ने व्यवस्था गर्न लागिएको विभागले जनाएको छ।

No comments: