Thursday, August 11, 2011

शान्ति प्रक्रिया टुंग्याउन कांग्रेसलाई देऊ : कोइराला

काठमाडौं, साउन २६- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले शान्ति प्रक्रिया पूरा गर्न आफ्नो पार्टीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन्।
मलेसियाबाट फर्केको जनाउ दिन दाहालले बुधबार कोइरालालाई टेलिफोन गरी प्रधानमन्त्री झलनाथ खनालको आसन्न राजीनामापछि आफ्नो पार्टीको नेतृत्वमा सहमतिको सरकार बनाउन सहयोगका लागि आग्रह गरेका थिए।
दाहालले शान्ति प्रक्रिया टुंग्याउन 'तीन चार महिना लाग्छ' भनेपछि कोइरालाले 'त्यसका लागि कांग्रेस नेतृत्वको सरकार बनाउन' आग्रह गरेका थिए। कोइरालाले साँझ महाराजगन्ज निवासमा पत्रकारहरूसँग भने, 'मैले उहाँलाई शान्ति प्रक्रिया टुंग्याउन जति समय लाग्छ त्यतिका लागि हाम्रो पार्टीको नेतृत्वमा सरकार बनाऊँ भनेँ।'
कोइरालाका अनुसार दाहालले भने त्यसको जवाफ दिएनन्। बरु आफ्नो पार्टीको नेतृत्वमा सरकार बने प्रक्रिया सहज रूपले अघि बढ्ने आश्वासनमात्र दिए।
कोइरालाले माओवादी आश्वासनको आशमा बस्न नसकिने तर्क गर्दै शान्ति प्रक्रिया पूरा नभएको अवस्थामा माओवादी नेतृत्वको सहमतिको सरकार बन्न नसकिने धारणा दोहोर्‍याए। साँझै कोइरालाले पार्टीका नेताहरू शेरबहादुर देउवा र रामचन्द्र पौडेलसँग आफ्नो निवासमा नयाँ परिस्थितिबारे छलफल गरेका।
खनालले राजीनामा गरेपछि कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार को बन्ने भन्ने प्रश्नमा कोइरालाले पार्टीमा 'सहमति भए सहमतिको उम्मेदवार बन्ने, नभए प्रक्रियाबाट (संसदीय दलका नेता) उम्मेदवार हुने प्रस्ट छ' भने। प्रधानमन्त्रीका आकांक्षी देउवा र संसदीय दलका नेता पौडेलमध्ये को उम्मेदवार बन्ने भन्नेबारे उनले ती दुईजनाबीच सहमति हुने आशा प्रकट गरे।
तपाईं आफैं भने उम्मेदवार बन्न चाहनु हुँदैन भन्ने प्रश्नमा भने उनले हाँस्दै 'किन झगडा लगाउनुहुन्छ' भन्ने प्रतिप्रश्न गरे। शीर्ष नेताहरूको आलोपालोसहितको सहमतिको सरकारको सम्भावनाबारे भने उनले 'अहिल्यै केही भन्न नसकिने' बताए।
दाहालप्रति विश्वास छैन भने बाबुराम भट्टराई उम्मेदवार बन्दा फरक पर्छ भन्ने प्रश्नमा पनि उनले त्यो व्यक्तिको नभई पार्टीसँग अविश्वासको विषय हुँदै आएको प्रस्ट गरे। शान्ति प्रक्रिया अघि नबढेको मात्र नभई, संविधानका आधारभूत विषयमा समेत सहमति जुट्न नसकेको दर्शाउँदै कोइरालाले माओवादीप्रति अविश्वास हट्ने आधार नबनेको जिकिर गरे।

No comments: