Tuesday, June 30, 2009

नेपालमा पनि स्वाइन फ्लु पाईयो !

काठमाडौं, असार १६- दुई सय ५० भन्दा धेरैको ज्यान लिएको स्वाइन फ्लु नेपालमा पहिलोपटक भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अमेरिका बसाईबाट फर्केका नेपाली बाबु - आमा र तिनका सन्तानमा स्वाइन फ्लु भेटिएको हो।
स्वाइन फ्लु भेटिएका नेपाली महिलाको उमेर ३८ र पुरुषको उमेर ४० वर्ष छ। लामो समयदेखि अमेरिकाको भर्जिनियामा कामदार भिसामा रहँदै आएका उनीहरु असार असार ७ गते दोहा हुँदै नेपाल प्रवेश गरेका थिए। विमानस्थलमा रहेको हेल्थ डेस्कमा तत्काल जाँच गर्दा रोग नदेखिएको र कुनै लक्षण देखापरेमा सम्पर्क राख्न दिइएको जानकारीका आधारमा बालकमा ज्वरो र घाँटी दुख्ने समस्यापछि उनीहरु ९ गते टेकु अस्पताल पुगेका थिए। गत अप्रिल २९ देखि नै सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थडेस्क राखेर स्वाइन फ्लु देखा परेका देशबाट आएका मानिसको स्वास्थ्य परीक्षण सुरु गरेको थियो।
आठ वर्षे ती बालकमा असार १० गते गरिएको प्रथम परीक्षणबाट एचवानएनवान पोजेटिभ भेटिएको थियो। बालकमा पोजेटिभ देखिएपछि सँगै आएका बाबुआमा र भाइलाई बोलाएर उपचार र परीक्षण गरिएको हो।
१२ गते नमुना लिइएका बाबुआमामा समेत स्वाइन फ्लु भएको १४ असारमा प्रमाणित भएको हो। टेकुस्थित राष्ट्रिय प्रयोगशालाले प्रतिवेदन गोप्य राख्दै थप दुईपटक परीक्षण गरेको थियो। विभाग उच्चस्रोतका अनुसार एउटै परिवारका सदस्य भएको र घरैमा बस्न चाहेकाले उनीहरुलाई विशेष निगरानीमा राखिएको छ। उनीहरु हालै काठमाडौंमा नै बसिरहेका छन्।

No comments: