Wednesday, September 22, 2010

कोइराला सभापति निर्वाचित

काठमाडौं, - नेपाली काँग्रेसको १२ औँ महाधिवेशनले वर्तमान कार्यवाहक सभापति सुशील कोइरालालाई सभापति पदमा निर्वाचित गरेको छ। कोइरालाले १६५२ मत ल्याएका छन्, जुन पार्टी विधान अनुसार निर्वाचित हुन आवश्यक कूल मतको ५०% भन्दा बढी हो। उनका निकट प्रतिद्वन्द्वी शेरबहादुर देउवाले १३१७ मत मात्रै ल्याए। सभापति पदका अर्का दावेदार पुराना तथा त्यागी नेता भीमबहादुर तामाङले भने मत स‍ं‍ख्यामा दोहोरो अंक पनि कटाउन सकेनन्। उनले ७८ मत मात्रै ल्याए।कूल मतदाता संख्या ३ हजार ८० भएकोमा ३ हजार ६४ मत मात्रै खसेको थियो। १५ मत बदर र २ मत खाली रहेको जानकारी निर्वाचन समितिका मुख्य संयोजक राधेश्याम अधिकारीले बताए।
कोइरालाको पक्षमा कार्यकर्ताहरुले मतगणना स्थल प्रज्ञा भवनमा चर्को नाराबाजी गरे पनि उनी विजयको खुसी साट्न त्यहाँ उपस्थित भएनन्। निमोनियाको कारण उनी निवास मै आराम गरिरहेको र उनको तर्फबाट सन्देश ल्याएको भन्दै संसदीय दलका नेतासमेत रहेका रामचन्द्र पौडलले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिए।
'निष्ठाको राजनीतिको सम्मान भएको छ', पौडेलले भने- 'हार र जीत महत्त्वपूर्ण हैन। शेरबहादुरजीको पनि पार्टीमा उत्तिकै योगदान छ। केही दिनमा नै उहाँहरुले यो परिणाम बिर्सनु हुनेछ र पार्टी एक ढिक्का भएर अघि बढ्नेछ।'पौडेलले शान्ति र एकताको सन्देश १२ औँ महाधिवेशनले दिएको जिकिर गर्दै स्वर्गीय गिरिजाप्रसाद कोइरालाको लोकतन्त्र र शान्तिको अभियानलाई पूरा गर्न काँग्रेस एकजुट भएर अघि बढ्ने बताए।
राति ८ बजे सुरु हुने भनिएको कांग्रेस निर्वाचन अन्तर्गत सभापति पदको मतगणना आचारसंहितामाथिको छलफलमा लम्बिएपछि साढे ११ बजे बल्ल सुरु भएको थियो। मत परिणाम सुन्न प्रतीक्षारत सयौं कार्यकर्ताले मतगणनास्थल प्रज्ञाभवन कमलादी अगाडि नाराबाजी गरेका थिए। देउवा पक्षधर कार्यकर्ताहरुको चर्को नाराबाजी अनौपचारिक मतपरिणाममा कोइरालाको अग्रता कायम हुँदै गरेको खबर सार्वजनिक हुन थालेपछि मत्थर भएको थियो। एक भोटको अन्तरबाट सुरु भएको अनौपचारिक मतपरिणाम सार्वजनिक हुने क्रम अन्त्यसम्म आइपुग्दा तीन सय नाघिसकेको थियो।
महाधिवेशनको पाँचौं दिन सभापतिसहित पार्टीको ६४ केन्द्रीय कार्यकारिणी पदाधिकारी तथा सदस्यका लागि चुनाव सम्पन्न भएको थियो। तर निर्वाचन समितिको निर्णय अनुसार पहिलो चरणमा सभापति पदको मतगणना भएको हो। बाँकी मतपत्र पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ। बुधबारदेखि अरु पदको मतगणना सुरु हुनेछ।

No comments: