Saturday, September 18, 2010

माओवादी हतियार त्याग, म अहिले नै उम्मेद्‍वारी फिर्ता लिन्छु : पौडेल

कङ्ग्रेस नेता रामचन्द्र पौडेलले माओवादी अध्यक्ष पुष्पकमल दाहालले हतियारको राजनीति त्यागेको बताउँदासाथ आफूले प्रधान मन्त्रीको उम्मेद्‍वारी फिर्ता लिने घोषणा गरेका छन्।
'तपाईं हतियारको राजनीति छाडेको घोषणा गर्नूस्, म तत्कालै उम्म्द्‍वारी फिर्ता लिन्छु'- त्यहीँ उपस्थित दाहालसँग उनले आग्रह गरे।उनले प्रजातन्त्रमा कहीँ पनि सम्झौतामा सरकार नबन्ने बताए र भने- माओवादी अध्यक्ष दाहालले गिरिजाप्रसादको निधनपछि यही मञ्चबाट अब शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउने जिम्मा आफ्नो काँधमा आएको बताएका थिए, तर अहिले ख्वै घोषणाअनुसार काम गरेको ?उनले एमाले र माओवादीबीच आजै भएको सम्झौताप्रति कटाक्ष गर्दै भने- अब हेरौं, कसरी सहमति हुन्छ, कसरी सरकार बन्छ अघि बढ्छ ? अनि कसरी र कहिलेसम्म टिक्छ ? यी सबैको परीक्षा गर्नु छ ।
उनले अब हलो अड्काएर गोरु चुट्ने काम बन्द गर्नुपर्ने बताउँदै पासो थाप्ने कार्य तत्काल रोक्नुपर्ने धारणा पनि अघि सारे।त्यसैगरी कङ्ग्रेस नेता शेरबहादुर देउवाले कङ्ग्रेस संविधानसभामा दोस्रो पार्टी भए पनि अब यसलाई सबैभन्दा ठूलो बनाएर देखाउने दाबी गरे। उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूहरुलाई शान्ति प्रक्रियामा कसैले डोर्‍याएर ल्याएको हैन भनेकोप्रति उनको जवाफ थियो- हामीले घिसारेर ल्याएको भनेको छैन। उनी आएका त हुन नि !देउवाले सधै‌का ठूला र परिवर्तनका लागि भएका आन्दोलनको नेतृत्व कङ्ग्रेसले नै गर्दै आएको पनि बताए । यस्ता कामका लागि सधैं अगुवाइ गर्ने भनाइ पनि उनको थियो।
यसैगरी अर्का नेता सुशील कोइरालाले अहिले मुलुकको समस्या निकासका लागि बल माओवादीको कोर्टमा रहेकाले उनीहरु नै यसका लागि लागिपर्नुपर्ने बताए । उनले कङ्ग्रेसले स्वतन्त्रताका लागि कसैसँग कुनै सम्झौता नगर्ने पनि बताए।पार्टीलाई सवल र सक्षम ढङ्गले अघि बढाउनुपर्ने बताउँदै कोइरालाले नेपालको भलो भएमात्र सबैको भलो हुने धारणा व्यक्त गरे।

No comments: