Saturday, December 19, 2009

कोइरालाले दाहाललाई भने- आन्दोलन छाड्नोस्

पुस ३- माओवादीले आह्वान गरेको आम हड्ताल मिति नजिकिँदै गर्दा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आन्दोलन छाड्न आग्रह गरेका छन्। मुलुक शान्ति प्रक्रिया बिथोलिने र संविधान नबन्ने दिशातर्फ गइरहेकोमा गम्भीर चिन्ता जनाउँदै कोइरालाले दाहाललाई भने 'अहिलेको समय आन्दोलनको हैन, आन्दोलन छोड्नोस्।'
माओवादीले चौथो चरणको आन्दोलनमा शिविरभित्रका लडाकू बाहिर निकाल्ने बताइरहेकै बेला कोइरालाले मुलुक शान्ति प्रक्रिया बिथोलिने र संविधान नबन्ने दिशातर्फ लागेकोमा चिन्ता जनाएका हुन्।
मुलुकको समसामयिक राजनीतिक अवस्था बारे छलफल गर्न कोइराला निवास पुगेका माओवादी अध्यक्ष दाहाल कोइरालाको भनाइप्रति गम्भीर बनेका थिए। आधा घण्टाभन्दा बढी चलेको छलफलमा अध्यक्ष दाहालले आफ्नो पार्टीले उठाएका सामान्य मुद्दाहरुलाई सम्बोधन गरिदिन कोइरालासमक्ष आग्रह गरेका थिए।
'राष्ट्रपतिको कदम बारे हामीले उठाएका सामान्य मुद्दालाई कुनै न कुनै ढंगबाट सम्बोधन गरिदिनु पर्यो' दाहालको भनाइ उदृत गर्दै दुई नेताको बैठकमा सहभागी कांग्रेस केन्द्रीय सदस्य कृष्ण सिटौलाले भने- 'उहाँले पार्टीका साथीहरुसँग बसेर कुरा गर्छु भन्नु भएको छ।'
कोइरालाको चिन्ताप्रति गम्भीर देखिएका दाहाल पार्टीका साथीसँग छलफल गरेर भेट्न आउँछु भन्दै कोइराला निवासबाट बाहिरिएका थिए। 'एक दुई दिनमै फेरि भेटेर निर्णायक निकास निकाल्ने सहमति भएको छ'- सिटौलाले भने।

No comments: