Wednesday, December 23, 2009

दाहालको भनाइ विदेशी हस्तक्षेप निम्त्याउने प्रयास : दलहरु

काठमाडौं - माओवादी अध्यक्ष पुष्पकमल दाहालको दलहरुसँग नभई सिधै दिल्लीसँग वार्ता गर्ने भन्ने अभिव्यक्तिले विदेशी हस्तक्षप निम्त्याउन खोजेको भन्दै दलका नेताहरुले चर्को टिप्पणी गरेका छन्। कांग्रेस उपसभापति तथा संसदीय दलका नेता रामचन्द्र पौडेलले दाहालको दिल्लीसँग सिधै वार्ता गर्ने भन्ने अभिव्यक्तिले माओवादीको हताश मनस्थीति प्रतिविम्वित भएको टीप्पणी गरे।
'आफ्नै राष्ट्रभित्र रहेका दलहरुसँग छलफल गरी सहमतिमा जानुपर्ने विषयमा सिधै दिल्लीलाई 'पुकार गर्नु' हताश मनस्थीतिको उपज हो, यसले विदेशी हस्तक्षप थप बढाउछ' पौडेलले नागरिकसँग भने।

पौडेलले माओवादीले विश्वास गुमाउदै गएकोले भारतीसँग गुहार गरेको बताए। 'नेपाली जनता, दलहरु र नागरिक समाजसँगको विश्वास गुमाएकोले माओवादी नेतृत्वले दिल्लीसँग वार्ता गर्ने उद्घोष गरेको हो' उनले भने।
तीन दिने आम हड्तालको समापन भाषणका क्रममा मंगलबार दाहालले आफ्नो पार्टीले दलहरुसँग नभई सिधै दिल्लीसँग वार्ता गर्ने घोषणा गरेका थिए। दाहालको यस्तो अभिव्यक्ति सार्वजनिक भए लगत्तै नेताहरुले चर्को आलोचना गरेका छन्।उनीहरुले दाहालले अनावस्यक विदेशी हस्तक्षप गराउने उदेश्यबाट पे्ररित भएर यस्तो भनाई सार्वजनिक गरेको बताएका छन्।
कांग्रेस, एमाले लगायतका प्रमुख राजनीतिक दल र सरकारसँग वार्ताको कुनै औचित्य नभएको भन्दै दाहालले आफ्ना कार्यकर्ताहरुलाई अव सिधै दिल्लीसँग वार्ता गर्ने उद्घोष उक्त समापन भाषणमा गरेका थिए।
राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सर्यबहादुर थापाले भारतले हस्तक्षप गर्‍यो भन्ने माओवादीकै नेतृत्वले दिल्लीसँग वार्ता गर्छु भनेर उनीहरुको वास्तविकता उदाङगीएको टिप्पणी गरे।'ठूला पार्टीका नेताले दिल्लीमा वार्ता गर्छु भन्नु अराष्ट्रिय कुरा हो यसले सारा नेपालीको बेइज्जत गरेको छ' उनले टिप्पणी छ।
थापाले राष्ट्रयताको त्यत्रो नारा दिने माओवादी नेतृत्वले हस्तक्षप गरेको लाग्थ्यो भने दिल्लीमा हात जोड्न जान नपर्ने बताउदै यस्तो अभिव्यत्तिले उनीहरु कहाँ बसेर के गरेका थिए भन्ने उदाङगो भएको बताए।
दाहालले धेरैपटक दलहरुसँग वार्ता गरियो तर कुरा दिल्लीमा गएर अड्किने भएकोले अव सिधै दिल्लीसँग वार्ता गर्ने बताएका थिए। माओवादी अध्यक्ष दाहालले पार्टी भुमिगत हुदा नोकरहरुसँग (दलसँग) नभई सिधै मालिक (राजा) सँग वार्ता गर्ने बताएका थिए। झण्डै त्यस्तै भाषामा उनले दिल्लीसँग वार्ता गर्ने घोषणा मंगलबारको आमसभामा माफर्त गरेका हुन।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रघुजी पन्तले सर्वभौम देशमा सबै निर्णय गर्ने अधिकार जनताका प्रतिनिधिसँग हुने बताउदै माओवादीको भनाइले खासै अर्थ नराख्ने टिप्पणी गरे। 'माओवादी नेताहरुको अनावस्यक टिप्पणीले कुनै असर गर्दैन, कसैले विदेशीलाई आफ्नो देशको मालिक देख्छ भने त्यो उसको दृष्टिभ्रम मात्र हो' पन्तले भने।
माओवादीसँगको १२ वुदेदेखि शान्ति प्रक्रियामा प्रमुख भुमिका निर्वाह गर्दै आएका कांग्रेस नेता कृष्ण सिटौलाले पनि माओवादी अध्यक्ष दाहालको अभिव्यक्ति निराशाजनक र उत्तेजितपूर्ण भएको टिप्पणी गरे। 'माओवादी नेतृत्वले आफ्ना गल्ती ढाकछोप गर्न अरुमाथि दोशारोपण गरेका छन्' सिटौलाले भने।

राजनीतिक दल र मित्रराष्ट्रमाथि तिक्त्तता पोखेर समस्याको समाधान नहुनै जिकिर गर्दै सिटौलाले माओवादी शान्ति र संविधानको कुरा गर्ने तर इमान्दार नरहने लक्षण देखिन थालेको बताए। 'स्थायी शान्ति र राजनीतिक स्थायित्व चाहने आम नेपाली जनताका लागि दाहालको सिधै दिल्लीसँग वार्ता गर्छु भन्ने अभिव्यत्ति दुर्भाग्पूण छ' सिटौलाले टिप्पणी गरे।मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले नेपालको समस्यालाई नेपालीभित्रै बसेर समाधान गनुपर्ने टिप्पणी गर्दै भने, 'अनावस्यक रुपमा आफ्नो देशको समस्याका लागि विदेशीलाई गुहार गर्न राष्ट्रिय हित विपरित हो।'

No comments: