Wednesday, January 6, 2010

सत्तापक्षबाटै सुजाताको राजीनामा माग

सत्तापक्षकै सभासद्हरूले संघीयताविरुद्ध अभिव्यक्ति दिने उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाको राजीनामा माग गरेका छन्। संसद्को विशेष समयमा बोल्ने सत्तापक्ष एमाले, फोरम (लोकतान्त्रिक), तमलोपा, सद्भावना (आनन्दीदेवी) लगायतका सभासद् र प्रमुख प्रतिपक्ष माओवादीका सभासद्हरूले राजीनामा मागेका हुन्।
एमालेका लालाबाबु पण्डितले उपप्रधानमन्त्रीमा पूर्वराजा ज्ञानेन्द्रमा जस्तै संघीयताविरोधी भूत सवार भएको भन्दै भने, 'सुजाता कोइरालालाई उपप्रधानमन्त्री पदबाट हटाएर जर्मनीमा संघीयता पढ्न पठाउनुपर्छ, त्यहाँ संघीयता कति सफल छ भन्ने उनलाई थाहा हुन्छ।' जर्मनीमा घरेलु कामदारका रुपमा मात्र काम गरेको अनुभव भएकाले संघीयताको सफलता उनलाई थाहा नभएको हुनसक्ने पण्डितको टिप्पणी थियो।एकीकृत माओवादीका रामकुमार शर्माले उपप्रधानमन्त्रीको अभिव्यक्ति उनका पिता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले 'मधेश प्रदेश मेरो लाशमा मात्र बन्छ' भनेर दिएको अभिव्यक्तिको निरन्तरता भएको आरोप लगाउँदै भने, 'संघीयताविरुद्ध बोल्ने उनलाई पदमा बसिरहने अधिकार छैन, राजीनामा दिनुपर्छ।' फोरम (लोकतान्त्रिक) का नीलम बर्मा, तमलोपाकी वसन्ती झा, सभासद्हरू सुनितादेवी यादव, सरिता गिरीले पनि राजीनामा माग गरेका थिए।राप्रपा नेपालका चन्द्रबहादुर गुरुङ र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने सुजाता कोइरालाको समर्थन गरेका थिए। गुरूङले भने, 'म संघीयताविरुद्ध बोलेकामा उहाँको सम्मान गर्छु, संघीयताविरुद्ध जनमत संग्रहको अवस्था सिर्जना गर्न मुख्य भूमिका निर्वाह गर्न आग्रह गर्दछु।' केसीले अरु दलका नेताहरूले संघीयताको समर्थन गरेजस्तै उपप्रधानमन्त्रीले पनि यसको विरुद्धमा बोल्न पाउनुपर्ने उनको तर्क थियो।

No comments: