Tuesday, December 8, 2009

कोप १५ सम्मेलन सुरु

मंसिर २२- संयुक्त राष्ट्र सङ्घको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप १५) दश दिनका लागि स्थानीय समयअनुसार साढे एघार बजे सुरु भएको छ। विश्वका शक्तिशाली राष्ट्र र तिनका प्रमुखहरु आउने भनिएको यस सम्मेलनको सुरक्षा व्यवस्था निकै कडा गरिएको छ।
आइतबार सम्मेलन केन्द्र असुरक्षित भएको भन्दै सुरक्षाकर्मीले तीन घण्टा सबै गतिविधि रोकेका थिए। बम भएको शङ्कामा सुरक्षाकर्मीले तीन घण्टा सम्मेलन केन्द्र आवतआवतमा पूर्ण प्रतिबन्ध लगाएका थिए। सोमबारको अवस्था सामान्य छ। अमेरिकी राष्ट्रपति बाराक ओबामा समेत आउने भनेपछि सुरक्षा क्षेत्र कडा बनाइएको हो।सम्मेलनमा १ सय ९३ देशका प्रतिनिधिको सहभागिता छ। त्यसमा पत्रकार, राष्ट्रिय तथा अन्तराष्ट्रिय सङ्घ-संस्थाका प्रतिनिधि, नागरिक समाज, वातावरण बचाउ अभियानकर्ता, वैज्ञानिक, सरकारी प्रतिनिधि पत्रकारलगायतको सहभागिता छ।
करिब एघार हजार सहभागीको अनुमान गरिए पनि ३० हजारसम्म पुग्ने अनुमान छ।सम्मेलनका प्रारम्भिक छलफलमा भाग लिन सचिवस्तर टोली दश दिनअघि नै यहाँ आइसकेको छ। हामीले हाम्रा एजेण्डा तयार बनाइसकेका छौं। कम विकसित मुलुक र जी ७७ राष्ट्रका प्रतिनिधिको अडान एउटै हुनेछ, वातावरण सचिव डा। उदयराज शर्माले भने। उनका अनुसार सन् १९९० सम्म वायुमण्डलमा थुप्रिएको कार्बनको मात्राको कति प्रतिशत भाग सन् २०२० र २०५० सम्म घटाउने भन्ने विषय सम्मेलनको प्रमुख एजेण्डा हुनेछ। 'यो त्यति सजिलो मुद्दा भने होइन, यसमा विकसित राष्ट्र विभिन्न बहाना बनाएर तर्किन खोज्नेछन्- उनले भने। वायुमण्डलमा बढ्दै गएको कार्बन डाइअक्साइडको मात्रा र त्यसले गर्दा भएको पृथ्वीको बढ्दो तापक्रम अहिलेको सबैको चासोको विषय हो। सम्मेलनमा कार्बनको उर्त्सजन नियन्त्रण योजनाबारे छलफल हुनेछ। सम्मेलनले एउटा निश्चित अवधिमा कति मात्रा कार्बन डाइअक्साइड घटाउने भन्ने निर्क्यौल गर्नेछ।
तर विकसित, अल्पविकसित र विकासशील राष्ट्रका आ-आफ्ना र आफ्नो अनुकूलका योजना तथा अडानले गर्दा यो सम्मेलन पनि विगतमा जस्तै असफल हुनसक्ने सम्भावना त्यत्तिकै छ। अमेरिका, चीन, भारत, रसियालगायतका मुलुक सबैभन्दा बढी कार्बन डाइअक्साइड उत्सर्जन गर्नेमा पर्छन्। यी मुलुकका प्रमुखले लिखित प्रतिबद्धता नजनाएसम्म समस्या समाधान असम्भव हुन्छ।

No comments: