Sunday, March 29, 2009

प्रचण्ड थैवको शवयात्रामा एमाले अध्यक्ष सहभागि

अज्ञात समूहबाट बुटवलमा गोली हानी मारिएका एमाले युथफोर्सका कार्यकर्ता प्रचण्ड थैवको शवयात्रामा एमाले अध्यक्ष झलनाथ खनालसहित वरिष्ठ नेताहरु सहभागि छन् ।  चैत १५ गते दिउँसो सुरु भएको शवयात्रा सहज पार्न चैत १४ गते बिहानदेखि स्थानीय प्रशासनले लगाएको कर्फयू आज दिउँसो साढे १२ देखि बेलुका पाँच बजेसम्मका लागि हटाइएको छ । थैवको हत्या माओवादी वाईसीएलले गरेको एमालेले बताएकाले एमाले र माओवादीबीच भिडन्त हुनसक्ने सम्भावनाका कारण प्रशासनले हिजैदेखि कर्फयू लगाएको हो । थैवको शवयात्रामा एमाले अध्यक्ष झलनाथ खनाल, महासचिव इश्वर पोखरेललगायत वरिष्ठ नेताहरु सहभागि छन् । शवयात्रामा ठूलो संख्यामा स्थानीय वासिन्दा जुटेका छन् । लुम्बिनी अंचल अस्पतालबाट सुरु भएको शवयात्रा शहरका बिभिन्न भाग हुँदै तिनाउ नदि किनारमा पुग्ने बताइएको छ । थैवलाई चैत १३ राती मोटरसाईकलमा आएका अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेका थिए । एमालेले उनको हत्या माओवादी वाईसीएलका रुपन्देही संयोजक सुरजितको प्रत्यक्ष संलग्नतामा भएको बताएको छ ।
थैवको हत्यामा संलग्न सुरजितलगायतलाई कारवाही गर्नुपर्ने माग गर्दै एमालेले आज देशव्यापी विरोध प्रदर्शन आयोजना गर्दैछ । काठमाडौंमा दिउँसो तीन बजे रत्नपार्कबाट बिरोध प्रदर्शन सुरु गरिने एमालेले बताएको छ ।

No comments: