Sunday, May 18, 2008

एनआरएन जापानका सम्पुर्ण मतदातालाई धन्यबाद तथा नव कार्यसमितिको सफलताको लागि शुभकामना - श्रेष्ठ

१५ मे, २००८, एनआरएन जापानको गत चुनावका अध्यक्ष पदका प्रत्यासी श्री महेश श्रेष्ठले व्यक्तिगत रुपमा जित र हार भन्दा एनआरएन अभियानलाई कमजोर हुन नदिन हामी सचेत हुनुपर्छ र यसका निम्ति गलत प्रवृत्ति र प्रक्रियालाई सच्याएर असहज परिस्थितिलाई सहज बनाउनु पर्छ भन्दै, एनआरएनलाई भावना अनुरुप सँस्थागत रुपमा अघि बढाउन पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्दै, अधिवेशनमा मत दिनुहुने तथा सहभागी सम्पूर्ण जापानवासी नेपाली दाजुभाई तथा दिदिवहिनीहरु साथै उक्त अधिवेशन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने निर्वाचन समिति, निवर्तमान कार्यसमिति लगायत सम्बन्धित सबैलाई हार्दिक धन्यवाद ब्यक्त गर्नु भएको छ ।
वक्तब्यमा भनीएको छ - सँघीय लोकतान्त्रिक गणतन्त्रात्मक नयाँ नेपाल वनाउनका लागि भएको सँविधान सभाको चुनाव पछि लगत्तै मे ४ तारिखका दिन सम्पन्न एनआआरएन जापानको दोस्रो अधिवेशनमा सबैले अपेक्षा गरे भन्दा अधिवेशनमा सहभागिता उत्साहपूर्ण रह्यो । यसलाई एनआरएन अभियानमा जापानवासी नेपालीहरुको सचेतता र सक्रियता बढेको कुराका रुपमा मैले लिएको छु । अर्कातिर अधिवेशनको तयारी व्यवस्थापन र निर्वाचन प्रक्रियाले असहज स्थितिको सिर्जना गरेको पाइएको छ ।

मे ४ तारिखका दिन सम्पन्न एनआरएन जापानको अधिवेशनलाई अधिवेशनमा सँलग्न विभिन्न पक्षहरुको मौखिक, लिखित प्रतिवेदनहरुको समिक्षा अध्ययन गर्दा उक्त अधिवेशन एनआरएनको विधान, भावना एवँ मर्म विपरित, सँसारमा नै प्रचलित निर्वाचन सम्बन्धी सर्वमान्य सिद्धान्तको ठाडो उल्लंघन गरी ,एनआरएन जापानको विधानको परिच्छेद-३ को धारा ४,धारा ५:१, ५:२, ५:३ र गैर आवासिय नेपाली सँधको सँसोधित विधान २००७ को परिच्छेद ४ को धारा ७:२ र धारा २३:२ को ठाडो उल्लँघन गरिएको पाइन्छ।

उक्त अधिवेशनमा धेरै टाढा टाढाबाट समेत आउनु भएका साथीहरु र हजारौँको सँख्यामा उपस्थित नेपालीहरुको भावना र त्यतिवेलाको परिस्थितिलाई समेत ध्यानमा राख्दै, विभिन्न प्रतिकुलताहरु,चुनावका प्राविधिक, वैधानिक एवँ प्रकृयागत त्रुटीहरुका वावजुद पनि उक्त चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गरी, सम्भावित अशान्ति र अन्योलताको अन्त्य गर्नु उपयुक्त ठानी आफू चुनावी प्रकृयामा सामेल भएको जानकारी गराउन चाहान्छु । वास्तवमा चुनाव आफैमा नित्तान्त प्राविधिक कुरा हुँदाहुदै पनि उक्त चुनावलाई भावनाका आधारमा सम्पन्न गराइको हामीले महशुस गरेका छौं। जव प्राविधिक कुरा आउछ, तव विधान, नियम कानूनका कुरा आउछन्, भावनाका कुराहरु ओझेलमा पर्न जान्छन्। के अन्तराष्ट्रिय सँजाल वन्दै गैरहेकोको २० लाख प्रवासी नेपालीहरुको प्रतिनिधित्व गर्ने एनआरएनले विधि विधान का कुराहरुलाई वेवास्ता गर्दै,केवल भावनाका आधारमा मात्र सँगठन चलाउन सक्छ? एनआआरएन जापानको अहिलेको अधिवेशनको निर्वाचन प्रक्रियाले अहिले एनआरएन अभियानमा लागेका हाम्रा सामु केही गहन प्रश्नहरु खडा गरेका छन्। जापानको नक्कल गर्दै अन्य मुलुकहरुमा पनि कतै यस्तै शैलीको चुनावी परम्परा त बस्ने होइन? भन्ने कुराले एनआरएन अभियानमा लागेका हामीहरुलाई ज्यादै चिन्तित तुल्याएको छ।

अघि भनीएको छ - अर्को तर्फ अहिलेको एनआरएनको चुनावका कारण जापानको विशिष्ट परिस्थितिमा रहेर विभिन्न पेशा, व्यवसाय, श्रम गरी बसेका नेपालीहरु बीचको आपसी एकता, भाइचारा, परस्परका सहयोग र सद्‌भावमा कुनै आँच नआओस्, नेपालका लागि नेपाली भन्ने मूल नारा बोकेको एनआरएनको उद्देश्य र मर्ममा कुनै खलल नपरोस् र जापानवासी नेपालीहरुको हक हितका लागि सबै एकजुट भएर लाग्ने वातावरण वनोस् भन्ने कुरामा पनि हामी उत्तिकै सतर्क छौं। एनआरएन जापानको इतिहासमा हाम्रा सामु कठिन परिस्थिति अनि गहन जिम्मेवारी आएको छ। एनआरएन आइसिसिका जिम्मेवार पदाधिकारीहरुको उपस्थितिमा जुन प्रकृयाले चुनाव सम्पन्न भयो, यसले एनआरएनको सँस्थागत विकास र भूमिकामा नकरात्मक असर पार्न सक्ने कुरालाई ध्यानमा राख्दै,अहिलेको एनआरएन जापानको निर्वाचन एनआरएनको विधिविधान र मूल मर्म अनुरुप भयो कि भएन भन्ने सम्वन्धमा छानविन गरी आफ्नो स्पष्ट धारणा अगाडि ल्याओस् र आगामी दिनहरुमा एनआरएनका विभिन्न देशका निर्वाचन लगायत अन्य साँगठनिक कृयाकलापलाई निश्पक्ष,पारदर्शी र विश्वासयोग्य वनाउनका लागि जापानको एनआरएनवाट पाठ सिक्दै अगाडी वढोस् भन्ने आग्रह एनआरएनको सर्वोच्च निकाय एनआरएन आइसिसि समक्ष राख्न चहान्छु। अन्त्यमा, आफू एनआरएनका हरेक अभियानमा सकृयताका साथ लागि रहने प्रण गर्दै, नव निर्वाचित कार्य समितिका सम्पूर्ण पदाधिकारी एवँ सदस्यहरुलाई हार्दिक धन्यवाद दिदै उक्त कार्यसमितिको पूर्ण सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छु।

No comments: