Friday, May 2, 2008

भेट

सुरेश परिवर्तन



"जीवनमा हरेश खानु हुँदैन," सुनाँउदै थिए उनी ।मित्र भनुँ भने एक छाक भात कहिले सँगै खाईएन । त्यसैले परिचित मात्र भन्नु ठिक होला। उनको गफको पारो निक्कै चढदै थियो। परिवार सहीत युरोप यात्रामा गएको र त्यहाँ "नेटवर्किँग" गरेको कुराको बखान गर्दै थियो। परिचितको कुरामा सफलताको छनक पाईन्थ्यो। आत्मविश्वास मजाले छचल्किन्थ्यो। तर पनि कुरा भने विश्वसनिय लागेन। सानोतिनो कुरालाई नै यीनले बढाई-चढाई गरेका हुन भन्ने मलाई लाग्न थालेको थियो। कारण थियो, उनले दिएको सल्लाह। मैले कहिले भनिन उनलाई मैले हरेश खाईसकेँ भनेर। मैले कहिले कहिन उनलाई, म सँग कुनै समस्या छ भनेर। तर पनि उनि अप्रत्यासीत रुपले सल्लाह र सुझाव दिने मुडमा देखिन्थे। हुनसक्छ कसैले सुनाए होलान, फलानोलाई अहिले समस्या परेको छ भनेर। कसैले आफुले गरेको सानो सहयोगको बखान गरे होलान। शायद यसैले होला उनले मलाई यो सल्लाह दिएको। 

भित्रभित्रै मुर्मुरिरहेको थिएँ म। कस्तो पाखे मान्छे भनेर। म जवाफ दिन चाहन्थे मुखभरि। 
"तपाँइसँग कसले सल्लाह माग्यो हँ?" सोध्न चाहन्थे म। 
तर, सामाजिक सँस्कारले दिएन। दिमागको तापक्रम घटाउन, आशाही बियरको क्यान तानेँ र सिनित्त पारेँ एकै श्वासम आधा क्यान। आशाही भित्र पुगे पछि मुड फेरिन थाल्यो। परिचितको कुराले उठेको रिस मत्थर हुन थाल्यो। सोचेँ, अब यो "शुभचिन्तक" बन्दैछ भने यसबाट केही सल्लाह किन नलिने। "सर, भन्नुस त नेपालमा के गरे स्थिति ठीक होला?" सोधनीको थालनी मैले नेपालबाटै गरेँ। 
"खै, अब नेपालमा के हुन्छ भन्ने? नेपालीहरुको के बु्द्धी छ र? जीवनमा प्रगती गर्नु साटो बढो राजनीतिक कुरा मात्र गर्छन?" जवाफमा केही कटाक्ष थियो। 
शायद पढेका थिए होलान यिनले मेरा ब्लगहरु र सम्पादकलाई मैले लेखेका कुराहरु । मलाई होच्याउने हिसाबले "राजनीति"का कुराहरु निकाल्दै थिए भन्न बुझ्न गार्हो परेन। ब्लगरहरुलाई बढी लेख्छस भन्ने हिसाबले धेरैले कुरा गर्छन। यी महोदय त झन मलाई सदबु्द्धी दिन हिँडेका। यीनले किन ननिकालोस त यस्तो कुरा।
"हो, हो, ठीक भन्नु भो, हामी जन्मजात काँग्रेस-कम्युनिष्ट-मन्डले बनिसकेका छौँ।" सही थपेँ मैले आफ्नै पाराले। 
तर, परिचितलाई मेरो कुरा मन परेन जस्तो लाग्यो। किनभने, मैले जवाफ दिने बितिक्कै परिचितले आफ्नो बियर मुखमा जोडन पुगे।
"यो, सब वाहियात हो। यो राजनीतिको कुरा छोडौँ। राजनीतिले कसैलाई पनि सफल बनाएको छैन।" दार्शनिक भँगिमामा परिचितले बोल्न थाले। "जीवनमा महत्वपूर्ण कुरा हो "ढेबा", जापानीजमा भन्ने हो भने "अोकाने"। हामी "अोकाने" हासिल गर्नतिर लाग्नु पर्छ।" परिचित बोलीमा प्रखरता ल्याउने कोशीस गर्दैछन। 
"मान्छेले जे पनि भन्छन। मलाई नै हेर्नुस त, मान्छेले के सम्म भनेनन? "मानव तस्कर" रे" आक्रोशीत देखिन्थे परिचित ।
"तर, बुझ्नु भो, मलाई केही समस्या छैन यस्ता कुराले। म आफ्नो ब्यवसायमा सफल छु। नेपालमा मेरो पुलिस देखी प्रशासन सम्म सबैतिर सम्पर्क छ। यसो पेट्रोल-सेट्रोले चाहिएमा वा कुनै समस्या परेमा मलाई भन्नु होला" परिचित ले आफ्नो औकात देखाई छाड्यो। 

सँगैका दुई जवान परिचितहरु हाम्रा सँवादहरु चाख लिएर सुनिरहेका थिए। अहिलेसम्म केही बोलेका थिएनन। तर, परिचितको पछिल्लो डायलग पछि भने ती मध्ये एक नवपरिचितका जिन्हा सलबलाउन थालेका देखिन्थे। 
"दाईले, बढो ठीक कुरा भन्नु भो" सही थप्दै अगाडी बढे उनी। 
"बुद्धी नभएका मान्छेहरुले हो माथापच्ची गर्ने यस्ता कुरामा। मलाई नै हेर्नुस त, वर्षको दुई जना नेपाली "कुक"को रुपमा जापानमा भित्र्याउँछु। छ महिना-वर्ष दिन मेरो रेष्टुराँमा काम गर्छन, अनि अन्तै जान्छन।" खुलासा गर्न थाले नवपरिचितले आफ्नो धन्दाको बारेमा। 
"यसबाट मलाई पनि आठ-नौ लाख फाईदा हुन्छ र ती मान्छेलाई पनि जापान पस्ने फाईदा हुन्छ। " वीन-वीन सिचुएशनको हिमायती हुँ भन्ने नवपरिचितको आशय देखिन्थ्यो ।
"अनि, कानूनि रुपमा केही अप्ठेरो पर्दैन त? तपाँईले "कुक" वा "विध्यार्थि" भनेर झिकाएको मान्छे, के अरु कुनै धन्दा गरेर बस्न मिल्छ त?" आश्चर्यमिश्रित प्रश्न थियो मेरो।
"अरे, यार क्या बात करते हैँ आप? यहाँ जापानमा त "वकिल"लाई पैसा दिनु पर्छ, जे पनि कानूनी हुन्छ।" जापान बसाईको चार वर्ष कटेपछि मैले ब्रम्हज्ञान पाएँ जस्तो लाग्यो।
जापानमा पनि केही "दिलिप कुमारहरु" रहेछन जस्तो लाग्यो। तर, यो जापानी समाजमा सानो बदनामी हुने बितिक्कै झुन्डीनु पर्ने नजीर छ, कसरी सँभव छ यस्तो कुरा? सोच्न थालेँ म। परिचितलाई नवपरिचितको कुरामा रमाईलो लागेको जस्तो देखीन्थ्यो।
"यार, मलाई सिन्जुकुमा एउटा रेष्टुरेन्ट चाहिएको छ, मिलाउनु पर्यो" अनुरोध नवपरिचितलाई थियो, व्यँग्य मलाई थियो। 
"अो दाई! नो प्रोब्लम। तपाँईलाई म यस्तो लोकेशनमा दिन्छु कि जहाँ अफीसै-अफीस छन र वरिपर अरु कुनै रेष्टुरेन्ट छैन। तर, दाम भने अलिक महँगो छ।" 
मेरा लागी परिचित र नवपरिचित रहेकाहरु एक आपसका लागी भने पूर्व परिचित रहेछन। 

दिक्क लाग्न थाल्यो "धन्दाको" कुराले। आफु पर्यो "धन्दा" नगर्ने र मान्छे नझिकाउने। अनि पैसा पनि कमाउन नसक्ने। परिचित र नवपरिचित परे "धन्दा" पनि गर्न सक्ने, मान्छे पनि झिकाउन सक्ने र पैसा पनि कमाउन सक्ने । जीवनमा पहिलो चोटी "ईन्जीनियर" भएकोमा र "ईन्जिनियरहरुलाई पढाउने शिक्षक" भएकोमा मलाई ग्लानी हुन थाल्यो। यस्तै, नेपाली भएर पनि पैसा कमाउन नसकेकोमा र यसो दुई चार जना नेपालबाट जापानमा पसाउन नसकेको सँझदा त आत्मग्लानीको मात्रा झन बढन थालेछ। परिचित र नवपरिचितका सँवादमा नेपाली समाजका मान्यताहरुको छनक पाईन्थ्यो। यो समाजमा तिनै मान्छेलाई मान्छन जसले केही दिन सक्छ। जसले भ्रष्टाचारको अभियोग बाट बचाउन सक्छ, त्यसैलाई न्यायमू्र्ती मान्छन। जसले विना योग्यता जागीर लगाईदिन सक्छन, त्यसैलाई शुभचिन्तक, समाजसेवक र नेता मान्ने यहाँको चलन छ। नेपाली समाजका वास्तविक अाईडल यिनै परिचित र नवपरिचित हुन। किनभने यिनिहरुले समाज बुझेका छन, मान्यता बुझेका छन र सोही अनुरुप चलेका छन। भन्नेले त जे पनि भन्छन। मन नपराउनेका लागी श्वासै गन्हाउँछ भन्छन नी। यस्तै हो। हामीले लाग्नु पर्ने हो मन पराउनेहरुका लागी। गर्नु पर्ने हो मन पराउनलेहरुका लागी। जसरी परिचित र नवपरिचित "विन-विन" थ्योरीको प्रयोग गर्दैछन, म किन गर्न सक्दिन? प्रश्न उठन थाल्यो मेरो मनमा। 

"राम्रो कुराकानी भयो, फेरी भेटौँला।" परिचितको विदावारी हुने सँकेतले मेरो तन्द्रा भँग भयो। 
"दाई के छ र यसो हतार, कुरै गर्न पुगेको छैन" नवपरिचितले लगतै जवाफ तेर्स्यायो।
" यार, हिँउले सेताम्मे स्विजरल्यान्डबाट मेरी बुढी फ्लुको नासो बोकेर आएकी छे। रिसाउँछे ढिलो भएमा। त्यसैले म लाग्छु। बरु पछि भेटदै यस्तै रमाईलो गफ गरौँला नी।" मित्र आफ्नो झोला तिर लम्कँदै विदा हुने तरखरमा लागिसकेका थिए। 
"जे होस, दाईसँग अप्रत्यासीत हिसाबले भेट भयो, धन्दाको कुरा गर्न पाईयो, बढो रमाईलो भयो। फेरी पनि भेटौँ है?" नवपरिचितको प्रफूल्ल विदाई सन्देश। 
केही बोल्न चाहेको थिएँ, तर जिब्रो लरबराउन थालेको जस्तो लाग्यो मलाई। वियरले भन्दा बढी मलाई आज "भेटले" लागिसकेको थियो।

No comments: