Saturday, May 3, 2008

एनआरएन चुनाव: के अब भाँडभैलो मच्चिने हो त?

सुरेश परिवर्तन


हिजो निर्वाचन दर्ता समितिका कार्यलयमा गईयो। उपस्थित मित्रहरु जिज्ञानजी एवम बेलुजीसँग भेटने उद्देश्यका साथ शिन्जुकुमा स्थित कार्यालयमा पुगेको थिएँ। तर, अन्य मित्रहरुका साथै, उपाध्यक्ष पदका प्रत्यासी कपिल देव थापाजीसँग पनि भेट भयो। साथिहरुसँगको सँवादले चुनावी स्थितीलाई बुझ्न केही हदसम्म सकियो। उम्मेदवारिताका विषयमा जापान भरिबाट विभिन्न क्षेत्र र तप्काका नेपालीहरुले उत्साह देखाएका रहेछन। समाजसेवी सँगठनमा यति धेरै सँख्यामा उम्मेदवारीता परेकोमा बेलु थापाजी र जिज्ञान कुमार थापाजी निक्कै खूशी देखिनु हुन्थ्यो। थापा द्वयका विचारमा पहिलो कार्यसमितिले एनआरएन जापानको गतिविधि केही हद सम्म फराकिलो बनाईयो भन्ने देखिन्थ्यो। टीमले पाएको सफलता हो भन्ने उहाँहरुको विचार रहेछ। तर, मेरो विचारमा राष्ट्रिय सँयोजक र सह-राष्ट्रिय सँयोजकका रुपमा उहाँहरुले देखाउनु भएको सकृयताले गर्दा नै टीमले यो सफलता पाएको हो। निस्सन्देह, एनआरएनलाई जापान भरि लोकप्रिय बनाउन राष्ट्रिय सँयोजक र सह-राष्ट्रिय सँयोजकले जति मेहनत कसैले गरेनन। एनआरएनका राष्ट्रिय सँयोजकले नागोया, निगाता, ओशाका लगायत विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुमाझ एनआरएन सँगठनको निर्माणको लागी देखाएको सकृयता कसैबाट लुकेको छैन। बाग्लुँग क्षेत्रमा एम्बुलेन्सका लागी कपिल देव थापा र बेलु थापाका साथ-साथै जिज्ञान कुमार थापाले पनि निक्कै दौडधूप गरेका थिए। बाहिरबाटै अर्का बाग्लुँग निवासी तथा हाम्रा लोकतान्तृक अग्रज श्री महेश श्रेष्ठले पनि सो कार्यका लागी दौडधूप गरे रे भन्ने सुनेको थिएँ। आफ्नो गहन योगदानका बावजुद पनि त्यसको जस लिन नचाहने यी मित्रहरुका व्यवहारले म निक्कै प्रभावित भएँ। वरको सिँको पर नभाँच्ने तर ठूल्ठूला डिँग हाँक्नेहरुले भरिएको हाम्रो समाजमा यति गुणिलो मान्छे पनि हुँदा रहेछन। 

साथिहरुसँगको छलफल पश्चात मेरा मनमा अहिले केही प्रश्न उठेका छन। पहिलो कार्यसमिति चुनावको बखतका अव्यवस्थापन, डा. उपेन्द्र स्वयमले हस्तक्षेप गर्नु परेको अवस्था (यो त यति सम्म गर्नु पर्यो कि अध्यक्ष पदका प्रस्तावित उम्मेदवारलाई उहाँले सबैका अगाडी सार्वजनिक रुपमै हप्काउनु भयो। कारण थियो, विध्यार्थी विरोधी उक्त महापुरुषका उदगार) विगतका अनुभव हुन। वर्तमानमा उम्लिएको उत्साहलाई हेर्ने हो भने, विगतकै पाराले यदि दोस्रो राष्ट्रिय अधिवेशन सन्चालन भएको अवस्थामा भाँडभैलो मच्चिने कुरा स्पष्ट छ। साथै, उम्मेदवारिता दर्ता गर्ने काम पनि कुनै गतिलो ढँगले सँचालन भएको देखिन्न। उम्मेदवार हुन चाहने व्यक्तिले कति जना समर्थक र प्रस्तावक ल्याउनु पर्ने हो, त्यो त एनआरएनले आफ्नो वक्तव्य मार्फत नै स्पष्ट पार्नु पर्ने हो नी। "उम्मेदवार हुनेले, दुई जना मान्छे पनि ल्याउन नसक्ने" भन्दै कसैलाई अपमानित गर्ने कुरा कुनै हालतमा पनि शोभनिय कुरा होईन। तर, मन्डले राजदूत डा. रमेशानन्द बैध्यको अघोषीत सल्लाहकार हुँ भन्दै हिँडने पीँध नभएका लोटाहरुलाई कस्ले सम्झाउने यस्तो कुरा? शायद, जनसम्पर्क पनि राम्रोसँग गर्न नसक्ने व्यक्तिहरुलाई चुनावी व्यवस्थापनको जिम्मा दिएकै कारणले होला-बेलुजी एवम जिज्ञानजी सो काममा पनि अहोरात्र खटनु भएको। उहाँहरुको यो खटाईलाई हेर्ने हो भने, मलाई त शँकै लाग्छ कतै उहाँहरुको चुनावी अभियान यसैमा मात्र सिमित हुने त होईन? 

व्यवस्थापन पक्षमा देखिएका कमजोरी त साथिहरुले आफ्नो सकृयताले सुधार गर्लान। तर, अनौपचारीक र अप्रत्यक्ष रुपमा गरिने र घटाइने कुराहरुलाई कसले सुधार्ने? पहिलो अधिवेशनका बेलामा "ओशाकाबाट छ जना गुन्डाहरु हामीले बोलाएका छौँ, तिमीहरु लोकतान्तृकहरुलाई ठीक गर्छौँ" भन्ने जस्ता धम्कीका स्वरहरु हामीले सुन्न परेको थियो। अहिले, गुन्डा परिचालनका कुरा त सुन्न मा आएको छैन, तर फलानोको भिसा छ-फलानोको छैन, फलानोले हामीलाई कसरी समर्थन नगर्लान र? भन्ने जस्ता कुराहरु भने गाँइगुँई चल्न थालेको छ। यदि यो सत्य हो भने, कुनै पक्ष यस चुनावमा पनि धाक-धम्कीका प्रयोग गर्दै समर्थन जुटाउन हिँडेको देखिन्छ। सामाजिक सँस्थामा नेतृत्व हत्याउन कुनै नेपालीको पेटमा लात हान्ने यस्ता कुराहरु जहिले पनि चुनावकै बखतमा किन चर्चामा आउँछ?कुनै नेपालीले यस चुनावमा भोट र समर्थन नदिएकै कारण, बाहिरिनु पर्ने अवस्था आउँछ भने, त्यस्तो चुनाव र त्यस्तो सँगठनलाई हामीले कसरी सामाजिक सँगठन र नेपालको विकासको लागी कटिबद्ध सँगठन मान्ने?

एनआरएन अन्तर्राष्ट्रिय कमिटिका डा. उपेन्द्र महतो, महासचिव भीम उदास लगायत, उपाध्यक्ष देवमान हिराचन एनआरएन-जापानको घटनाक्रमसँग परिचित नै हुनु हुन्छ। पहिलो अधिवेशनमा उपस्थित डा. महतो लगायत जापान निवासी देवमान हिराचनले त्यसवेलापनि मन्डले उदगारहरु सुन्नु भएको थियो। अब, दोस्रो अधिवेशनमा पनि पहिलो अधिवेशनकै मनोवृतिको पुनरावृति हुने हो र नेपालीहरुले मत र समर्थन नदिएको आधारमा उत्पिडित हुने हो भने, त्यसको दूरगामी प्रभावका लागी पनि उहाँहरु तयार रहनु पर्छ। भनिरहनु नपर्ला, यदि कुनै नेपालीले यस अधिवेशनमा हुन सक्ने भाँडभैलोको शिकार हुँदै पीडा भोग्नु पर्ने हो भने, यसले एनआरएनमा कालो धब्बा त लगाउने छँदैछ, साथ-साथै उहाँहरुको काठमाडौँमा हुने अधिवेशन पनि प्रभावित हुन सक्छ। तसर्थ, समय रहँदै सबैलाई सँयमताका साथ लोकतान्तृक पद्धती मार्फत नयाँ सामाजिक, विकासवादी नेतृत्व चुन्नका लागी उहाँहरुले अनुरोध गर्नु पर्छ। 

No comments: