Friday, May 30, 2008

बिधिवतरुपमा मुलुकमा भित्रिएको गणतन्त्रको हार्दिक स्वागत - शान्ति तथा लोकतान्त्रिक मञ्च जापान

२९ मई, ०८ । शान्ति तथा लोकतान्त्रिक नेपाली मंच जापानले एक बिज्ञप्ति जारी गर्दै बिधिवतरुपमा मुलुकमा भित्रिएको गणतन्त्रको हार्दिक स्वागत गरेको छ ।
संस्थाका महासचिव बिश्वराज कंडेलद्वारा जारी प्रेस बिज्ञप्तिमा भनिएको छ- सर्बप्रथम, स्वदेश तथा बिदेशमा बस्नुहुने संपूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु र नेपाललाई हृदय देखिनै माया गर्ने बिदेशी मित्रहरुमा शान्ति तथा लोकतान्त्रिक नेपाली मंच जापान (PDNFJ) को तर्फबाट हार्दिक अभिवादन ब्यक्त गर्दछौं ।
नेपाली जनताले दशकौं देखि परिकल्पना गरेको निरंकुश राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाका लागि नेपाली जनताको त्याग, बलिदान तथा शहिदहरुको सपना साकार पार्दै आज हाम्रो देश नेपाल नयां गणतान्त्रिक युगमा प्रवेश गरेको छ । यस अवसरमा हामी सम्पूर्ण नेपालीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै यस महत्वपूर्ण घडीमा सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुप्रति भावपूर्ण श्रद्दान्जली प्रकट गर्न चाहन्छौं । निरंकुश राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाको लागि जापानमा भएका आन्दोलन तथा बिरोध प्रदर्शनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहभागी हुनुभएका सम्पूर्ण नेपाली तथा जापानी मित्रहरुलाई पनि यस संस्था हार्दिक बधाई तथा धन्यवाद ब्यक्त गर्न चाहन्छौं ।
गणतन्त्रको स्थापनाको साथसाथै यसलाई संस्थागत गर्नु सबैभन्दा महत्वपूर्ण भएकोले सम्पूर्ण राजनैतिक दल तथा नागरिक समाजले एकबद्ध भएर अगाडि बढ्नु आजको आवश्यकता हो । गणतन्त्र नेपालले अबका दिनमा विगतमा ज़स्तो हत्या, हिंसा र अपहरणको राजनीतीको सामना गर्न नपरोस र सम्पूर्ण नेपालीहरुले गणतन्त्रको प्रत्याभूति गर्न पाउन र यस गणतन्त्रको रक्षा गर्दै देश बिकासको मार्गमा अघि बढी शान्तिपूर्ण नयाँ नेपालको निर्माण गर्नमा सम्पूर्ण राजनैतिक दल, नागरिक समाज र नेपाली जनताहरु एकजुट भई अघि बढन प्रेरणा मिलोस भन्ने कामनाका साथ शान्ति तथा लोकतान्त्रिक नेपाली मंच जापान गणतन्त्र स्थापनाको हार्दिक स्वागत गर्दछ- बिज्ञप्तिमा भनिएको छ ।

No comments: