Saturday, May 24, 2008

नयाँ सरकार गठनबारे

- गाउँले यात्री
कुनैपनि समस्या परेमा अथवा कसैसँग परामर्श गर्नुपरेमा विराटनगर कुदिहाल्ने वयोबृद्ध पार्टीका सभापति सेरेमोनियलप्रसाद कोइराला समानुपातिक तर्फका उम्मेदवारहरुको नाम सार्वजनिक भैसक्दा पनि कतै झुल्किनुभएको छैन । नयाँ सरकारको विषयमा माओवादीले ठूलो पार्टी भएको र जनादेश पनि माओवादी नेतृत्वको सरकार भएको बताइरहदा अर्कोतिर कोइराला जनादेश आफु र आफ्नो पार्टीलाई नभएपनि धनादेश र मनादेशले सास छउञ्जेल नेतृत्वको कुर्सी नछोड्न आश भएको बताउँदै अज्ञातस्थलबाट यस्तो भाषण दिएका छन्-
'उपरोक्त सम्बन्धमा म के भन्चु भने 'लठ्ठी पनि नभाँचिने साप पनि नमर्ने' हामीले यस्तो नीति अपनायौं भने सप्पैको भलो हुनेच ।' उनले अगाडी भनेकाछन्-' मैले भन्द्या छु अब म पनि संविधानसभा सदस्य भैसके, मलाई यसैमा ठूलो गर्व छ । प्रत्यक्षतर्फ चुनाउ लड्या भए खैं चुजाता, चिटौला र चेखरजस्तै लड्या लड्यै भैसक्थे होला । तर, एउटा कुरा माओवादीलाई धन्यवाद दिनैपर्छ कि जस्तो लाग्या छ, यस मानेमा कि समानुपातिक चिस्टम ल्याएर मेरो भलो गरिदिए । यदि यो चिस्टम नल्याएको भए मेरो सभासद् हुने सपना म नमर्दै सती गइसकेको हुने थियो होला । प्रचण्ड जी ! यसमानेमा तपाईलाई थोरै भएपनि धन्यवाद च है ।
'संविधानसभाको चुनाउ सोचेभन्दा धेरै चान्तिपूर्ण भयो । मैले त सोचेको थिए, दाङको लमहीमा जस्तो धेरै ठाउँमा हुनेछ । जेहोस् हाम्रा खुमबहादुरजी खुन्खारै हो । उनले जहिले पनि तहल्का मच्चाएरै छाड्छन् । चुनाउमा हारेपनि उनले जीतेकै मान्नुपर्छ । बरु यसपालि मेरो चोरी चुजाता किन पछि परी ? उसले भन्दै थिई- 'चुनाउसम्म दुइदर्जन बढी वाइचिएलको खुन नपिए त जित्नै सकिन्न ।' तर उसलाई के भयो खैं एउटा झिङ्गो पनि मरेन । कतै पुलिस पनि 'क्रान्तिकारी' भए कि ?
खैर जेसुकै होस् बितेका कुरा कोट्याएर कति मन दुखाउनु । बरु, नयाँ नेपालमा नयाँ कुरा गरौं । संविधानसभामा मेरो पार्टी दोस्रो भएर के भो त ? म पहिलो भएरै छोडे । कहा, कसरी, कता, के आधारमा नाप्नुहुन्छ म सधैं पहिलो भएको चु, सधैं पहिलो नै हुन्चु । उस्तै परे ६ सय १ जना सभासद्मध्ये सबभन्दा पहिले मर्ने सभासद् पनि मै हुनसक्छु । सकभर त्यस्तो नहोस् भन्ने हो । त्यसैले नयाँ सरकारको नेतृत्व पनि मैले नै गर्नुपर्छ । नेतृत्वमा म र मेरै पार्टी किन ? भन्ने कुरा म अहिले भन्दैन । (डामाडोल डट कम)

No comments: