Sunday, May 25, 2008

लागे रहो मुन्नाभाई र बिद्वान् मित्रहरु (भाग १)

- रामकुमार बस्नेत
पहिलो पटक यसै ब्लग मार्फ़त पढेको थिएं "लागे रहो मुन्नाभाई" को गुनगान। हुनत यस ब्लग या ब्ल्गर हरु मार्फ़त मैले धेरै कुराहरु पहिलो पटक जान्ने र सिक्ने मौका पाएको छु। बिद्वान मित्रको ब्लग पढेपछि के रहेछ यसमा भन्ने कौतुहल जाग्नु स्वाभाविकै थियो। हुनत संजय दत्तको प्राय सबैखाले भुमिका मन पर्ने हुनाले त्यसैपनि यो फ़िल्म हेरिन्थ्यो होला। तर ब्लगमै गुनगान पढे पछि भने जसरि पनि हेरि छाड्ने मौन अठोट गरें। तर हरेक दोश्रो, तेश्रो महिनामा इण्डिया गईरहेने भएपनि "लागे रहो मुन्नाभाई" हेर्ने मौका भने करिब एक बर्ष पछि नयाबर्षको छुट्टिमा नेपाल गएको बेलामात्रै मिल्यो। त्यसबेला सम्ममा "लागे रहो मुन्नाभाई" सुपर डुपर हिट भैसकेको थियो।
तर पहिलोपटक हेर्दा त्यसको कमेडि बाहेकको अरु केहि "शन्देस" बुझ्नै सकिन। नत "लागे रहो मुन्नाभाई" लाई दर्शहरुले यसरी मनपराउनुको कारणनै ठम्याउन सकें। फ़ेरी लाग्यो कुनै शिक्षाप्रद शन्देस नहुंदो हो त बिद्वान मित्रले पक्कै ब्लग लेखेर समयको बर्वादि गर्दैनथे होलान। आफ़्नै सानो मगजको कमजोरीले होला भन्ने निस्कर्ष निकालें। तसर्थ फ़ुर्सदमा हेर्नुपर्ला भनेर नेपालबाट फ़र्कंदा संगै लिएर आएं "लागे रहो मुन्नाभाई"को डि भि डी पनि।
दोश्रो पटकको हेराइमा लाग्यो सायद फ़िल्मका नायक संजय दत्तले गर्ने गान्धिगिरीको कारणले फ़िल्म चलेको हुनुपर्ला र बिद्वान ब्लगर मित्रले जगाउन खोजेको मुल शिक्षाप्रद आशय पनि त्यहि "गान्धिगिरी" हो की भन्ने भान पलभरका लागि लाग्यो। तर बिश्वास गर्नै सकिन। कसरि पत्यानु त्यो पनि "सौ मेसे अस्सि बेइमान" हुने आजको ईण्डियामा "गान्धिगिरी" को आदर्शले मानिसहरुलाई हलसम्म पुग्न बाध्य बनाउंछ भनेर। फ़ेरी बिना कारण कुनै बेला पनि उग्र रुप लिन सक्ने जातिय दंगाले गर्दा वाक्क भएका यहां(ईन्डिया)का मानिसहरु गान्धिजीलाई आदर त गर्छन तर कमैले मात्र उहांको आदर्शलाई मुक्तकण्ठले प्रशंसा गर्छन। कारण एउटै छ, भारत‌-पाकिस्तानको बिभाजन हुदा हिन्दुस्तानमै रहन् चाहने मुश्लिम धर्मालम्बिहरुले आदरका साथ भारतमै बस्न पाउन पर्छ भन्ने "गान्धिगिरी"। अझैपनि कैयौं भारतियहरु(मुश्लिम धर्मालम्बिहरु समेत)को बिश्वास छ यदि बिभाजन ताका सबै मुश्लिम धर्मालम्बिहरुलाई पाकिस्तान जान दिइएको( या पाठाइएको) भए सदा सदाको लागि जातिय दंगा-फ़सादबाट मुक्ती पाउने थियो हिन्दुस्तानले।
यस्तैमा कामको सिलसिलामा फ़ेरी इण्डियातिर गएको बेला एकदिन अनायासै स्थानिय समाचार पत्रमा "लागे रहो मुन्नाभाई" को सफ़लता र निर्देशकले फ़िल्ममार्फ़त दिनखोजेको सन्देशको बारेमा बिबेचना गरिएको लामो लेख पढ्ने मौका मिल्यो। लेख यति घतलाग्दो र चित्तबुझ्दो ( ब्यक्तिगत रुपमा मलाईचाहिं है) थियोकी बिश्वास गर्न करै लाग्थ्यो। अझ मेरो लागी त महिनौं देखि सुल्झाउन नसकेको गुत्थि सुल्झाइदिने चमत्कार भन्दा कम थिएन।
समग्रमा लेखको सार यस्तो थियो। रेडियोभित्रको काल्पनिक दुनियांलाई फ़िल्मका नायकले जानी-नजानीकनै "गान्धिगिरी" मार्फ़त जसरी बास्तविक दुनियांसम्म जोड्न पुगे, त्यो नै मानिसहरुमा यस फ़िल्म प्रति रुचि उत्पन्न गराउने मुल मन्त्र बन्यो। हुन पनि हो, संयोगबश एउटा एफ़ एम को काल्पनिक संसारमा "गान्धिगिरी" का बारेमा कार्यक्रम चलाउन पुगेका नायकले आफ़्ना साथीहरुसंग मिलेर यस्तो घनचक्कर चलाउछ्न की यसबाट बास्तविक संसारका मानिसहरु सिधै लाभान्वित हुन पुग्छन। कहिले आत्महत्या गर्न लागेका ब्यक्तिलाई कार्यक्रमबाटै सम्झाएर तेसो गर्नबाट रोक्छन त कहिले पुलिस र गुन्डाहरुको पर्वाह नगरी आफ़ैं उपस्थित भएर सामाजिक कुरितिलाई उजागर गर्छन्। हो लेखको अत्यन्तै चित्तबुझ्दो बिश्लेषण पनि यहि नै थियो।
यदि अलिकति बास्तबिक दुनियांको सम्पर्कमा पनि रहेर कर्म गर्ने हो भने काल्पनिक दुनियांमा रम्नेहरुले पनि बास्तविक समाजका लागि ठुलो योगदान गर्न सक्छन। हिजो-आज म अनुभव गर्दै छु एकथरी शिक्षित बर्ग आफ़ुहरु साधारण भन्दा केहि अलग, केहि बढि जान्ने, सुन्ने र अरुभन्दा पृथक रहेको देखाउन् आफ़्नो काल्पनिक दुनियां बसाउन थालेका छन् । हो उनीहरु बिद्वान छन अरुहरुभन्दा पनि पक्कै जानेका छन तर त्यसलाई आफ़ुमा नै सिमित गर्दा भन्दा त्यो विद्दत्त अरुमा बाडनु नै राम्रो होईन र ।
आलोचना मात्रै सबै समस्याको हल होईन, लगे रहो मुन्नाभाईले दिएको एऊटा सही सोच के हो भने हामीले पढेको वा जानेको कुरालाई वास्तविक जीवनमा लगाउनु पर्यो । यसोभन्दा भन्दै पनि म शिक्षित वर्गहरुलाई दोष दिनु भन्दा पनि, लगे रहो मुन्नाभाईले गरेको ज़स्तै सबैले आ‍आफ़्नो स्तरबाट सहयोग र शिक्षा दिएको खण्डमा शायद अर्को एउटा नया सोचको जन्म हुन पनि सक्दथ्यो की भन्ने मात्रै हो ।
यसै क्रममा प्रकाशित लेखहरुमा केहि नेपाली दाजुभाई दिदीबहिनीहरुले निर्ममता पुर्वक जापानीले रोपेको फ़ूलमा टेकीदिए या हललाई राम्रो गर्न सकिएन भनेर त भनियो तर त्यो समस्या त हामी नेपालीहरु सबैलाई थाहा नै छ । हाम्रो समस्या तथा गल्तीहरुलाई उजागर मात्रै गर्नु भन्दा पनि त्यसको लागि कम से कम त्यहा उपस्थित विद्वानहरुले त्यसो नगर्न सम्झाई दिन मात्र समय खर्चेको भए नत बिना कसूर मोहक फ़ूलले समयागाबै आफ़ुलाई ओइल्याउनु पर्थ्यो नत केही ब्यक्तिको कारण सारा नेपालीको ईज्जत जान्थ्यो । तसर्थ "लागे रहो मुन्नाभाई" शैलीमा समाजको सोचलाई बदल्ने तरीका पनि मलाई त राम्रो नै लाग्यो । "सोच" त्यो पनि सहि सोच मार्फ़त हामीहरुले एक अर्कालाई बदल्न पनि सकिन्छ की त । प्रयोग गरेर हेर्दा के नै हुन्छ र ।

No comments: