Wednesday, May 7, 2008

ईजमको काम : भएन हजम

सुरेश परिवर्तन


एनआरएन क्षेत्रिय प्यासिफिकका गणेश ईजमले गरेको हतारो वास्तवमा पचाउन गार्हो छ। उनकै आँखा अगाडी गुन्डा परिचालन गरिएको छ, उनकै उपस्थितिमा टाउको फोडने धम्की दिईएको छ, उनकै सामुन्ने एक-जनाले दस चोटी भोट हालेका छन र उनकै आतिथ्य रहेको बेलामा एनआरएनमा भाँडभैलो मच्चाईएको छ। समाचार पत्रहरु अहिले एनआरएन-जापानमा के भयो भन्दै बताईरहेका छन र पराजीत उम्मेदवारहरु षडयन्त्रको नमूना देखेर चकित छन। तर, ईजमजीलाई भने हतारो रहेछ। किन हतारे त ईजम? प्यासीफिक क्षेत्रकै हस्तीले यति हतारोमा शपथ ग्रहण गराउनुलाई के को सँकेत भन्ने?

कुरा स्पष्ट छ-एनआरएन जापानको चुनाव भित्र अन्तर्राष्ट्रिय समितिको राजनीति घुसेको छ र हतारो छ आफ्ना चम्चा, चाटुकार, दलालहरुलाई जसरी हुन्छ एनआरएन-जापानमा स्थापित गर्ने र अन्तर्राष्ट्रिय समितिको चुनावमा पनि यस्तै भाँडभैलो मच्चाउने। डा. उपेन्द्र महतो, भीम उदास, अर्जुन थापा लगायत अन्तर्राष्ट्रिय समितिका अग्रजहरुले अब बोल्नु पर्छ। किनभने, आज एनआरएन-जापानमा दिईएको धम्की भोली अन्तर्राष्ट्रिय समितिमा पनि आउन सक्छ र भोलीको अधिवेशनमा उहाँहरुको पनि टाउको फोडिन सक्छ। "नेपालीका लागी नेपाली" यो भन्दा सार्थक नारा अरु केही छैन। तर, एनआरएन-जापानमा भएका र देखिएका घटनाले भने "नेपालीका टाउकोका लागी नेपाली" अब एनआरएनको नारा बन्ने तय छ। 

गणेश ईजमजी शायद सोच्नु हुँदो हो, एकाध ब्लगरले लेखेका कुरामा केही दम छैन। उहाँ गम खानु हुँदो हो, को त्यो परिवर्तने र त्यसको कुरा सुन्ने? मन्डलेहरुका प्रचारले उहाँलाई हाम्रो भनाईको वास्ता नगरौँ भन्ने लागेको हुन सक्छ। म मान्छु, त्यो कुरा। तर, ईजमजीले अब बुझ्नु पर्छ, कसैले नपढने यस पँक्तिकारका भनाईहरु अब रोकिन गार्हो हुन्छ। जहाँसम्म यस चुनावले स्विकृती पाउने कुरा छ, त्यो मेरो विचारमा असँभव छ। लोकतान्तृक पद्धतीको मात्र यहाँ बलात्कार गरिएको छैन, यहाँ भाईचाराको, नेपालीपनको र हाम्रो सँस्कारको पनि भद्दा मजाक उडाईएको छ। विभिन्न आरोप-प्रत्यारोपको बेलामा एनआरएनको छवि धूमिल भईरहेको बखतमा "टाउको फोडने" कुरा आउनु चानचुन कुरा होईन। यसले के स्पष्ट गर्छ भने एनआरएनलाई जसरी हुन्छ कब्जा गर्दै आफुलाई गैर-आवासीयहरुको ठेकेदार बनाउने केही मन्डलेहरु लागेका छन र केही सामन्ती सत्ताका दलालहरु लागेका छन। 

गणेश ईजमजी भन्नु हुँदो हो, भै-सकेका चुनावी परिणाम सबैले स्विकारी हाल्छन नी। हो, स्विकार्नु पर्छ यदि एनआरएन-जापानको मतदाता नामावलीमा प्रत्येकको नाम, काम र ठाम स्पष्ट उल्लेख छ भने। चुनावी आँकडालाई हेर्नुस, कति फरक छ मतमा। अध्यक्ष पद र राष्ट्रिय सँयोजकका पदमा जम्मा दुई-दुई जनाले प्रतिस्पर्धा गरेका छन। तर, सर्वाधिक प्राप्त मतलाई हेर्ने हो भने नाम,काम र ठामका ठेगान नभएकाहरुले आफ्ना परिचालकलाई आँखा चिम्लेर मत हालेका छन। अन्तर्राष्ट्रिय समितिमा ईजमले के प्रतिवेदन देलान, त्यो मलाई थाहा छैन। तर, मलाई हजम नभएको कुरा भने सहमतीको कुनै प्रयास बिना उनले चालेका एकतर्फि कदम हो। गणेश ईजमले बुझ्नु पर्छ, एकातिर फर्जी मतधारीहरु छन अर्कोतिर जापान भरिका नेपालीहरुका वैधानिक अभिभावक डा. गणेश योन्जन छन। नेपालीको मामिला हो, नेपालीले हेर्नु पर्छ। के केहि समय कुरेर वा पर्खेर, एनआरएनका सँरक्षक डा. गणेश योन्जन लगायत नेपाली नियोगका पदाधिकारीका रोहवरमा मतादाताहरुका नाम, काम र ठाम पत्ता लगाउन मिल्दैन भन्ने छ र? हो, ईजमजी, तपाईको हतारो भएन है हजम।

No comments: