Saturday, May 17, 2008

एमाले महासचिवमा खनाल

दुई सातादेखि जारी एमाले केन्द्रीय कमिटीको बैठकले झलनाथ खनाललाई महासचिव नियुक्त गरेको छ।झलनाथ खनाल नेकपा एमालेको महासचिव नियुक्त भएका छन्। एमाले केन्द्रीय कमिटीको बैठकले जेठ २ गते खनाललाई महासचिव नियुक्त गरेको हो। २००६ सालमा इलाममा जन्मेका खनाल २०३९ देखि २०४६ सम्म एमालेको पूर्व संगठन तत्कालिन नेकपा मालेको महासचिव थिए। २०६१ साल माघ १९ गते राजाको प्रत्यक्ष साशन सुरु भएपछि तत्कालिन महासचिव माधवकुमार नेपाल हिराशतमा रहेका कारण खनाल केही समय एमाले प्रमुख भएका थिए ।
संविधानसभा चुनावमा पार्टीको पराजयपछि महासचिवबाट राजिनामा दिएका माधवकुमार नेपालले बैशाख ३१ गते स्थायी समिति सदस्यहरुको छलफलमा खनाललाई महासचिव बनाउने प्रस्ताव राखेपछि खनालको महासचिव बन्ने सम्भावना देखिएको थियो । उक्त छलफलमा खनाललाई महासचिव बनाउने प्रस्तावको अर्का प्रभावशाली नेता केपी ओलीले समर्थन नगरेका कारण एमालेको प्रमुख नेता चयनमा जटिलता आउने संकेत देखिएको थियो ।
तर जेठ २ गतेको केन्द्रीय कमिटी बैठकमा ओलीले आफ्नो फरक मतलाई मत्थर बनाउदै प्रस्तावलाई मतदानमा नलान सहमति जनाएपछि खनाल सर्वसम्मतिमा महासचिव बनेका हुन् । खनाललाई महासचिव बनाउने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पनि निवर्तमान महासचिव नेपालले नै राखेका थिए ।
महासचिवमा निर्वाचित भएपछि खनालले आफ्नो काँधमा अरु जिम्मेवारी थपिएको बताए । सिद्धान्त र राजनीतिमा गहिरो दखल राख्ने खनालको कमजोरी निस्क्रियता मानिन्छ । स्रोत : हिमालखबर डट कम

No comments: