Thursday, May 15, 2008

संयुक्त लोकतान्त्रिक गणतान्त्रिक मोर्चा जापानद्वारा ध्यानाकर्षण

एनआरएन जापानको मे ४ का दिन सम्पन्न दोश्रो राष्ट्रिय अधिवेशनको निर्वाचनमा देखिएका कमजोरी तथा त्यसबारे सार्वजनिक रुपमा उठेका टिका टिप्पणी प्रति संयुक्त लोकतान्त्रिक गणतान्त्रिक मोर्चा जापानको ध्यानाकर्षण भएको जनाएको छ ।
मोर्चाका अध्यक्ष कृष्ण केसी द्वारा जारी वक्तब्यमा यसको उल्लेख गरिएको छ । केसीद्वारा जारी बक्तब्यमा भनिएको छ - एनआरएन जापानको दोश्रो सम्मेलन आयोजक समितिले निर्वाचन लगायत सम्मेलन सम्पन्न गर्नका लागि गर्नुपर्ने आधारभूत तयारीमा अत्यन्त ठूलो कमजोरी देखायो । उसले ४ तारिकको निर्वाचनका लागि त्यसैदिनको दिउसो १२ वजेसम्म मतदाता नामावालीको बारेमा छलफल गरि समय लम्ब्यायो । अन्तत एनआरएन आइसीसीको जिम्मेवार ब्यक्तिहरु सहितको रोहवरमा अधिवेशन स्थलमा उपस्थित सबै नेपालीलाई मतदान गर्न दिने सहमति गर्दै एनाअरएनको सदस्य हुन १८३ दिन पुग्न पर्ने बैधानिक व्यबस्थाको ठाडो उलंघन गरियो । संस्थाको साधारण सदस्य समेत नभएका ब्यक्तिलाई केवल पासपोर्ट वा एलाइन कार्ड वा ड्राईभिङ लाईसेन्स देखाएर भोट खसाल्ने जस्ता विधान विपरितका कार्य आइसीसी कै ब्यक्तिहरुको रोहवरमा भयो । बिधान भन्दा बाहिर गएर निर्वाचन सम्पन्न गर्न खोज्दा मतदानकेन्द्र अराजक भिडमा परिणत हुन पुग्यो । जसले गर्दा निर्वाचनको सिंगो प्रकृया नै गलत दिशाबाट अगाडि बढ्ने स्थिति देखा पर्यो ।
बक्तब्यमा अघि भनिएको छ - मतदानलाई व्यबस्थित गर्न निर्वाचनमा सहभागी सम्पूर्ण पक्षको सल्लाह बा रोहबरमा स्वयमसेवकको व्यबस्था गर्न नसक्नु, उम्मेदवारहरुको प्रतिनिधी (एजेन्ट) राख्ने व्यबस्था नगर्नु, मत खसालेको ब्यक्तिको पहिचानको ब्यवस्था नहुनु र भए पनि ढिको गरी औंलामा मसी लगाउने अस्थायी ब्यवस्था गरिनु, कतिपय ब्यक्तिबाट पटक-पटक मतदान गरिनु, कतिपय मतदातालाई मतदानका बारेमा जानाकारी नहुनु र मतदातालाई सिकाउने नाममा कसैका पक्षमा मतदान गर्न प्रेरित गर्नु र मतदान कार्य गोप्य हुन नसक्नु जस्ता स्वच्छ निर्वाचन बिरोधी क्रियाकलापहरु मतदान केन्द्रमा देखापरे जसलाई निर्वाचन आयोगले मुकदर्शक बनेर हेरिरह्यो । मतदानमा देखापरेका उल्लेखित घटनालाई रोक्नका लागि समन्धित पक्षलाई सचेत बनाउने काममा राजनैतिक दल र नागरिक समाजको भूमिका पटक्कै नहुनुले पनि त्यसप्रकारका कामहरुले प्रश्रय पाउन गए । यस्तो अवस्थामा निर्वाचन कसले जित्यो र कसले हार्यो भन्दा पनि सिंगो लोकतान्त्रिक पद्धति प्रकृया नियम कानून वा विधि विधान र निर्वाचनमा स्वच्छ प्रतिष्पर्धाको संस्कृति र संस्कार जस्ता एक्काइसौ शताव्दीका स्थापित लोकतान्त्रिक मूल्य मान्यताहरुले हारेको हामीले महशुस गरेका छौ । मुलुक लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न जुटिरहेको बेला जापान जस्तो संसारको उच्च बिकसित र लोकतान्त्रिक पद्धति र संस्कार भएको देशमा रहेका हामी नेपालीहरुले एउटा सानो संस्थाको निर्वाचनमा देखा परेका वा प्रयोगमा ल्याएको पद्धति र प्रक्रियालाई संसारको कुनै पनि लोकतन्त्रवादी ब्यक्तिले देख्यो भने उसले हाम्रो लोकतन्त्रपतिको प्रतिवद्दता माथि नै प्रश्न चिन्ह खडा गर्न सक्दछ । साथै यो निर्वाचनले हामी जापानवासी बिभिन्न संघ संस्थाका जिम्मेवार व्यक्तीहरुको कमजोरीलाई पनि संगै उजागर गरेको छ । त्यसैले यतिबेला कुनै पनि व्यक्ति समूह बा पार्टीलाइ दोष लगाउनुभन्दा हामी आ-आफ्ना कमजोरी प्रति निर्मम बन्दै आफुलाइ सार्वजनिक रुपमै सच्चाएर अगाडी बढनु पर्दछ भन्ने हामीलाइ लाग्दछ ।
अघि भनिएको छ - मूलत: एनआरएन जापानको दोश्रो अधिवेशन आयोजक समिति, एनआरएन आइसीसीका जिम्मेवार ब्यक्तिहरु , निर्वाचन समितिले व्यापक कमजोरीका बाबजुद सम्मेलन सफलतापूर्वक सम्पन्न भएको घोषणा गरे पनि यो निर्वाचनको विरुद्दमा चौतर्फी सार्वजनिक टिका टिप्पणी भईरहेको अबस्थामा एनाआरएन आइसीसीले एउटा स्पष्ट दृष्टिकोण सार्वजनिक गरोस भन्ने हामी माग गर्दछौ । साथै सो निर्वाचनमा आ-आफ्नो व्यस्तताका बाबजुद पनि हजारौको संख्यामा उपस्थित भएर मतदान गर्नुभएका सम्पुर्ण लोकतन्त्रबादी जापानवासी नेपालीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।

No comments: