Tuesday, March 11, 2008

सर्वोच्चद्वारा दुई माओवादी उम्मेदवारमाथि हत्या अभियोगमा कार्वाही गर्न अदेश

सर्वोच्च अदालतले नेकपा माओवादीका केन्द्रीय सदस्य एवं दुई उम्मेदवार ६ जनासहित ब्यक्ति हत्याको अभियोगमा कारबाही चलाउन जिल्ला प्रशासन कार्यालय काभ्रेलाई आदेश दिएको छ । माओवादी केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक क्षत्र नं.२ का उम्मेदवार अग्नी सापकोटा र माओवादीकै काभ्रे क्षत्र नं. २ का उम्मेदवार सूर्यमान दोनसहित आधा दर्जन माओवादी कार्यकर्तालाई सर्वोच्च अदालतले सोमवार हत्या अभियोगमा कारबाही चलाउन प्रशासनलाई आदेश दिएको हो । काभ्रेकी पूर्णमाया लामाले आफ्नो पतिको अपहरणपछि माओवादीका अग्नि सापकोटा, सूर्यमान दोन लगायतका ब्यक्तिले हत्या गरेको सर्वोच्चमा किटानी जाहेरी दिएकोमा सोमबार न्यायधिशद्वय रामप्रसाद शर्मा र दामोदरप्रसाद शर्माको इजलासले उक्त आदेश दिएको हो । ’जनयुद्द’ का क्रममा भएको उक्त हत्यासम्बन्धी जाहेरी काभ्रे जिल्ला प्रशासन कार्यालयले दर्ता गर्न नमानेपछि लामा सर्वोच्चको शरणमा पुगेकी थिइन।
माओवादी जनयुद्दका क्रममा भएका गतिबिधि र अपराधिक घटनासम्बन्धी मुद्दामा अदालतले यस प्रकारको फैसला गरेको सम्भवत: पहिलो घटना हो । सर्वोच्चको आदेशानुसार सिन्धुपाल्चोक र काभ्रेपलांचोकका उम्मेदवारसमेत रहेका माओवादी नेताहरुलाई पक्राउ गरी कारबाही अगाडि बढाउनुपर्ने लामा पछयको जिकिर छ ।
हत्यासम्बन्धी मुद्दामा सर्वोच्चले सोमबार गरेको फैसलाले संविधानसभा निर्वाचनमा उम्मेदवारी दिएका अग्नी सापकोटा र सुर्यमान दोनको उम्मेदवारी समेत संकटमा परेको छ । सर्वोच्चको आदेश जिल्ला प्रशासन कार्यालयले कति कार्यान्वयन गर्दछ र त्यसको प्रभाव निर्वाचन आयोगमा कस्तो पर्दछ हेर्न बांकी छ ।स्रोत:खोजतलास

No comments: