Monday, August 4, 2008

कोइराला दिल्लीमा, धक्का काठमाडौंमा

काठमाडौं । नेपालमा नयाँ सरकारको गठन गर्ने प्रक्रिया सुरु भइरहेका बेला प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारतीय नेताहरूसँगको भेटघाटमा व्यस्त रहेका छन् ।
र्सार्क सम्मेलनमा भाग लिन श्रीलंका पुगेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला हिजै श्रीलंकाबाट फर्किएर दिल्ली आई भारतीय राजनेतासँग भेटघाट गर्न पुगेका हुन् । प्रधानमन्त्री कोइरालाले दिल्लीमा कांग्रेस आईका अध्यक्ष सोनिया गान्धी, भाजपाका नेता लालकृष्ण आडवानी तथा मुलायमसिंह यादवलगायत अन्य दलका नेतालाई भेट्ने कार्यक्रम रहेको छ ।
यसअघि श्रीलंकामा नै कोइराला र भारतीय प्रधानमन्त्री मनमोहन सिंहबीच भेटवार्ता भएको थियो । पौने घन्टा लामो भेटवार्तामा सिंहले नेपालमा सहमतिको सरकार गठन होस् भन्ने चाहना व्यक्त गरेका थिए । शान्ति प्रक्रियालाई निष्कर्षा पुर्‍याउन र नयाँ संविधान निर्माणका निम्ति दलहरूबीच सहकार्यको आवश्यकता रहेको सिंहले औंल्याएका थिए । भेटवार्ताका क्रममा प्रधानमन्त्री कोइरालाले नेपालको शान्ति प्रक्रियामा भारतीय सहयोगप्रति धन्यवाद दिएका थिए ।
यसैबीच, प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र एमालेका पूर्वमहासचिव माधव नेपालबीच हिजो टेलिफोन वार्ता भएको छ । कोइरालाले टेलिफोनमा मिल्ने भए एक रात दिल्लीमा सँगै बस्ने प्रस्ताव राखेको भए पनि गलत सन्देश फैलिन सक्ने भन्दै नेपाल हिजै स्वदेश फर्किएका छन् । भारतीय कम्युनिस्ट नेताको अन्त्येष्टिमा सहभागी हुन दिल्ली पुगेका नेपालको उक्त भ्रमणले नेपाली राजनीतिमा महत्वपुर्णा अर्थ राख्ने बताइन्छ ।
दिल्ली भ्रमणपछि स्वदेश फर्किएर एमाले नेता नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी नेता रामबहादुर थापा 'बादल' लाई प्रधानमन्त्री बनाई सरकार गठन गर्नुपर्ने बताएका छन् । माओवादीले राष्ट्रपतिमा माधव नेपाल बाहेकका अन्य नेतालाई स्वीकार गर्न सकिने बताएपछि रुष्ट रहेका नेपालले पनि प्रचण्ड र बाबुराम बाहेकका नेतालाई प्रधानमन्त्री बनाई सहमति खोज्नुपर्ने धारणा राखेका हुन् । नेपालले दिल्ली भ्रमणका क्रममा आईके गुजराल, एलके आड्वानी, राजनाथ सिंह सीताराम यचुरी, प्रकाश करातलगायतका भारतीय नेतालाई भेटेका थिए ।

No comments: